बझाङ केन्द्रबिन्दु भएर चार दिनमा १५ पटक भूकम्प

वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ।

काठमाडौँ– बझाङ केन्द्रबिन्दु भएर शनिबार ११ बजेर ४५ मिनेटमा ५.३ र १२ बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।

शनिबारको भूकम्प गत मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन्। 

वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ। शनिबारको भूकम्प मंगलबार गएको भूकम्पको परकम्प रहेको उनको भनाइ छ।

“सन् १५०५ यता त्यहाँ ठूलो भूकम्प गएको छैन। त्यसैले त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित भएको छ। दुई वटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो”, वरिष्ठ भूकम्पविद् कोइरालाले भने, “मंगलबार मझौला खालको भूकम्प गएकामा त्यसका परकम्प अझै आइरहेका छन्। अझै केही दिन यस्ता परकम्प आउन सक्छन्।”

सुदूरपश्चिम क्षेत्रमा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठूलै भूकम्प जान सक्ने अनुमान गरिएको छ। स–साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठूलो कम्पनको संकट टर्ने कोइराला बताउँछन्। 

भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रबिन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो। ५.३ म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

यस्तै, असोज १६ गते दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौँ, ४ बजेर ३१ मिनेटमा छैटौँ, पाँच बजेर १९ मिनेटमा सातौँ, पाँच बजेर ३८ मिनेटमा आठौँ पटक धक्का महसुस भएको थियो। 

असोज १७ गते राति १२ बजेर १६, १२ बजेर ५०, बिहान ४ बजेर २७ र ५ बजेर ४३ मिनेटमा भूकम्प गएको थियो। बिहीबार राति १० बजेर ५१ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो।