प्रधानमन्त्रीसँग एमसीसीका सीईओको भेट, द्विपक्षीय सहकार्यबारे छलफल

प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको सो भेटमा नेपालमा कार्यान्वयन चरणमा रहेको एमसीसी परियोजनाका सम्बन्धमा समेत छलफल भएको छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ)एलिस अलब्राइटले शिष्टाचार भेट गरेकी छन्। 

प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। 

सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेको एमसीसी परियोजनाका सम्बन्धमा समेत छलफल भएको थियो। आइतबार नेपाल आएकी बलब्राइटले एमाले अध्यक्ष केपी शर्मा ओली, भौतिकमन्त्री प्रकाश ज्वाला लगायतसँग भेटवार्ता गरिसकेकी छन्।

एमसीसी परियोजना अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि भदौ १३ बाट कार्यान्वयनमा गएको छ।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार अलब्राइटले नेपाल–अमेरिकाबीच द्विपक्षीय साझेदारी बढाउ र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल शुरूआतको उपलक्ष्यमा नेपाल भ्रमण गरेकी हुन्।