माधव नेपाल भन्छन्– देश र जनताको हितका निम्ति एकीकृत समाजवादी अग्रपंक्तिमा उभिन्छ

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देश र जनताको हितका निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताएका छन्। 

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश र जनताको हितका निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताएका छन्। अध्यक्ष नेपालले समाजवादी जागरणको माध्यमबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार’ कार्यक्रम शुरू गर्न लागेको स्पष्ट पारे। 

असोज १४ गतेबाट एकीकृत समाजवादी पार्टीले झापाको मेची नदी किनारबाट ‘समाजवादी अभियान’को शुभारम्भ गर्दै छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरबाट पहिलो तयारी टोलीलाई बिदाइ गर्दै अध्यक्ष नेपालले अभियानले आमजनतामा समाजवादप्रति उत्साह ल्याउने र पार्टी कार्यकर्तापंक्तिमा पनि जागरण ल्याउने विश्वास व्यक्त गरे। 

“विविध हिसाबबाट जनतामा एउटा नयाँ किसिमको उत्साह, कार्यकर्तापंक्तिमा नयाँ किसिमको जागरण बढाउने उद्देश्यबाट अब यो देशमा समाजवादको निम्ति, जनताको हित र कल्याणको निम्ति, देशको अस्तित्व र स्वाभिमानको निम्ति र देशका आजसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्ने कुरामा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अग्रपंक्तिमा उभिन तयार छ भन्ने सन्देश दिने गरी हामीले यो कार्यक्रमको आयोजना गरेका छौँ,” उनले भने।

अध्यक्ष नेपालले अभियानको क्रममा विभिन्न जिल्लामा विभिन्न कार्यक्रम आयोजना हुने र त्यसले समाजवादको सन्देश आमजनताको घरदैलोमा पुर्‍याउने बताए।अभियानका क्रममा पार्टीको सदस्यता बिस्तारको काम पनि हुने उनको भनाइ छ। 

उनका अनुसार अभियान असोज २८ गते महाकाली नदीको किनारामा पुगेर समापन हुनेछ। अभियानका क्रममा रोजगारी, सुशासन र समृद्धिको पक्षमा नारा घन्काउने, समाजवादप्रतिको पार्टीको धारणाहरू आमजनतालाई जानकारी गराउने लगायतका जनपक्षीय कामहरू हुने पनि एकीकृत समाजवादीले जनाएको छ।