विश्वकपको ‘डार्क हर्स’ बन्नसक्छ सर्बिया

विश्वकपमा समूह ३ मा परेको सर्बियाले लिग चरणमै ब्राजिल, स्विट्जरल्यान्ड र क्यामरुन जस्ता बलिया टोलीसँग खेल्नु पर्नेछ। यो समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ।

तस्वीर : सर्बीया फुटबल

काठमाडौँ– फुटबलप्रेमीका लागि विश्वकपका खेल जत्तिकै चासो ‘ड्र’ को हुने गर्छ। ‘ड्र’ हेरेरै सम्भावित विजेता वा बलियो टोली को हो? भविष्यवाणी शुरू हुन्छ।  

यसपटकको विश्वकप समूह विभाजनको ‘ड्र’मा पोट ३ बाट बाहिर निस्केको सर्बिया कठिन मानिएको समूह ‘जी’मा परेको छ। सर्बियाले लिग चरणमै ब्राजिल, स्विट्जरल्यान्ड र क्यामरुनजस्ता बलिया प्रतिस्पर्धीसँग खेल्नु पर्नेछ। यो समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ।

यद्यपि, सर्बियाका नेमान्जा माटिक, अलेक्जान्डर कोलारोभ र ब्रानिस्लाभ इभानोभिच जस्ता पूर्वस्टारले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिसकेका छन्। तर, बलियो आक्रमण र अनुभवी मिडफिल्ड भएको सर्बियाले कतारमा उत्कृष्ट नतिजा निकाल्ने अपेक्षा गरिएको छ।

लगातार पाचौँ पटक युरोकप गुमाएको सर्बिया लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन सफल भएको हो। र, सर्बिया विश्वकपका आठ छनोट खेलमा अपराजित रहँदै समूहको शीर्षमा रह्यो। छनोट समूहका दुई खेलमा मात्रै बराबरी खेलेर सर्बिया ‘डार्क हर्स’ का रूपमा उदाएको छ। उसले छनोट खेलमध्ये पोर्चुगलसँग २–२ र रिपब्लिक अफ आइल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो।

टोलीलाई पूर्व युगोस्लाभियाका मिडफिल्डर ड्रागोन स्टोकोभिचले प्रशिक्षण गरिरहेका छन् । उनले १९९८ को विश्वकप र युरोकप २००० मा टोलीको कप्तानी गरेका थिए। विश्वकप छनोट हुनुअघि नै ड्रागोनले टोलीको नेतृत्व गरेदेखि सर्बियाले २० मध्ये तीन खेल मात्र हारेको छ। 

तर, अझ प्रभावशाली कुरा के छ भने सर्बियाले अनुभवहीन डिफेन्सको बाबजुद ती खेलमध्ये चारमा मात्र दुई गोल खाएको छ। अझै, यो हेर्न बाँकी छ, कतार विश्वकपमा ब्राजिलजस्तो बलियो टोलीविरुद्ध सर्बिया कसरी टिक्छ?

प्लेअर टु वाच
एलेक्सान्डर मिट्रोभिच
फरवार्ड

प्रिमियर लिग फुलहमका २८ वर्षीय स्टार फरवार्ड मिट्रोभिच सर्बियाका उच्च गोलकर्ता हुन्। सन् २०१३ मा सर्बियाको सिनियर टोलीमा डेब्यू गरेका मिट्रोभिचले ७६ खेलमा ५० गोल गरिसकेका छन्। उनले विश्वकप छनोटको ८ खेलमा ८ गोल गरेका थिए। जसमा अन्तिम क्वालिफायरमा नाटकीय रूपमा खेलको ९०औँ मिनेटमा पोर्चुगलविरूद्ध गोल गर्दै सर्बियालाई समूह विजेता बनाएका थिए।

मिट्रोभिच देशबाट मात्रै होइन, व्यवसायिक खेल करिअरमा पनि उत्तिकै लयमा छन्। उनले फुलहमका लागि ४४ लिग खेलमा ४३ गोल गरेका छन्। मिट्रोभिच यस सिजन प्रिमियर लिगमा उच्च लयमा छन्। १५ खेलमा ९ गोल गरिसकेका उनी उच्च गोलकर्ताको सूचीमा चौथो स्थानमा छन्।

