नेपालगन्ज विस्फोट : विप्लव समूहका कार्यकर्ता घाइते भएको प्रहरीको भनाइ

बाँके प्रहरीका अनुसार कुकर बम विस्फोटमा परी घाइते हुनेमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता डिल्ली डिसीसहित दुईजना रहेका छन्।

तस्वीर : नमस्कार शाह

काठमाडौं– बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटीनगरमा बुधबार साँझ भएको कुकर बम विस्फोटमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।

बाँके प्रहरीका अनुसार प्रेसर कुकर बम विस्फोटनमा विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता डिल्ली डिसी र धर्मराज बडुवाल घाइते भएका छन्। डिसीको अवस्था गम्भीर रहेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार ती दुवैजना दीवाकर विक्रम मल्लको घरमा तल्लो तलामा भाडामा बस्दै आएका थिए।

त्यस्तै, साेही घरमा अर्को प्रेसर कुकर बम पनि भेटिएको छ। नेपाली सेनाको टाेलीले घटनास्थलमा पुगेर बम डिस्पोज थालेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका समन्धनमा अनुसन्धान शुरू गरेको जनाएको छ।