विदेश गएका विद्यार्थीले लगे एक महिनामै ५ अर्ब १३ करोड

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको तीन महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ६२.३ प्रतिशतले वृद्धि भई २६ अर्ब ४ करोड पुगेको छ।

काठमाडौं– उच्च शिक्षाका लागि विदेश गएका नेपाली विद्यार्थीबाट एक महिनामै ५ अर्बभन्दा बढी रुपैयाँ बाहिरिएको छ। 

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म उच्च शिक्षाका लागि विदेश बढ्न गएका नेपालीले १७ अर्ब ८९ करोड लगेका हुन्। गत साउन र भदौमा १२ अर्ब ७६ करोड बाहिरिएको थियो। जसमध्ये असोजमा मात्रै ५ अर्ब १३ करोड रुपैयाँ विदेशी मुद्रा साटेर लगेका हुन्।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको तीन महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ६२.३ प्रतिशतले वृद्धि भई २६ अर्ब ४ करोड पुगेको छ। यसमध्ये शिक्षा तर्फको व्यय १७ अर्ब ८९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १६ अर्ब ४ करोड रहेकोमा शिक्षातर्फको व्यय ८ अर्ब ९२ करोड रहेको थियो।