जंगली रातो च्याउ सुकाएपछि किलोको ९ हजार रुपैयाँसम्ममा बिक्ने रहेछ। प्राकृतिक स्रोतमा हामी यति सम्पन्न छौँ। तर न पहिचान गर्न सकेका छौँ, न प्रयोग। यी जडीबुटी अब चीन पुग्नेछन्।
पाँच वर्षअघि नेपालगन्ज जाँदा हटारु शब्द सुनेको थिएँ। खप्टाएर लुगा लगाएका र लामो यात्राका कारण पसिनाले भिजेका कर्णालीका मान्छेको समूहलाई हटारु भन्थे। उनीहरू नेपालगन्जका व्यापारीहरूको प्रिय थिए। एउटा मात्र समूह दुकानमा भित्र्याउन सके राम्रो व्यापार भैहाल्थ्यो। यसपटक तिनै हटारू पछ्याउँदै म काठमाडौँको हटारु बनेर कर्णाली पुगेँ।
म हटारु थिएँ, तर माथि (कर्णाली)का मान्छे त दौरासुरुवालमा सजिएका रहेछन्। कर्णालीका मान्छेको चित्र त्यहाँ पुगेकै दिन फेरिएको थियो। यो प्रसंग पछि जोड्ने नै छु।
अहिले मेरो यात्रा काठमाडौँबाट शुरू भएको छ। कलंकी पर बलम्बु पुग्दा सुरुङमार्गको लिंक रोड बन्दै थियो। सुरुङमार्ग निर्माण पनि चलिरहेको थियो। एउटा सुन्दर कल्पना गरेर म कर्णाली जाँदै थिएँ।
लमतन्न सुतेको सडक पार गर्नुपर्ने थियो।
कुरिन्टार पुग्ने बेला निर्माणकार्यमा कार्यरत एक जना भाइले हात दिए। उनी मसँगै कालिखोलासम्म गए। रमाइलो डाँडामा चिया पिउँदा थाहा पाएँ, उनी चेपाङ समुदायका रहेछन्। निर्माण क्षेत्रमा काम गरेर महिनाको २४ हजार तनखा बुझ्दा रहेछन्। हामी एउटा सेल्फी खिचेर बिदा भयौँ।
नारायणी पुल पुग्दा सूर्य अस्ताउने क्रममा थियो। पहिलो दिन यहाँबाट अझै १०० किलोमिटर टाढा पुगेर यात्रा बिसाउनु थियो।
दोस्रो दिन बुटवलबाट यात्रा शुरू गर्दा मेरो पुग्नुपर्ने गन्तव्य ५५० किमि टाढा थियो, जुम्लाको चन्दननाथ।
डोल्पा यात्राका क्रममा पाँच वर्षअघि सुर्खेतको छिन्चुसम्म पुगिसकेको थिएँ। यसपटक छिन्चुबाट अगाडिको यात्रा मेरो लागि नयाँ थियो। बबई नदी पार गरेपछि शुरू भयो कर्णाली। कर्णाली प्रवेश गर्नुअघि केही 'स्न्याप' फोटो लिएँ।
म सुर्खेत पुगेर केही क्षण रोकिएँ। मोटरसाइकल जाँच गर्न ग्यारेजमा पसेँ। त्यहाँका साहुजीले त्यही दिन जुम्ला पुग्न गार्है पर्ने बताए। दैलेख शुरू भएपछि सडक जीर्ण रहेको उनको सूचनाले म थोरै निराश भएँ। तर म रोकिनेवाला थिइनँ।
दैलेखको रामाकोट कटेर राकम पुग्ने बेलासम्म घाम अस्ताउन लागेको थियो। राकम नजिकै एक जना मोटरसाइकल सवारले आफ्नो साधनमा समस्या आएको भन्दै आफूले बोकेका यात्रुलाई लगिदिन आग्रह गरे। मलाई पनि यात्रामा साथी जुर्यो।
केही दूरी पार गरिसकेपछि उनले दुखेसो पोख्न थाले। कोहलपुरबाट बसको टिकट लिएर सुर्खेत आइपुगेका उनी तिनै मोटरसाइकलवालाको आग्रहमा आएका रहेछन्। बसको टिकट फिर्ता गरेर बाइकवालालाई पैसा बुझाएका रहेछन्। तर बाइकवाला ठाउँठाउँमा मदिरा सेवन गर्दै हिँड्दा रहेछन्।
