गलत काम भइरहेको देख्दादेख्दै पनि जब कोही बोल्दैन तब बौद्धिक मान्छेहरूको खडेरी परिरहेझैँ लाग्छ। अज्ञानता, गल्ती र अन्यायविरुद्ध नबोल्नु त्यस्ता कामको समर्थन गर्नुजत्तिकै गलत हो।
बौद्धिक बन्न वैज्ञानिक सोच चाहिन्छ, तार्किक मन चाहिन्छ। धेरै पढ्दैमा र ठेलीका ठेली किताब रट्दैमा कोही बौद्धिक बन्दैन। जोकोही बौद्धिक बन्ने अभिलाषा राख्छ, उसले गहन अध्ययन गर्नै पर्छ। दृढ र कठोर अनुशासनमा बस्नु पर्छ। कसैको अभिनय होइन, आफू नै संकल्पित र समर्पित भएर स्वाध्ययनमा तल्लीन हुनुपर्छ। वैज्ञानिक खोज, अनुसन्धान, प्रयोग, परीक्षणमूलक कुरालाई मात्र आफ्नो विचारको आधार मान्नुपर्छ। अन्धविश्वास, हठधर्मितालाई तिलाञ्जलि दिन सक्नुपर्छ। आफ्नो वरिपरिको पर्यावरण, सामाजिक परिवेश र विश्वमा घटिरहेको आर्थिक, सामाजिक, वैज्ञानिक र प्राविधिक गतिविधि, अनुसन्धानसँग पनि त्यत्तिकै सूचित र अवगत भइरहनु आवश्यक हुन्छ। त्यसो हुँदा बौद्धिकहरू सधैँ अल्पमतमा हुन्छन्, तर त्यसो हुँदाहुँदै तिनले समाजलाई मार्गदर्शन गरिरहेका हुन्छन्।
बौद्धिक हुन के आवश्यक पर्छ भनेर च्याट जीपीटीमा अंग्रेजी भाषामा सोधिएको प्रश्नमा जीपीटीले सिर्जना गरेको उत्तरसहितको धारणा हो यो।
गलत काम भइरहेको देख्दादेख्दै पनि जब कोही बोल्दैन तब नेपालमा बौद्धिक मान्छेहरूको खडेरी परिरहेझैँ लाग्छ। अज्ञानता, गल्ती र अन्यायविरुद्ध नबोल्नु त्यस्ता कामको समर्थन गर्नुजत्तिकै गलत हो। तटस्थ हुने नाममा अन्याय र गलत कदमविरुद्ध नबोल्दा त्यसले उल्टै अपराधीहरूलाई प्रोत्साहित गर्छ।
विज्ञ र बकम्फुस
केही समयअघि एक स्नायु चिकित्सकसँगको वार्तालाप सामाजिक सञ्जालमा हेर्दै थिएँ। वार्ता स्वतःस्फूर्त थियो, अन्तर्वार्ता लिने र दिने दुवैमा वाक्पटुता देखिन्थ्यो। ज्ञानगुनका कुरा भइरहेकाले रमाइलो थियो। चिकित्सकले धेरैजसो प्रामाणिक र तर्कसंगत कुरा गरेझैँ लाग्यो। केही ठाउँमा भने उनी अपडेटेड (अद्यावधिक) रहेनछन् भन्ने लाग्यो। तर वार्ताका क्रममा उनी बिस्तारै बहकिन थाले, आफ्नो विषयबाहिर जान थाले। उनी भन्न थाले, "हाम्रा कतिपय चिकित्सा शास्त्रका प्रश्नको उत्तर अध्यात्म-विज्ञानमा पाइन्छ। आधुनिक न्यूरोसाइन्सले पत्ता लगाउन र व्याख्या गर्न नसकेको कुरा हाम्रै ऋषिमुनिहरूले गरिसकेका थिए" आदि आदि। हुँदाहुँदा उनले चक्र र कुण्डलिनीको समेत चर्चा गर्न भ्याए, जबकि चक्र, कुण्डलिनी र ज्योतिष सफेद झूट हुन्। धेरै मान्छेले यस्ता कुरामा श्रद्धा र विश्वास राख्लान्, तर यी कुराहरूको गम्भीर अध्ययन गर्दा यी अप्रमाणित हुन्छन्।
