चीनले ताइवान कब्जा गर्ला भन्ने कल्पना गरेको छैनः जो बाइडेन

ताइवान मामिलामा अमेरिकाको बोली र व्यवहार स्थिर हुनुपर्ने चीनको धारणा छ।

तस्वीर: एएफपी

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँग नयाँ शीतयुद्ध नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जी २० सम्मेलनअघि चिनियाँ राष्ट्रपति सि चिनफिङसँग ३ घण्टा लामो भेटवार्ताका क्रममा बाइडेनले यस्तो प्रतिबद्धता व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भेटवार्ताका क्रममा बाइडेनले चीनले ताइवानलाई नियन्त्रणमा लिने कुरा आफूले कल्पनासमेत नगरेको बताए। “अब नयाँ शीतयुद्धको आवश्यकता छैन भन्नेमा विश्वस्त छु। मैले समकक्षी सिसँग थुप्रै पटक भेटिसकेको छु र हामी यस विषयमा स्पष्ट छौँ," बाइडेनले भने "चीनका तर्फबाट तत्काल ताइवान कब्जा योजना बनेको छजस्तो मलाई लाग्दैन। चीन र ताइवान मामिलाको शान्तिपूर्ण समाधान होस्।”

उनले ताइवान मामिलामा अमेरिकी नीति परिवर्तन नहुने पनि स्पष्ट पारे। तर, चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले तत्काल प्रतिवाद गर्ने विषय बाइडेनले दोहोर्‍याएको बीबीसीले उल्लेख गरेको छ।

द्विपक्षीय समस्या समाधानका लागि महत्त्वपूर्ण वार्ता गर्न उच्चस्तरीय संयन्त्र बनाउने दुवै पक्ष सहमत भएका छन्। साथै, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन चाँडै नै चीनको भ्रमण गर्ने भएका छन्। 

यता, चिनियाँ राष्ट्रपति सिले वार्तामा ताइवान ‘चीनको मूल हितको केन्द्रबिन्दु’ भएको र यसको 'रातो घेरा'लाई पार गर्न नहुनेमा जोड दिएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ताइवान मामिलामा अमेरिकी बोली र व्यवहार स्थिर हुनुपर्ने चीनको आशय छ।

तर, ताइवान मामिलामा अमेरिकी धारणा र व्यवहार फरक रहँदै आएको छ। अमेरिका र चीनको सम्बन्धको आधारशीला ‘एक चीन नीति’ भए पनि मध्यमार्गी बाटो अपनाउँदै अमेरिकाले बेइजिङलाई मात्रै चिनियाँ सरकार मान्दै आएको छ।

ताइवानसँग नजिकको सम्बन्ध रहेको अमेरिकाले ताइवानलाई हतियारसमेत बेच्दै आएको छ। प्रतिरक्षासम्बन्धी कानूनले टापु देश ताइवानलाई आफ्नो सुरक्षाका लागि हतियार खरिद गर्न पाउने अधिकार दिएको छ। आफूलाई स्वतन्त्र राष्ट्र दाबी गर्ने ताइवानले अमेरिकालाई आफ्नो मित्रराष्ट्र मान्छ। चीनको आपत्तिका बाबजूद ताइवानसँग फरक खालको औपचारिक सम्बन्ध स्थापना गरिरहेको अमेरिका र चीनबीच यसै विषयलाई तनाब बढ्ने गर्छ।

पछिल्ला सातामा चीनले ताइवानमाथि आक्रमण गरि नियन्त्रणको योजना बनाएको भन्दै सशंकित अमेरिकाले त्यसो नगर्न चेतावनी दिँदै आएको थियो। चीनले भने ताइवान मामिलाबाट परै रहन अमेरिकालाई चेतावनी दिँदै आएको थियो। यसै परिप्रेक्षमा दुई मुलुकका राष्ट्रप्रमुखबीच अपेक्षित वार्ता भएको हो।

सि र बाइडेनको वार्तामा रूस युक्रेन, उत्तर कोरिया, हङकङ, तिब्बत र मानवअधिकारसहित विभिन्न समसामयिक विषयबारे गहन छलफल भएको बीबीसीले उल्लेख गरेको छ।

रुस-युक्रेन मामिलामा चीनको तटस्थ भूमिकालाई धेरैले रुसको समर्थनका रूपमा अर्थ्याउने गरेका छन्। तर, चीनले यसलाई अस्वीकार गर्दै आएको छ। शान्तिको पक्षमा रहेको बताउने चीनले कठिन समस्याको सहज समाधान हुन सक्दैन भन्दै आएको छ। युक्रेनमा आणविक हतियार प्रयोगको विषय भने दुवै मुलुकलाई अस्वीकार्य रहेको बताएका छन्।

बाइडेनले उत्तर कोरियाको आणविक हतियार परीक्षणबारे पनि चिनियाँ राष्ट्रपति सिसँग छलफल ‍गरेको बताए। उत्तर कोरियाबारे बोल्दै बाइडेनले भने "चीनले उत्तर कोरियालाई नियन्त्रण गर्छ भन्न कठिन छ। तर, प्योङयाङलाई नयाँ आणविक हतियार परीक्षणबाट पछि हट्न चीनले भूमिका खेल्न सक्छ।"

सिंगापुरको नेशनल विश्वविद्यालयका राजनीतिशास्त्री लान चोङ भन्छन्, “दुई मुलुकबीच सम्पन्न वार्तालाई सकारात्मक रूपमा लिन सकिन्छ। धेरै विषयमा दुई मुलुकका समान लगाव भएको मान्यताका कारण पनि एकअर्काको सम्बन्धलाई नियन्त्रण बाहिर जान नदिने प्रयास हुने छ। तर, म अझै पनि सशंकित छु। किनकि अमेरिका र चीनबीचको उतारचढाव जतिबेला पनि घटबढ हुन सक्छ।”