कालिकोट नपुग्दै अँध्यारोले छोप्यो। झिलिमिलि मान्मा बजार देखियो। केही माथि देखिएको मान्मा बजार पुग्न एक घन्टा लाग्यो। त्यहाँ पुग्दा साँझ ८ बजिसकेको थियो। मान्मा बजारले पाल्पाको तानसेन बजारको याद दिलायो। तर बस्ती चाहिँ पातलो।
मसँगैका यात्रु मान्माबाट १४ किमि अगाडि बिहानी गाउँका रहेछन्। हामी उनको गाउँमा रोकियौँ। जुम्ला पुग्न अब ८० किमि बाँकी थियो। बाइकमा तेल कम हुँदै थियो। उनैले एउटा पसल खुलाएर २ लिटर तेल हालेँ। अनि एक्लै अघि बढेँ। राति करिब साढे १० बजे नाग्मा बजार पुग्दा सुनसान भइसकेको थियो। त्यहाँको हिमा नदी तरेपछि जुम्ला जिल्ला शुरू भयो।
बाइकको उज्यालोले अगाडि सडकबाहेक केही देखिँदैन थियो। तिलागुफा गाउँपालिका र तातोपानी गाउँपालिकामा सडकहरू निर्माण भइरहेकोले बाटो अस्तव्यस्त नै थियो। सडकमुनि बगिरहेको तिला कर्णालीको बेगले मनमा त्रास छाइरह्यो।
अन्ततः राति सवा ११ बजे म चन्दननाथको प्रवेशद्वारमा पुगेँ। नजिकैको इलाका प्रहरी कार्यालय सुनसान थियो। सोधखोज गर्ने कोही थिएन। अलमलमा परिरहेँ। केही बेरमा एउटा एम्बुलेन्स आइपुग्यो। चालकले म जानुपर्ने दिशा बताइदिए। म उच्च अदालतको क्वार्टरमा पाहुना लाग्न जानुपर्ने थियो।

जुम्ला पुगे पनि जुम्ला देखेकै थिइनँ। अघिल्लो दिन करिब १५ घन्टाको यात्राले थाकेको थिएँ। उठ्न ढिला भयो। उठेर खाना खाएर पनि फेरि सुतेँ। अपराह्नतिर मात्र जुम्ला बजार निस्कियौँ।
त्यहाँ मैले हटारु भनेर चिनेका जुम्ली थिएनन्। बरु परम्परागत दौरासुरुवालमा ठाँटिएका जुम्ली थिए। हटारु त म थिएँ।
चन्दननाथको जुगाड खोलामाथि टहरामा रहेछ तरकारी बजार। पुल छेउछाउ पनि तरकारीकै पसल। काठमाडौँस्थित बागबजारको टुकुचा खोला याद आयो। बजारसँगै बग्ने कालीखोला र जुगाडखोला पनि बागमती र विष्णुमती जस्तै प्रदूषित।
मलाई नवीन (केसी) दाइले जुम्लाका स्याउ फार्म घुमाउनुभयो। स्याउ फार्ममा अधिकांश बोट रित्तै थिए। अब सिजन सकिने बेला भइसकेको थियो।
निवास फर्किएपछि भोलिपल्ट बिहान पातारासीको क्षेरे झरना हुँदै रारा यात्रा गर्ने योजना बन्यो।
बिहानै हिँड्ने मेसो मिलेन। १० बजेतिर खाना खाइवरी नवीन दाइ र म पातारासीतर्फ लाग्यौँ।
तिला कर्णाली किनारका खेतमा टम्म धान झुलेका। बारी मकैले भरिएका। घोगा हाम्रातिर लाग्नेभन्दा करिब डेढ गुणा बढी। स्थानीयहरू अन्नबाली भित्र्याउन व्यस्त थिए।
गाउँ फेरिने क्रममा थियो। परम्परागत घरहरू विस्थापित हुँदै थिए। नयाँ कंक्रिटका घर बन्दै थिए।
