भारतीय प्रधानमन्त्री मोदीले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गरेको विषयमा सांसदले सरकारमाथि प्रश्न उठाएका छन्।
काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गरेको र नेपाली पक्ष जानकार नभएको विषयमा सांसदले सरकारमाथि प्रश्न उठाएका छन्।
बिहीबारको प्रतिनिधिसभाको बैठकपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सांसदहरूले छिमेकी देशका प्रधानमन्त्रीबिना जानकारी नेपाली भूमिमा प्रवेश गर्दा पनि सरकार टुलुटुलु हेरेर बसेको टिप्पणी गरे भने भारतीय प्रधानमन्त्रीले सामान्य शिष्टाचार र कूटनीतिक मर्यादा विपरीत कार्य गरेको बताए।
नेकपा एमाले सांसद ठाकुर गैरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मर्यादालाई उल्लंघन गरेर नेपाली भूमि कालापानीक्षेत्रको भ्रमण गरेको बताए। मोदीले सामान्य शिष्टाचार र कूटनीतिक मर्यादा विपरीत कालापानीक्षेत्रको भ्रमण गरेको उल्लेख गर्दै उनले यस प्रकारको भ्रमणलाई सही भन्न नसकिने सुनाए।
“भारतका प्रधानमन्त्रीले एउटा सामान्य शिष्टाचार, सामान्य कूटनीतिक मर्यादा र एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न भौगोलिक रूपले अखण्ड नेपाल र त्यससँगको भारत र नेपालबीचको सम्बन्ध र त्यसको सामान्य मर्यादालाई समेत उल्लंघन गरेर उहाँले आफ्नो भ्रमण गर्नुभएको छ” उनले भने, “यो कुनै पनि हिसाबले नेपालले यसलाई यसको पक्षमा अथवा यो कुरा सही हो भन्न सक्दैन। यो अत्यन्त गलत काम भएको छ।”
कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि भएकाले त्यहाँबाट भारतीय सेना पनि फिर्ता हुनुपर्ने उनको भनाइ छ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले छिमेकी देशका प्रधानमन्त्रीबिना जानकारी नेपाली भूमिमा आउँदा सरकार टुलुटुलु हेरेर बसिरहेको टिप्पणी गरे। उनले बिनाजानकारी विदेशी प्रधानमन्त्रीले नेपालका भूभागमा भ्रमण गर्दा सरकार लाचार भएर बसेको र यसबाट सरकारको नालायकीपन देखिएको टिप्पणी गरे।
“छिमेकी राष्ट्रको प्रधानमन्त्रीजस्तो मान्छे थाहा नै नपाईकन त्यहाँका नेपाली जनतासँग भेटेर, अँगालो मारेर कुरा गर्नु, यो सरकारले टुलुटुलु हेर्नेबाहेक केही गर्न सक्दैन, आशीर्वादको सरकार,” उनले भने।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भारतीय प्रधानमन्त्री मोदी कालापानीक्षेत्रमा आएको विषयले छिमेकी देशलाई विश्वासमा लिँदै कूटनीतिक सक्रियता बढाउनु जरुरी देखिएको बताए। “म यति मात्र भन्न चाहन्छु कि नेपालका तर्फबाट छिमेकीहरूलाई विश्वासमा लिँदै हाम्रो कूटनीतिक सक्रियता बढाउनु जरुरी छ,” उनले भने।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मोदीको महाकाल क्षेत्रको भ्रमण औपचारिक नभएकाले चासो लिनुपर्ने आवश्यकता नभएको जिकिर गरे। राजकीय भ्रमणका रूपमा नेपाली भूमिमा आएको भए सम्मान र सत्कार गर्नुपर्ने तर व्यक्तिगत भ्रमणबारे जानकारी गराउनु नगराउनु उनीहरूकै कुरा भएको उनले उल्लेख गरे। नेपाल–भारतबीचमा रहेका समस्याहरूलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ छ।
“व्यक्तिगत भ्रमणको परराष्ट्र मन्त्रालयलाई जानकारी छ कि छैन, राज्यका कुन–कुन संयन्त्रलाई जानकारी दिनुभयो उहाँहरूको कुरा हो,” उनले भने, “यसमा राज्यका तर्फबाट चासो लिइएको छैन।”
भारतीय प्रधानमन्त्री मोदीले बिहीबार बिहान भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको भ्रमणका गरेका थिए। हेलिकप्टरमार्फत नेपाली भूमि कुटी आइपुगेका मोदीको भ्रमणबारे नेपाली पक्षलाई भने जानकारी नगराइएको बताइएको छ। उनको भ्रमणबारे सदनमा समेत प्रश्न उठेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
