हस्ताक्षर दुरुपयोग भएको भन्दै कोशी प्रदेश प्रमुखसमक्ष कांग्रेसका ८ सांसदको निवेदन

कांग्रेस नेता शेखर कोइराला पक्षीय ८ सांसदले माओवादीका आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरी मुख्यमन्त्रीमा दाबी पेस गरेको र त्यसलाई मान्यता नदिन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन दिएका छन्।

विराटनगर– कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने क्रममा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सांसदहरूले विरोध जनाएका छन्।

कांग्रेसको शेखर कोइराला पक्षका आठ जना प्रदेशसभा सदस्यले माओवादीका आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरी मुख्यमन्त्रीमा दाबी पेस गरेको भन्दै प्रदेश प्रमुख परशुराम खापुङको ध्यानाकर्षण गराउँदै निवेदन दिएका हुन्। 

ती प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेस गरेको दाबीमा हस्ताक्षर गरेका छन्। उनीहरू शशरीर उपस्थित भएर कार्कीलाई मुख्यमन्त्री बनाउने समर्थन पत्रमा हस्ताक्षर गरेका थिए। 

माओवादीका आङ्बोले पनि उनीहरूकै हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि आफूहरूको हस्ताक्षर दुरुपयोग भएको कांग्रेस सांसदहरूको भनाइ छ। उनीहरूले आङ्बोले पेस गरेको नाम र हस्ताक्षरलाई मान्यता नदिन प्रदेश प्रमुख खापुङलाई आग्रह गरेका छन्।

“नाम र हस्ताक्षरको दुरुपयोग गरी अरू कुनै सदस्यलाई मुख्यमन्त्रीमा समर्थन गरी दाबी पेस गरेको भए सो हस्ताक्षर झूटा हो, हामीले केदार कार्कीबाहेक कुनै सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि समर्थन गरी हस्ताक्षर गरेका छैनौँ,” उनीहरूले पेस गरेको निवेदनमा भनिएको छ।

कांग्रेसका कार्कीलाई समर्थन गर्नेमा शमशेर राई र गोविन्द गिरी, उदयपुरका रामकुमार खत्री, लीलाकुमारी राई, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन्।

कोशी प्रदेश सभामा नेपाली कांग्रेसका २९ जना प्रदेश सांसद छन्। तीमध्ये ८ जनाले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका छन्।

केन्द्रमा गठबन्धन दलहरूका शीर्ष नेताहरूले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति जनाएपछि विद्रोह गर्दै कांग्रेसको कोइराला समूहका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।