म्याद सकिएको मदिरा बेच्ने पसललाई २ लाख जरिबाना

अनुगमनका क्रममा काठमाडौँ महानगर वडा नं २६ स्थित न्यु भीम स्टोरले ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेको थियो।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले म्याद सकिएको मदिरा बिक्री गर्ने पसललाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ। 

अनुगमनका क्रममा म्याद सकिएको मदिरा बेचेको पाइएपछि वडा नं २६ स्थित न्यु भीम स्टोरलाई जरिबाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा. अवधेश झाले बताए। 

सोमबार अनुगमनका क्रममा देवदास मानन्धर सञ्चालक रहेको उक्त पसलले ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेको थियो। बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ। 

महानगरले बजारलाई थप व्यवस्थित पार्न साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ देखि नियमित अनुगमन गर्दै आएको छ। 

विगतका वर्षमा चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले केही समय अघिदेखि नै अनुगमन शुरू गरेको हो।