वर्षौँदेखिका पोसाक र उपहार तपाईं हामीमध्ये कैयौँका दराजमा ढुसी लागेर बसिरहेका होलान्, तर हामी ‘यस पटक फलानोलाई के उपहार दिने?’ भन्दै बजार चहारिरहेका छौँ।
‘आयो दशैँ ढोल बजाइ, गयो दशैँ ऋण बोकाइ।’ ‘धनीलाई दशैँ, गरिबलाई दशा।’ ‘दशैँ आयो, खाउँला–पिउँला, कहाँ पाउँला? चोरी ल्याउँला–धत् पापी, म त छुट्टै बसौँला।’
ठूला भनिने सबैजसो चाडबाडमा गरिब, विपन्न, महिला र उत्पीडित वर्गले भोग्ने मर्कालाई यी उखानले व्यक्त गर्छन्। लब प्रधानले बिसको दशकमा एक गीत लेखेका थिए– ‘लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ।’ लाखौँ/करोडौँका लागि पर्वहरू सकसपूर्ण हुन्छन्, मुठीभरका लागि त जहाँ र जहिल्यै पर्व र उत्सवहरू छन्।
नियमित जागिरेहरूले चाडबाडमा ‘बोनस’ र पेस्कीसमेत पाउँछन्, व्यापारी र उद्योगीहरू अपवाद छाडेर नाफामै हुन्छन्। शासकहरू घाटामा हुन सम्भव छैन। यस्तो अवस्थामा, खास वर्ग-समुदायका सदस्यलाई चाड मनाउनकै लागि ऋण काढ्नुपर्ने या अतिरिक्त कमाउनुपर्ने दबाब हुन्छ। चाडबाडको आर्थिक तनाव नबुझेका बालबच्चा औँला भाँचेर पर्वका दिन पर्खिरहँदा उपाय र स्रोत हुने अभिभावक जसरी भए पनि कमाउन लाग्छन्, नसक्नेहरू बिरक्तिँदै मुगलान पस्छन्, पर्व छल्छन्। माथि उखानमा उल्लेख भएझैँ कतिपय 'पापी'हरू चोरी र लुटपाटमा समेत संलग्न हुन्छन्। पर्वले आफूसँगै उल्लास, उमंग र एकता बोकेर आउँछ भनिन्छ, तर पर्व र उमंगको पनि वर्ग, समुदाय, लिंग, जात र क्षेत्र हुन्छ। समाज अध्ययन गर्दा त्यस्तै देखिन्छ।
चाडबाडमा सबैभन्दा बढी मर्का वृद्ध, महिला र उत्पीडित वर्गलाई हुन्छ। पर्व, उत्सव र कर्मकाण्डहरूमा खासगरी महिलाले गर्नुपर्ने अतिरिक्त श्रम र खानपानको जोहोको बेग्लै कहर छ। वृद्ध वृद्धाकहाँ वयस्क र बालबच्चा टिका लगाउन आउँछन्, दक्षिणा र मिठो मसिनो जुटाउनुपर्ने कहरले तिनलाई पिरोल्छ। प्रशस्त नियमित आम्दानी नहुँदा चाडबाड बोझ बन्छ। 'चाड नमाने दुनियाँले के भन्ला?' भन्ने त्रासले ङ्याक्छ। महिला र उत्पीडित वर्गको पहुँच अझै पनि पेस्की र बोनस लिनेमा समेत कमै छ, त्यसो भन्दैमा चाड नमान्ने छुट तिनलाई छैन। घिस्रिएर भए पनि रमाइदिनुपर्छ तिनले।
आजभन्दा तीन दशकपहिले अहिलेझैँ र यो रूपमा बजार चाडपर्वमा छिरेको थिएन। उतिखेर पनि विपन्नका लागि दशैँले ऋण नै बोकाउँथ्यो। तर चाडबाडमा आफ्नै खेतबारीमा फलेका र घरका पकाइएका खानपान र उपहार श्रेष्ठ थिए। दक्षिणा र 'गिफ्ट' (कु) संस्कृति यति व्यापक थिएन। दक्षिणाको अभ्यास उतिखेर पनि थियो, तर दशैँका अक्षताका थालीमा सुकिला र ठूला नोटको फोटो/भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नुपर्ने 'प्रेसर' थिएन। लक्ष्मीपूजा उतिखेर पनि हुन्थे, तर पैसाका बिटा डढेका खबर हामी सुन्दैनथ्यौँ, देख्दैनथ्यौँ।
