इजरायलमा रहेका नेपालीको उद्धारमा प्रभावकारी भूमिका खेल्न सरकारलाई दलहरूको सुझाव

सर्वदलीय बैठकमा दलहरूले इजरायल द्वन्द्वमा फसेका नेपालीहरूको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र मृतकको शव नेपाल ल्याउने कार्यमा प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।

काठमाडौँ– इजरायल प्यालेस्टिनी सैन्य समूह हमासबीच जारी युद्धका कारण इजरायलमा समस्यामा परेका नेपालीहरूका बारेमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक ठोस निर्णयबिनै सकिएको छ। 

प्रधानमन्त्री दाहालले सोमबार साँझ इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको प्रसंग र त्यसपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका थिए।

बैठकमा दलहरूले इजरायल द्वन्द्वमा फसेका नेपालीहरूको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र मृतकको शव नेपाल ल्याउने कार्यमा प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन्। बैठकपछि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले सन्तुलित र समन्वयकारी भूमिका खेल्न नसकेको बताए।

उनले इजरायलमा बंकरमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरिएको बताए। “सरकारले के गर्दै छ भन्ने भनेर उहाँले सबै दललाई जानकारी दिनुभयो। सरकारले अत्यन्तै सन्तुलित ढंगले प्रस्तुत हुनुपर्छ भन्ने कुरा राख्यौँ,” उनले भने।

त्यस्तै, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय पीडाको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताए। उनले देशभित्र फर्किन चाहनेलाई फर्काउने व्यवस्था गर्न र त्यही बस्न चाहनेलाई सुरक्षाको प्रत्याभूति गराउन जोड दिएको उल्लेख गरे।

“मूलतः बंकरमा रहेकाहरूलाई उद्धार गर्ने र मृत्यु भएकाहरूको शव यथाशीघ्र झिकाएर परिवारसम्म पुर्‍याउने विषयमा छलफल भयो। नेपालीहरू यदि देशभित्र फर्किन चाहन्छन् भने फर्काउने र त्यही बस्न चाहनेलाई सुरक्षाको प्रत्याभूति गराउनु पर्नेमा जोड दिइयो,” उनले भने।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले इजरायलमा संकटमा रहेका नेपालीको उद्धारबारे छलफल भएको भन्दै यस्ता घटनामा सबै पार्टी एकै ठाउँमा उभिने विषयवस्तु आएको बताए। 

“सरकारले जुन पहल कदमी लिएको छ, यो ठीकै छ। यसलाई कार्यान्वयनमा लैजान लागोस्। साथसाथै आधिकारिक रूपमा जनतालाई आधिकारिक ठाउँबाट सही सूचना सम्प्रेषण गर्ने कुरा सरकारले गरोस् भन्ने सुझाव आएको छ,” उनले भने।

इजरायलमा शनिबार अचानक हमासले आक्रमण गरेपछि द्वन्द्व चर्किएको छ। इजरायलले औपचारिक रूपमा युद्धको घोषणा गर्दै हमासविरुद्ध जवाफी कारबाहीस्वरूप ‘महत्त्वपूर्ण सैन्य कदमहरू’ चालेको जनाएको छ। एपी न्युजका अनुसार अहिलेसम्म दुवै पक्षका ११ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन्। युद्ध जारी रहेको बताइएको छ।