एशियाडमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…

खेलमा औधी रुचि भएकी अनुजा सानो छँदा छिमेकीकोमा गएर टिभीमा कबड्डी हेर्ने गर्थिन्। त्यसपछि छोरी धेरै गाउँ हिँड्न थाली भनेर आमाले घरमा टिभी किनेर ल्याएकी थिइन्।

झापा– एशियाली खेलकुदमा नेपालका लागि पहिलो पदक दिलाउने कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईका बुबा धनमान शुक्रबार जंगलमा भैँसी चराउँदै थिए। आमा तिलसरी पुरानो दराज इनामेलले रंगाउँदै थिइन्। 

हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो भएको सानो भुइँतले घरमा अनुजाको बुबा र आमा बस्छन्। नजिकै जलथल जंगल छ। जहाँ गाउँले गाईभैँसी र बाख्रा चराउन जान्छन्। हुलाकी राजमार्गबाट ५०० मिटर दक्षिणमा खेतीपाती गरेर अनुजाको परिवारले जीवन धान्दै आएको छ।

चीनको हाङझाउमा जारी १९औँ एशियाली खेलकुदमा नेपालले ऐतिहासिक कांस्य पदक जितेको छ। मेनुका राजवंशीको नेतृत्वमा रहेको नेपाली कबड्डी टोलीमा अग्लो कदकी २५ वर्षीया अनुजा सशक्त खेलाडी हुन्। गत सोमबार बंगलादेशलाई पराजित गरेपछि नेपाली टोलीले मुलुकलाई पहिलो पदक पक्का गरेको थियो। महिला कबड्डीमा नेपाली टोली पहिलोपटक सहभागी भएको हो। पदक दिलाउन अनुजाले प्रदर्शन गरेको खेल कौशलले उनका गाउँले खुशी छन्। 

सानो घर, थोरै खेतीपाती र भैँसीपालनको परिवेशले अनुजा संघर्ष गरेरै खेल जगत्‌मा गाउँबाट उदाएकी प्रतिभा हुन् भन्ने स्पष्ट झल्किन्छ। अनुजा पाँच वर्षको हुँदा नै बुबा धनमान वैदेशिक रोजगारीमा गए। आमा र हजुरआमा (बोजु)को ममतामा हुर्किएकी उनी सानैदेखि कबड्डी खेलप्रति आकर्षित थिइन्। अनुजाकी दिदी रोशनी वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रसमा छिन्। भाइ पनि विदेश जाने तयारीमा छन्।

शुक्रबार दिउँसो काठे बेराको भुइँतले घरका साँघुरा कोठामा खचाखच माल सामानसँगै अनुजाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाएका प्रमाणपत्र र जितेका पदक असरल्ल थिए। कोही पोखरा र काठमाडौँमा पाएका प्रमाणपत्र थिए भने कोही राजस्थान र मलेसियामा जितेका पदक थिए। अनुजाले पाएका पदक कोठाका भित्तामा टाँगिएका र कोही बाँसका कञ्चीमा बेरेर राखिएका थिए।  

“कबड्डी भनेपछि हुरुक्कै हुन्थी, भातै खान बिर्सिन्थी,” आमा तिलसरीले अनुजाको बाल्यकाल सम्झिँदै भनिन्, “स्कुल गयो कबड्डी खेल्यो, घर आयो कबड्डी खेल्यो अनि बेलुका भयो छिमेकीका घरमा गएर पनि टिभीमा कबड्डी नै हेरेको छ। पढ्नमा मन लगा छोरी, यसरी खेलामा लागेर भविष्य बिग्रिन्छ भनेर कति सम्झायौँ। तर, उसले मानिन। कबड्डी खेल्न छाडिन। अहिले देशको नाम राख्दा खुशी छौँ।”

अनुजालाई कबड्डीमा डोर्‍याउने प्रशिक्षक झापाकै रतिया राजवंशी हुन्। हाल भद्रपुर–६ का वडाध्यक्ष रहेका राजवंशी अखिल नेपाल कबड्डी संघ कोशी प्रदेश अध्यक्ष र कबड्डीका पूर्वराष्ट्रिय प्रशिक्षक हुन्। 