०००
युगोस्लाभियाको नामबाट पहिलो विश्वकपमै सहभागिता जनाएको युरोपेली टोलीले सर्बियाको नाममा भने पहिलो पटक २०१० मा विश्वकप खेलेको हो। त्यसबेला समूह चरण खेलेर घर फर्किएको टोली ब्राजिलमा विश्वकपमा भने छनोट चरण पार गर्न सकेन।

सन् १९३० को पहिलो संस्करणमा चौथो स्थान हात पारेको युगोस्लाभिया १९५० मा समूह चरणबाट बाहियो। सन् १९५४ र १८५८ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। १९६२ मा चौथो भयो। त्यसपछिका दुई संस्करणमा छनोट हुन सकेन। १९७४ मा दोस्रो चरण पुग्यो। १९७८ मा फेरि छनोट हुन सकेन।

यसैगरी १९८२ मा समूह चरणबाट बाहिरिएको टोली १९८६ मा छनोट चरण पार गर्न सकेन। १९९० मा क्वार्टरफाइनलमा स्थान बनायो। १९९४ को विश्वकपमा भने युगोस्लाभिया निलम्बनमा थियो। १९९८ मा अन्तिम १६ मा स्थान बनाउन सफल भयो। २००२ मा फेरि छनोट हुन सकेन। २००६ र २०१० मा टोली समूह चरणबाटै आउट भयो। 

२०१८ को रसिया विश्वकपमा सर्बियाले स्विट्जरल्यान्डविरुद्ध प्रारम्भिक अग्रता लिएको थियो। तर, दोस्रो हाफमा दुई खाँदै हारबाट शुरूआत गरेको थियो। सर्बियाको हारको सिलसिला यतिमै रोकिएन। दोस्रो खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलसँग २–० ले स्तब्ध बन्यो। तर, अन्तिम खेलमा २०१४ को विश्वकपमा क्वार्टरफाइनलको यात्रा तय गरेको कोस्टा रिकालाई १–० ले पराजित गरेको थियो।

यस पटक सर्बियाले २०१८ को रसिया विश्वकपमा झै ब्राजिल र स्विट्जरल्यान्डजस्तो पुराना प्रतिद्वन्दीको चुनौतीसँग सामना गर्नुपर्नेछ।स्विट्जरल्यान्डसँग खेल्नुअघि सर्बिया क्यामरुनसँग तीन अंक खोज्नेछ। ब्राजिलसँग कम्तिमा बराबरीको नतिजा निकाल्ने लक्ष्य राखेको सर्बियाको नकआउट चरणमा पुग्ने सम्भावना स्विसविरुद्धको खेलले निर्धारण गर्नेछ। 

यद्यपि, ब्राजिलका पूर्वस्टार रिकार्डो काकाले सर्बिया समूह चरणको खेलदेखि नै उपाधि उलटफेर गर्न सक्ने ‘डार्क हर्स’ रूपमा हाबी हुने आँकलन गरेका छन्। “ब्राजिल कतार विश्वकपको प्रमुख दाबेदार मध्ये एक हो। यस टोलीमा युवा र अनुभवको सही मिश्रण छ। अन्य मुख्य दाबेदारहरू अर्जेन्टिना र फ्रान्स हुन्। जबकि सर्बिया एक आश्चर्यजनक टोली हुनसक्छ”, उनले भनेका छन्।

सर्बियाको टोली
गोलकिपर : मार्को डिमिट्रोभिक, प्रेड्राग राजकोभिच, भान्जा मिलिनकोभिच साभिच
डिफेन्डर : निकोला मिलेनकोभिच, स्टेफान मिट्रोभिच, स्ट्रहिन्जा पाब्लोभिच, मिलोस भेलजोभिच, फिलिप एमलाढेनोभिच, सरदान बाबिक, सट्रहिन्जा एराकोभिच
मिडफिल्डर : फीलिप कोस्टिक, नेमान्जा गुडेज, नेमान्जा माक्सिमोभिच, नेमान्जा राडोनजिक, फिलिप डुरिसिच, सर्जेज मिलिनकोभिच साभिच, सासा लुकिस, आन्द्रिय जुभकोभिच, डार्को लाजोभिच, मार्को ग्रजिच, उरोस रासिस
फरवार्ड : डुसान टाडिक, अलेक्जान्डर मिट्रोभिच, लुका जोभिक, डुसान भ्लाहोभिच, इभान इलिच

–एजेन्सीकाे सहयाेगमा