खोटाङका सबै मतदानस्थलमा निर्वाचन सामग्री

खोटाङमा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्।

मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउने तयारी गरिँदै। तस्वीर : रासस

खोटाङ– जिल्लाका सबै मतदानस्थलमा निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी र कर्मचारीकाे टाेली पुगेकाे छ। 

मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्रीसहित टाेली पुगेकाे हाे। 

निर्वाचनका लागि एक हजार पाँच सय ५८ कर्मचारी र एक हजार आठ सय सुरक्षाकर्मी खटाइएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु गिरीले जानकारी दिए। खोटाङमा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्।

मतदान केन्द्रमा चारवटाका दरले मतपेटिका पठाइएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए। मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भङ्ग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्ने जनाइएको छ।

खोटाङमा एक लाख ४२ हजार सात सय ९२ मतदाता छन्। एक प्रतिनिधिसभासहित दुई प्रदेशसभाका लागि निर्वाचन हुँदैछ।