“१० वर्षअघि गाउँका स्कुलतिर खेलाडी हुन लायक विद्यार्थीको खोजीमा निस्किएको थिएँ,” राजवंशी भन्छन्, “जब म हल्दिबारीको पञ्चायत माविमा पुगेँ। अग्लो र बलिष्ठ कदकी छात्रालाई बोलाएर तिमीले अब कबड्डीको तालिम लिनुपर्छ भनेँ। तिनै छात्रा नै अहिलेकी अनुजा हुन्। मैले उनी भविष्यमा राष्ट्रकी होनहार प्रतिभा बन्ने छिन् भन्ने त्यतिबेलै कल्पना गरेको थिएँ। अहिले साँचो ठहरियो।”

अनुजाले घरदेखि टाढा रहेको पञ्चायत मावि र लक्ष्मी माविबाट माध्यमिक तहको शिक्षा हासिल गरेकी थिइन्। उसबेला गाउँका अरू साथीहरू टाइसुट लगाएर बोर्डिङ स्कुल पढ्थे। घरको आर्थिक अवस्था बलियो नहुँदा उनले पैदल धाएर सरकारी विद्यालयमा पढिन्। पढ्न र खेल्नबाहेक उनले गाईवस्तु पनि चराउनुपर्थ्यो, घाँस पनि काट्नुपर्थ्यो।

“स्कुल त आउँथिन्, तर उनको मन र मस्तिष्क कबड्डी खेलतिरै एकोहोरिएको थियो,” पञ्चायत माविका प्रधानाध्यापक कृष्णप्रसाद बनले भने, “पढाइ सामान्य भए पनि कबड्डीमा रुचि भने अचम्मकै थियो। चार–पाँचजना बलिया मान्छेलाई फाँड्न सक्ने उनको तागत थियो।”

आफ्नो विद्यालयमा पढेकी छात्राले अन्तर्राष्ट्रिय खेलकुदमा मुलुकको स्वाभिमान उँचो बनाउँदै पदक जितेकोमा विद्यालयमा खुशीको माहोल छाएको उनले बताए। “मैले पनि बंगलादेशसँगको खेल हेरेको थिएँ, साह्रै खुशी लाग्यो,” उनले भने। 

 

प्रअ बनका अनुसार अनुजाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डीमै पटक–पटक गोल्डमेडल जितेकी थिइन्। जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टोलीमा सामेल हुन पुगिन्। अहिले नेपाली सेनाको विभागीय टिम आर्मी क्लबमा आबद्ध छिन्।

एशियाली खेलकुदमा भाग लिन चीन जानुअघि अनुजाले घरकी बोजु ७२ वर्षीया मनमाया राईलाई फोनबाट आर्शिवाद मागेकी रहिछन्। जितेर आउनु भनेर आफूले आर्शिवाद दिएको मनमायाले सुनाइन्। अनुजा डेढ वर्षदेखि घर आउन नभ्याएको मनमायाको भनाइ छ। 

खेलमा बढी रुचि भएकी अनुजा सानो छँदा छिमेकीका घर गएर टिभीमा कबड्डी हेर्ने गर्थिन्। धेरै गाउँ हिँड्न थाली भनेर उनकै लागि भनेर आमा तिलसरीले टिभी किनेर ल्याइन्। “सबै गाउँलेले पनि खेलमा लागेर छोरी बिग्रिने भई भनेर डर देखाउँथे, हामी पनि कबड्डी खेलेर हातखुट्टा भाँचियो भने कसले पाल्छ नानी भनेर सम्झाउँथ्यौँ,” आमा तिलसरीले अनुजाको खेल अभिरुचिबारे भनिन्, “खेल खेलेरै नाम कमाउँछु भन्थी। उनको सपना आज पूरा भएको छ। हामीले खेलबाट पनि संसारभरि चिनिन सकिने रहेछ भनेर बुझेका रहेनछौँ।”

नेपाली कबड्डी टोलीले चीनमा पदक जितेपछि अनुजाको खेलको फुटेज र अन्तर्वार्ता सञ्चारमाध्यममा छाएका थिए। पदक जितेको खबर पहिलोपल्ट अनुजाको भाइले बुबा धनमानलाई सुनाएका थिए। गाउँलेले मोबाइलमा युट्युबमार्फत अनुजाको अन्तर्वार्ता देखाएका थिए। पछि टेलिभिजन र रेडियोमा पनि अनुजाको नाम सुन्दा गौरव लागेको धनमानले सुनाए।

“म रोजगारीका लागि विदेश गइहाले, उसलाई सानो छँदा आमा र बोजुले नै रेखदेख गरे,” अनुजाको खेल सफलताबारे बुबा धनमान भन्छन्, “हाम्री छोरी अब सम्पूर्ण नेपालीकै प्यारी छोरी भएकी छन्। यसमा हामी ज्यादै खुशी छौँ।”