चार दिने औपचारिक भ्रमण सकेर न्युयोर्क फर्किए गुटेरेस

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे।

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर बुधबार न्युयोर्क फर्किएका छन्। उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे।

महासचिव गुटेरेस कतार एयरवेजको विमानबाट दोहा प्रस्थान गरेका हुन्। त्यहाँबाट उनी न्युयोर्क जानेछन्। गत आइतबार बिहान नेपाल आएका गुटेरेसले ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय स्थलहरू (पाटन दरबार स्क्वायर, सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्प, लुम्बिनी)को अवलोकन भ्रमण गर्नुका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरे। 

भ्रमण अवधिमा उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षका साथै विभिन्न दलका शीर्ष नेतासँग पनि भेट गरे।

नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय महासचिव बनेका महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। यसका साथै जलवायु परिवर्तनले गर्दा नेपालले भोगिरहेको नकारात्मक प्रभावको क्षतिपूर्ति विकसित मुलुकबाट पाउनुपर्ने उनको जोड रहेको छ।

महासचिव गुटेरसको भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जलवायु परिवर्तनको शिकार भएबापत पाउनु पर्ने सहयोगका लागि नेपालको लबिङ पुग्ने अपेक्षा गरिएको छ।