उच्च-पहाडी-खस-नेपाली संस्कृतिबाट आएका नाताले दशैँ र तिहारका बेला विपन्नहरूका खुम्चेका मुहार अहिले पनि याद आउँछन्। अष्टमीका दिन भुइँमा रक्सी खाएर ढलेका फाटेका लुगा लगाएका मान्छे भेटिन्थे। प्रशस्त पैसा बटुलेर बिस्कुट र चाउचाउ खाउँला भन्ने ठानेर वृद्ध आफन्तकहाँ टिका लगाउन जाँदा सुकीमोहर दिँदै 'म धनी छैन बाबु, यतिमै चित्त बुझाउनु ल' भन्दै वृद्ध आफन्तले गुनासो गरेको सम्झना आउँछ।
पछि थाहा भयो, दशैँतिहारमा दक्षिणा, खानपान र उपहारको जोहोको कहरले विपन्नलाई असाध्यै पिरोल्ने रहेछ। उपत्यका र वरपरका पहाडी जिल्लामा दशैँमा ज्वाइँलाई प्रशस्त दक्षिणा दिनुपर्ने चलन रहेछ। ज्वाइँ जति नयाँ, उति धेरै दक्षिणा। बिहेको वर्ष बित्तैजाँदा दक्षिणाको दर क्रमशः घट्दै जाने रहेछ। भान्जाभान्जीले मामाघर गएर प्रशस्त दक्षिणा पाउने अपेक्षा गर्दारहेछन्। स्कुले बच्चाले स्कुले साथीभाइमाझ त्यसको चर्चा गर्थे। चाडबाडको 'दिखावा' र प्रवर्द्धन पहिले मुखमुखै हुन्थ्यो भने यसमा प्रविधि र बजार पसेको छ।
'ग्ल्यामर मार्केटिङ'को यस युगमा 'म सबैभन्दा धनी, अब्बल र सुन्दर छु' भनेर देखाउन पाइने टिकटक, फेसबुक, एक्स, इन्स्टाग्रामलगायत एक से एक प्लेटफर्म छन्। यस्तोमा चाडबाडमा देखासिकीको ग्राफ ह्वात्तै बढेको छ। टिकटकमा छोटो भिडियो बनाउनका लागि मात्रै केही घण्टाका लागि पोसाक र गहना भाडामा लिन पाइने भएबाट हामी बाँचेको देखासिकी र उपभोक्तावादी समयलाई 'सुकुलगुन्डे' युगभन्दा हुन्छ। चोक र शहरमा राम्रा लुगा लगाएर फुर्तीसाथ हिँड्ने, राति भने खाना र सिरक-डसनासमेतको अभावमा सुकुलमा भोकै सुत्नेलाई सुकुलगुन्डा भनिन्थ्यो भन्ने कथन छ।
आक्रामक बजारले मान्छेलाई 'जसरी भए पनि र जुनसुकै अवसरमा सामान किन' भन्छ। जति धेरै सामान किनियो, उति धेरै आर्थिक कारोबार। कसैलाई आवश्यकै नभए पनि धेरैभन्दा धेरै सामान बिक्नुपर्यो। पुरानो युगमा धेरैजसो सामान आवश्यकताका कारण किनिन्थे, तर बजारिया युगले आवश्यकताभन्दा धेरै सामान बनाइरहेको छ र 'मार्केटिङ'का अनेक हतकन्डा प्रयोग गरेर मान्छेलाई सामान किन्न बाध्य बनाइएको छ। यो पर्व, फलानो उत्सव, यसको जन्मदिन, उसको दिवस-यी सबै अवसरको एक अत्यावश्यक कर्मकाण्ड: जेसुकैको किनबेच।
इजरायली लेखक तथा इतिहासविद् युवल नोआ हरारी भन्छन्, "उपभोक्तावादले हामीलाई खुशी हुन सकेसम्म धेरै उत्पादन र सेवाहरू उपभोग गर्नुपर्छ भन्छ। हाम्रो जीवनमा कुनै कुरा सही छैन जस्तो लाग्छ भने हामीले सम्भवतः कार, नयाँ कपडा, अर्ग्यानिक खाना वा गृहकार्य, थेरापी या योग कक्षाका प्याकेज किन्नुपर्छ भन्ने सिकाउँछ र बजारले हाँकेको त्यो उपभोक्तावाद चाडबाडमा झनै ठूला विज्ञान र प्रचार गराउँछ।"
'दाइभाइका लागि फलानो सेट, बहिनीका लागि तिलानो सेट।' दोबाटोका होर्डिङ बोर्ड र मोबाइलका स्क्रिनमा बजार अनेकौँ खालका यस्ता सेट र 'अफर' लिएर 'भल्नरेबल' (विवेकपूर्ण निर्णय गर्न नसक्ने) मान्छेका अगाडि पासो थाप्छ। यी विज्ञापनले यस्तो सन्देश दिन्छन्-मानौँ, बजारका यस्ता अफर र छुटहरू छुटाउने हो भने चाडबाड फलदायी हुँदैनन्। 'उपहार नदिई चाड के मनाउनु? उचित दक्षिणा नदिए आफन्तले के भन्लान्?'
