कोशीमा एक साताभित्र सरकार गठन गर्न आह्वान

कोशी प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका आह्वान गरेका छन्।

काठमाडौँ– कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनको आह्वान गरेका हुन्।

कोशी प्रदेशका प्रमुख खापुङसमक्ष मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएका थिए। विश्वासको मत प्राप्त गर्ने सम्भावना नभएपछि विश्वासको मत लिनका लागि डाकिएको प्रदेशसभाको बैठकमै उनले आफूले पदबाट राजीनामा दिने बताएका थिए। सर्वोच्च अदालतको आदेशबाट ३० दिनअघि मुख्यमन्त्री बनेका कार्कीले संवैधानिक व्यवस्थाअनुसार शनिबारसम्म विश्वासको मत लिइसक्नुपर्ने थियो। गठबन्धन दलले विश्वासको मत नदिने र राप्रपा तटस्थ बस्ने रणनीति लिएपछि मुख्यमन्त्री कार्कीले राजीनामा दिँदै नयाँ सरकार गठनका लागि बाटो खोलिदिएका हुन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको मत आवश्यक पर्छ तर एमालेसँग ४० मत मात्र थियो।

“नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ः०० बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ”, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।