६० किलो सुन प्रकरणमा २५ प्रतिवादीलाई थुनामा पठाउन आदेश, एक जनासँग ५ लाख धरौटी माग

काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको छ।

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको हो।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार थुनछेक बहसपछि २५ जनालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीका छोड्न आदेश भएको छ। भन्सार एजेन्ट रूक्मिना सुब्बासँग पाँच लाख धरौटी माग गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट बाहिरिएको ६० किलो अवैध सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा भदौ ३१ गते २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको थियो। तीमध्ये २६ जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेस गरिएको थियो भने ३ जना फरार छन्।

अदालतले चिनियाँ नागरिकहरू जीक्वाङ लिन, याओ पुचेङ ‘एलेक्स’, टीयान मी, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई र ली वेन सुङ्ग, भोजपुर अरुण गाउँपालिका–४का हर्कराज राई, बेल्जियन नागरिक दावा छिरिङ, भारतीय नागरिक थुप्तेन छिरिङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।

अदालतको आदेशअनुसार भन्सार अधिकृत सन्तोष चन्द, गणेशकुमार पौडेल, नायब सुब्बा वीरेन्द्र नेपाली, विमानस्थल भन्सार कार्यालयका जाँचकी कुमार ढकाल र भन्सारमा एक्स–रे हेर्ने नायब सुब्बा सरोज श्रेष्ठ, भन्सार एजेन्टहरू राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, दोलखाको मेलुङ गाउँपालिका–३का रामकुमार भुजेल, दिलिप भुजेल, बुटवलका सुमन खरेल, सुनचाँदी व्यवसायी शिवकुमार सर्राफ, किशोर बस्नेत, कृष्ण कुमार श्रेष्ठ, पुस्करराज भट्टलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले ब्रेक–शुमा ल्याइएको सुन बरामद गरेको थियो। ब्रेक–शुभित्र लुकाएर ल्याइएको सुनको तौल यकिन गर्दा ६० किलो ७१६ ग्राम भएको थियो।