यस वर्ष ८८.५ प्रतिशत वर्षा, आइतबारदेखि पूर्णरूपमा बाहिरिँदै मनसुन

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि मनसुन औसत मितिभन्दा दुई साता ढिलो बाहिरिँदै छ।

काठमाडौँ– गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन आइतबार रातिबाट पूर्णरूपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुई साता ढिलो बाहिरिएको हो।

महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन समय अक्टोबर २ तारिख हो। यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो। नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिएको थियो। असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भू-भाग तथा बागमती प्रदेश र मधेश प्रदेशका आंशिक भू-भागबाट बाहिरिएको छ।

यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशको पश्चिमी भू-भागबाटसमेत मनसुन बाहिरिइसकेको छ। “मनसुन पूर्णरूपमा बहिर्गमन हुने अवस्थामा छ”, महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, “साँझसम्म मनसुन बाहिरिने अनुमान गरिएको छ। आजै मनसुन विशेष बुलेटिन आउन सक्छ।”

उनका अनुसार मनसुन अहिले कोशी प्रदेशमा केन्द्रित छ। मधेश र बागमती प्रदेशका थोरै स्थानमा बाँकी छ। हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण आगामी दिन दिनसम्म देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए।अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। देशका पहाडी भू-भागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मनसुन अवधिमा ८८.५ प्रतिशत वर्षा
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार नेपालमा यस वर्ष मनसुन अवधिमा ८८.५ प्रतिशत वर्षा भएको छ। यो मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो।

नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यस वर्ष मनसुन अवधिमा एक हजार ३०३ मिलिमिटर वर्षा भएको हो। काठमाडौँमा एक हजार २८३ मिलिमिटर वर्षा भएको छ। जुन सरदरको १०९ प्रतिशत हो। काठमाडौँमा मनसुन अवधिमा सरदर एक हजार १७६.४ मिलिमिटर वर्षा हुन्छ।

त्यसैगरी ओखलढुङ्गामा एक हजार ४९२.१ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा कम जनकपुरमा ६३७.१ मिलिमिटर वर्षा मापन गरिएको छ। जनकपुरको सरदर वर्षा एक हजार १९५.८ मिलिमिटर हो।