उर्थुचौताराबाट आधा घण्टा जति अघि बढेपछि हिँड्नुपर्ने भयो। सुन्दर पहाडहरूको बीच बगिरहेको तिला नदीको किनारै किनार हिँडेर क्षेरा पुग्यौं। जंगलको बीचमा टेन्ट गाढेर पसल राखिएको थियो। झोला त्यहीँ बिसाएर झरनातर्फ लाग्यौँ।
पातारासी झरनालाई स्थानीयले शंकर झरना भन्दा रहेछन्। झरनाको बाटो सुधारका निम्ति पातारासी गाउँपालिकाको अग्रसरतामा स्थानीय श्रमदान गरिरहेका थिए।
हामी झरनाको सौन्दर्य महसुस गरिरहेका थियौँ। झरनाबाट चट्टानमा बज्रेको पानीले भिजायो। त्यो भिजाइमा आनन्द महसुस भयो।
नजिकै पसलमा खाजा खाने योजना बन्यो। त्यहीँ चिलिम तानिरहेका थिए धनराज बुढा। घर पातारासी-२ पेरे। मैलो ढाकाटोपी, त्यसमाथि मफलरको फेटा। दौरासुरुवालमाथि इस्टकोट। मैले उनको तस्वीर लिएँ र क्यामराकै स्क्रिन खोलेर देखाएँ। उनी मख्ख परे। उनकै साथीभाइले गीतसमेत गाउन उक्साए। उनी स्थानीय भाकामा गाउन थाले।
बगायो बबईले
रुकुम ला सितलपाटी
शंकर झरना रमाइलो छ
हेर्न आउ सबैले...
दिउँसो ४ बजिसकेको थियो। हामी उर्थुतिरै फर्कियौँ, जहाँ हाम्रो बाइक हामीलाई पर्खिरहेको थियो।
बाइक चलाउन लाग्दा एक जना दाइ एकोहोरिएर हेरिरहेका थिए। मलाई जिज्ञाशा लाग्यो। मैले सोधिहालेँ। उनी रहेछन् नरसुर ऐगी, बाइक चढ्ने रहरले हेरेका रहेछन्। मैले उनलाई चढाएर करिब ५०० मिटर कुदाएँ। अनि हाम्रो यात्रा मुगुतिर सोझियो।

करिब २० किलोमिटर जति उकालो कच्ची बाटो लागेपछि खाली पुग्यौँ। पहाडको उच्च स्थानमा रहेको घासेमैदान। डाँडा सबै खाली भएर ठाउँको नाम खाली रहेको हुनुपर्छ भन्ने अनुमान गरेँ। हेर्दा खप्तड र बडिमालिका जस्तै लाग्ने।
हामीले राममायाको होटल खोज्नु थियो। सडक छेउको पहिलो होटल उनैको रहेछ। राममाया चुलो लिप्दै थिइन्। उनका श्रीमान दाना थापा एउटा कुटुरो बोकेर आइपुगे। चुलोमा आगो बल्न थालेपछि कोठा न्यानो हुँदै गयो। श्रीमानले ल्याएको कुटुरोभित्र रातो रङको जंगली च्याउ रहेछ।
जंगलका सुकेका रुखमा बिरलै हुने यो च्याउ जडीबुटीका रूपमा प्रयोग हुने रहेछ। स्थानीय बजारमा किलोको ९ हजार रुपैयाँसम्म पर्ने रहेछ। व्यापारीले किसानसँग संकलन गरेर चीनतर्फ निर्यात गर्ने रहेछन्।
बिहान कोठामा हलुका उज्यालो पस्यो। झ्याल खोलेर खालीको नजरिया लिएँ। कतै घोडा, कतै बाख्रा र भेडाको बथान। कोठाबाट तल झरेर सुन्दर दृश्यावलोकन गर्न थालेँ। दाना थापा बेलुका सफा गरेको च्याउ घाममा सुकाउँदै थिए। गाउँका सबैले गरेर अहिलेसम्म करिब सात किलो जम्मा गरेको र त्यसको बजार मूल्य करिब ६० हजार रहेको उनी बताउँदै थिए।
प्राकृतिक स्रोतमा हामी यति सम्पन्न छौँ। तर हामीले न पहिचान गर्न सकेका छौँ, न प्रयोग नै। यी जडीबुटी अब चीन पुग्नेछन्।
चियापान सकेर हामी बुल्बुलेतर्फ लाग्यौँ। सडक पहिरोले क्षतिग्रस्त। कैयनपटक पछाडि बसेका नवीन दाइलाई उतार्नु परेको थियो।
