सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र चिस्यान केन्द्र भरिएका छन्।
चितवन– भरतपुरको ठिमुरामा रहेको ‘चितवन मिल्क’का चिस्यान केन्द्र र गोदाम दुग्धजन्य पदार्थले भरिएका छन्। बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ। चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन्।
यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ। उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ। सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र चिस्यान केन्द्र भरिएका हुन्। उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार ४५० टनभन्दा बढी बटर चिस्यान केन्द्रमा छ। उद्योगको बाहिरको २५० टन क्षमताको चिस्यान केन्द्र र भित्रको ५० टनका दुईवटा चिस्यान केन्द्र भरिएर चारवटा प्यासेजमा बटर राखिएको छ। यसलाई माइनस २० डिग्री तापक्रममा राख्नुपर्छ।
त्यसैगरी पाउडर दूधले गोदाम भरिएको छ। “हामीसँग एक अर्ब रुपैयाँभन्दा बढीको दुग्धजन्य पदार्थ गोदाममा छ,” उनले भने, “डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्थामा पुग्यौँ।”
२०६४ सालमा स्थापना गरिएको यो उद्योग २०७२ सालको भूकम्पसँगै बन्द हुन पुगेको थियो। २०७५ सालदेखि यो उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ। प्रतिलिटर पाउडर दूधको ११३ र बटरको प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ।
यो मात्रै होइन, प्रशोधन गर्ने उद्योग र चिस्यान केन्द्र सबैमा दुग्धजन्य पदार्थ मौज्दात छ। राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव १० अर्बभन्दा बढीको दुग्धजन्य पदार्थ मौज्दात रहेको बताउँछन्। दशैँतिहारको समयमा मासुजन्य पदार्थ खपत बढी हुने हुँदा दुग्धजन्य पदार्थको खपत कम भएको उनले बताए। आर्थिक मन्दीका कारण क्रयशक्ति घट्दा विगतको जस्तो खपत हुन नसकेको कार्यकारी निर्देशक डा. यादवको भनाइ छ। “क्रमशः खपत बढ्दै जाने विश्वास छ। यससँगै भारत, बंगलादेश, जापानलगायत देशमा निर्यातको विषयमा छलफल भइरहेको छ,” उनले भने, “खपत बढाउनका लागि सबै लाग्नुपर्ने देखिएको छ।”
डेरी एसोसिएसन चितवनका अध्यक्ष राजकुमार दाहालले दूध किन्न सक्ने अवस्था हुन छाडेको बताए। प्रशोधन भएका दुग्धजन्य पदार्थ राख्ने ठाउँ नहुँदा समस्या भएको उनको भनाइ छ। बीचको समयमा लम्पिस्किन रोगका कारण दूधको खपत घटेको र भारतीय बजारबाट दूध आएका कारण पनि नेपाली उत्पादनले बजार नपाएको उनले बताए। उनले भने, “हाम्रो लागत मूल्य बढी हुँदा निर्यातमा पनि समस्या छ। सरकारले निर्यातमा अनुदान दिएर छिमेकी देशमा दुग्धजन्य पदार्थ पठाउनुपर्छ।”
दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने भन्दै उनले त्यसमध्ये ५० प्रतिशत बजारमा आउने गरेको बताए। बजार आएको दूधमध्ये पनि १७ प्रतिशत मात्रै सरकारी नीति–नियम पूरा गरेर प्रशोधन गर्न सक्ने गरी आएको अध्यक्ष दाहाल बताउँछन्। दैनिक तीन लाख लिटरभन्दा बढी दूध विभिन्न उद्योगमा प्रशोधन हुने गरेकाले सबै चिस्यान केन्द्र दुग्धजन्य पदार्थले भरिएको उनको भनाइ छ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल आफूहरू बंगलादेश गएर अध्ययन गरेर फर्किएको भए पनि सरकारी अनुदानबिना यहाँको उत्पादन पठाउन नसकिने बताए। स्वदेशमा यसको खपत बढाउन नसकेमा समस्या रही नै रहने भन्दै उनले दुग्धजन्य पदार्थको महत्वका बारेमा प्रचारात्मक अभियानमा जुट्नुपर्ने बताए। आफूहरूले पाहुनालाई स्वागत, सम्मान गर्दा र मायाको चिनो दिनुपर्दा दुग्धजन्य पदार्थ प्रयोग गर्न थालिएको छ। उनले भने, “अब हामीले चिसो पेय पदार्थ होइन, दूध, दही र मोहीको प्रयोग गर्नुपर्छ। भोजभतेरमा समेत मोही राख्ने चलन बढेको छ।”
इतिहासमै पहिलोपटक दुग्धजन्य सबै पदार्थ मौज्दात रहेको दाहालले जानकारी दिए। सरकारले यसबारेमा समयमै सोचेर किसान र उद्योग बचाउनुपर्ने धेरैको माग छ। डेरी उद्योगले दुग्धजन्य पदार्थ राख्ने ठाउँ अभाव भएको भन्दै लैजान आनाकानी गर्न थालेपछि किसान पनि चिन्तित बनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