चाडबाडमा दक्षिणाको 'सोअफ'देखि पहिल्यै दिक्क थिएँ। ऋण गरेरै ठूलो भोजभतेर गराएर सन्तानको बिहे गराएका एक आफन्तकहाँ केही वर्ष पहिले दशैँको टिका लगाउन जाँदा तिनले ठूलै नोट दक्षिणाका रूपमा दिए। त्यो देखेर मलाई टिठ लाग्यो। मैले यसो गर्नु आवश्यक छैन भनेँ। तर तिनले कटु उत्तर दिए, "म गरिब छु भन्ठानेको?" खिन्न भएर पैसो लिएँ। नियमित कमाई नभएकी एक बुढी आमाले टिका लगाएर ठूलै नोट दिँदा अस्वीकार गर्दा पनि त्यस्तै उत्तर दिइन्।
यस वर्षबाट भने '५० रुपैयाँभन्दा बढी कसैबाट नलिने र ५० भन्दा बढी नदिने' निजी अभ्यास गरेँ। धर्म र संस्कृतिमा सुधारको पहल चुनौतीपूर्ण छ भन्ने पनि बुझियो। यो लेख पनि त्यही प्रयासको 'सब-प्रडक्सन' हो।
जतिसुकै विपन्न भए पनि मान्छेले सकेसम्म आफन्तसँग आफ्नो विपन्नता लुकाउन खोज्छन्, बरु रवाफ देखाउन चाहन्छन् भन्ने मनोविज्ञान दक्षिणाका माथिल्ला सन्दर्भबाट बुझ्न सकिन्छ। तर समाजको उन्नति र स्वास्थ्यको लागि यस्ता अभ्यास र मनोविज्ञान ठिक छन् त? कतिपय मान्छे भन्छन्, 'गच्छेअनुसार पर्व मनाऊँ। हुनेले त मनग्ये खर्च गर्दा भइहाल्छ नि!' यस तर्कसँग पनि सहमत हुन सकिन्न।
संसार आफैँमा साझा घर भएकाले यसभित्रका स्रोतसाधन र सम्पत्तिमा सबैको बराबर हक लाग्नुपर्ने हो, तर जटिल इतिहास, सर्वत्र सम्भ्रान्त र शक्तिशाली मैत्री कानून संविधान हुने गरेका कारण समाज कुनै दयालु मान्छेको कल्पना झैँ आदर्शपूर्ण छैन। यसै धर्तीमा कोही घरमै निजी जहाजहरू राख्ने हैसियतका छन् त कोही नालीमा फ्याँकिएका खाना टिपेर बाँच्नेहरू समेत छन्।
त्यस्ता प्रतिनिधिमूलक घटना र अभ्यास संसारका धेरै देशमा अझै छन्। यस पृष्ठभूमिमा 'हुनेले मनग्य खर्च गर्ने' कुरा आफैँमा अनुचित छ। किनभने हुनेहरूले उपभोग गर्ने धन, सम्पत्ति र ऐश्वर्य आखिर विपन्नहरूबाट अनेक हतकन्डामार्फत सोसेर नै जम्मा भएको हो। त्यसमाथि, 'सक्ने'हरूले गर्ने फजुल खर्च र उन्मादपूर्ण रवाफले विपन्नमाथि पार्ने दबाबको धेरै मनोवैज्ञानिक मूल्य हुन्छ।
वर्षौँदेखिका पोसाक र उपहार तपाईँ हामीमध्ये कैयौँका दराजमा ढुसी लागेर बसिरहेका होलान्, तर हामी 'यस पटक फलानोलाई के उपहार दिने?' भन्दै बजार चहारिरहेका छौँ। उपहार प्राप्त गर्नेवालाको दराजको पनि हाम्रोजस्तै हालत छ र उ/उनी पनि उसैगरी उचित उपहारको खोजीमा बजार चहारिरहेका होलान्। वस्तुको वास्तविक आवश्यकता छैन, तैपनि किन्न परेको छ, किनेर उपहारहरू सडाउनु परेको छ।
हामीले आफैँलाई दिएको मनोवैज्ञानिक यातना त यो हुँदै हो यो, प्रकृतिको अनुचित दोहनमा हाम्रो संलग्नता पनि हो यो। गमेर ल्याउँदा मनलाग्दी यसरी खर्च गर्नु साधन स्रोतसम्म पहुँच नुनेहरूप्रतिको घोर अपराध पनि हो।
सांकेतिक र सामान्य दक्षिणा र उपहारले पर्वहरूलाई रंगिन बनाउन सकिन्छ। त्यसो गर्न आवश्यक भइसकेको छ। यो पृथ्वीको स्वास्थ्यका लागि पनि आवश्यक छ। बजारको यो माकुरे जालोमा नफसौँ। बरु उपभोक्तावादको ताण्डवविरुद्ध बोलौँ, अभ्यास गरौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