पिनाबाट शुरू भयो मुगुको यात्रा।
सदरमुकाम गमगढी र रारा छुटिने बाटो आइपुग्यो। हाम्रो गन्तव्य रारा थियो। सल्लेरीमै मोटरसाइकल राखेर हामीले हिँड्ने निर्णय गर्यौँ। उकालो लाग्दै गर्दा घोडाको सेवा दिनेहरू भेटिए। बाटो हिलाम्मे भएको भन्दै उनीहरू घोडा चढ्न आग्रह गरेका थिए। "काठमाडौँदेखि नै घोडामा आएको, रारा हिँडेरै पुग्ने हो," मैले ठट्टा गरेँ।
कोहीले भने घोडा नचढे पनि तस्वीर मात्र खिचाउन आग्रह गर्थे। मैले उनीहरूकै तस्वीर खिचिदिएँ। अब उनीहरू अरू ग्राहक खोज्न थाले तस्वीर खिचिदिन।
सल्लाको रूखहरूबीच तालको नीलो रङले सौन्दर्य छरिरहेको थियो। डाँडाबाट देखिएको तालको सौन्दर्यले हाम्रो पाइला अझ छिटो चल्न थाले। घोडा र खच्चरले गिजोलेको हिलाम्मे बाटोमा पनि हामी फटाफट हिँड्न थाल्यौँ।

हामी गन्तव्यमा पुग्यौँ। मौसम सफा थिएन। बादलले छोपेको आकास र राराको रङ फरक थियो। हामी मौसम खुलेपछिको राराको स्वरूप हेर्न आतुर थियौँ।
हामी तालको किनारै किनार हिँड्न थाल्यौँ। एक घण्टाजति हिँडेपछि सेनाको ब्यारेक र केही रिसोर्ट भेटिए। त्यहीँ थियो रारा राष्ट्रिय निकुञ्जको गेट। आजको बास निकुञ्ज परिसरकै होटलमा थियो।
भोलिपल्ट पनि मौसमले हामीलाई निराश नै बनायो। बादलले आकाश छेकेको थियो र छेकिएको थियो छायानाथ हिमाल। हामीले छायानाथको छाया रारामा हेर्न पाएनौँ।

नेपालकै ठूलो ताल राराको पूर्ण स्वरूप नजिकैबाट हेर्न नसकिने रहेछ। हामी मुर्मा टपतिर लाग्यौँ। धुपीको जंगलको बाटो हामी उक्लिन थाल्यौँ। तीन घन्टा हिँडेपछि मुर्मा पुग्यौँ। मौसम खराब भएको कारण टपतिर गएनौँ।
पानी पर्न थाल्यो। यो हाम्रो लागि खुशीको कुरा थियो। अब मौसम खुल्ने आशा भयो।
करिब ३ बजेको थियो, एकाएक जमिन हल्लिन थाल्यो।
साँझ एक व्यक्ति झोला बोकेर आइपुगे। उनी रहेछन् रेडियो नेपालको रिले स्टेसन मुर्मामा काम गर्ने रमेश रोकाया। उनी रेडियो बजिरहेको निश्चित गर्न बजाएर बोकेरै हिँड्ने रहेछन्। बेलुकाको ७ बजेको थियो, रेडियो नेपालबाट समाचार शुरू भयो। तब पो थाहा भयो, दिउँसो बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको रहेछ।
त्यो दिन हामीलाई रमेशले नै बास दिने भए।
भोलिपल्ट बिहान रेडियो नेपालको धुनले हामीलाई ब्युँझायो। सूर्यको प्रकाशले मौसम खुलेको संकेत गरिरहेको थियो। मुर्मा टपबाट बझाङ, बाजुरालगायत जिल्लाका धेरै ठाउँ देखिने रहेछ। अपी, साइपाल, छायानाथलगायत हिमश्रृंखलाको लामो रेन्ज देखिने रहेछ। एक झल्को नगरकोट यतै भएजस्तो।
रमेश रेडियो बजाउँदै गाउँतर्फ झरे। रारा खुल्दै गयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
