विश्वको जनसंख्या ८ अर्ब नाघ्यो, १२ वर्षमा बढ्यो १ अर्ब

स्वास्थ्य सेवामा आएको सुधार, स्वास्थ्य सेवामा पहुँच, घट्दो शिशु मृत्युदरजस्ता कारणले पृथ्वीको जनसंख्या बढिरहेको राष्ट्रसंघले जनाएको छ।

काठमाडौं– विश्वको जनसंख्या ८ करोड नाघेको छ। संयुक्त राष्ट्रसंघको प्रक्षेपण अनुसार विश्वको जनसंख्या ८ अर्ब नाघेको हो।

सन् १९९८ मा विश्वको जनसंख्या ६ अर्ब थियो। त्यसपछि सन् २०१० मा संख्या बढेर ७ अर्ब र त्यसको १२ वर्षपछि थप अर्ब जनसंख्या बढ्यो। पछिल्लो २४ वर्ष विश्वको जनसंख्या २ अर्ब बढेको तथ्यांक छ।

मानिसको जनसंख्यासम्बन्धी पुराना तथ्यांक केलाउँदा सन् १००० मा पृथ्वीको जनसंख्या २७ करोड ५० लाख थियो। त्यसपछि ८०४ वर्षको अवधि अर्थात् सन् १८०४ मा पृथ्वीको जनसंख्या एक अर्ब पुगेको थियो। त्यति बेला ७० करोड जनसंख्या वृद्धि हुन झन्डै ८०४ वर्ष लागेको थियो। तर, पछिल्लो १२ वर्षमै एक अर्ब नाघेको तथ्यांक छ।

यस्तै, सन् १९३० मा २ अर्ब रहेको विश्वको जनसंख्या ३० वर्षपछि सन् १९६० मा ३ अर्ब पुग्यो। त्यसको २७ वर्षपछि सन् १९८७ मा पृथ्वीको जनसंख्या पाँच अर्ब नाघ्यो। त्यसपछिका हरेक दशकमा करिब एक अर्बका दरले जनसंख्या बढिरहेको राष्ट्रसंघको तथ्यांक छ। पृथ्वीको जनसंख्या सन् १९९८ मा ६ अर्ब, सन् २०१० मा ७ अर्ब र सन् २०२२ मा विश्वको जनसंख्या ८ अर्ब नाघेको हो।

एसियाको पूर्वी र दक्षिणपूर्वी २.३ अर्ब, मध्य दक्षिण एसियामा २.१ अर्ब र चीन र भारतमा १.४ अर्बभन्दा बढी पुगेको छ।

औद्योगिक क्रान्तिसँगै स्वास्थ्य सेवामा आएको सुधार, स्वास्थ्य सेवामा पहुँच, घट्दो शिशु मृत्युदरजस्ता कारणले पृथ्वीको जनसंख्या बढिरहेको राष्ट्रसंघले जनाएको छ।

सन् २०३० सम्ममा पृथ्वीको जनसंख्या साढे ८ अर्ब पुग्ने राष्ट्रसंघको प्रक्षेपण छ। तर, सन् १९५० पछि पहिलो पटक सन् २०२० मा जनसंख्याको वृद्धिदरमा एक प्रतिशतले गिरावट आएको थियो।

राष्ट्रसंघको प्रतिवेदनअनुसार सन् २०५० सम्ममा वृद्धि हुने आधा जनसंख्या केबल आठ देशको मात्रै हुने छ। जसमा पाकिस्तान, भारत, ग्रिस, कंगो, नाइजेरिया, तान्जानिया र इथियोपिया हुने छन्। 

यस्तै, धेरै देशमा जनसंख्या वृद्धिदर निकै न्यून हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ। यस अवधिमा युरोपका अधिकांश देशको जनसंख्या उल्लेख्य मात्रामा घट्ने भनिएको छ।

विश्वमै सबैभन्दा बढी जनसंख्या भएका प्रमुख १० देशहरू क्रमशः चीन, भारत, अमेरिका, इन्डोनेसिया, पाकिस्तान, नाइजेरिया, ब्राजिल, बंगलादेश, रुस, मेक्सिको हुन्। 

सन् २०२३ मा चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारत बन्ने राष्ट्रसंघको अनुमान छ।