डाक्टर, विश्वविद्यालयका प्राध्यापक या कुनै 'प्रतिष्ठित ओहदा'मा रहेका मान्छेले जे बोले पनि सबैजसो समाजमा त्यसलाई निःसन्देह स्विकारिन्छ। चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल आदिलाई बौद्धिक व्यक्तिका रूपमा लिइन्छ। उनीहरू समाजमा माथिल्ला श्रेणीका नागरिकका रूपमा सम्मानित रहन्छन्। खासगरी आधुनिक चिकित्सकले जेसुकै भने पनि बहुसंख्यक मान्छेले सहजै पत्याउँछन्। चिकित्सा अभ्यास गर्नेहरूलाई त झन्डैझन्डै देवताझैँ ठानिन्छ।
त्यसो हुँदा त्यस्ता व्यक्तिप्रति हत्तपत्त शंका गर्ने अभ्यास छैन। तिनले बोलेको कुरामाथि खासै प्रतिप्रश्न गरिँदैन। विडम्बना, थोरै मात्र पेसेवरहरू आफ्नो व्यवसाय, ज्ञान र सीपको परिधिभित्र परिमित हुन चाहन्छन्। आफ्नो क्षेत्र बाहिरतिर बहकिन्छन्, जुन कुराले उनीहरूमा आफ्नो पेसाप्रति निष्ठा नभएको पनि संकेत गर्छ।
चिनजानका एक जना सुपरिचित डाक्टर छन्, सत्यसाइ नामक भारतीय 'गडम्यान'का भक्त। उनी साई बाबाको भारतस्थित आश्रममा बर्सेनि पुग्छन्। तिनको पूजाकोठामा साई बाबाको तस्वीर छ। उनी भन्छन्, "म हरेक दिन बिहान चार बजे उठेर साइको ध्यान गर्छु। प्रत्येक दिन बाबाको तस्वीरबाट विभूति निस्कन्छ।" जबकि विभूति (खरानी) निस्कने कुरा पूर्णतः झूट हो, उनले दाबी गरेको कुरा गलत हो भनेर 'अन द स्पट' प्रमाणित गर्न सकिन्छ। तर पनि उनी भेटघाटका क्रममा साइका तथाकथित चमत्कार र व्यक्तित्वको बखान गर्छन्। उनका आफन्त र बिरामी उनका कुरा नतमस्तक भएर सुन्छन्। प्रश्न र शंका नगर्ने समाज उनका लागि गजबै छ।
आफ्नो पेसाकै कारण उनले कतिलाई साई मार्गमा तान्न सफल भएका छन्। 'ठूला मान्छे'लाई भगवान् दर्शन सहज हुने मान्यता पनि छ हाम्रो समाजमा। त्यसमाथि, कर्मकाण्डका लागि चाहिने खर्च पनि यस्तै मान्छेहरूसँग हुन्छ। बजारिया साधुहरूले पनि निम्छरा, गरिब र दान गर्न नसक्नेहरूलाई आफ्ना दरबारमा सहजै पहुँच नदिने भएपछि तिनका प्रचारकहरूमा हैसियतवाला नै पर्नु स्वाभाविक भयो। यिनीहरू आफ्ना बिरामीलाई जाँचेर औषधि दिँदासमेत 'साइको भजन पनि गाउनु चाँडै रोग निको हुन्छ' भन्न बेर लगाउँदैनन्।
भौतिक विज्ञान पढेका डाक्टरहरू नै अन्धविश्वासका प्रचारक बनेपछि शिक्षा र चेतनामा थोरै पहुँच भएका न्यून वर्गका मान्छेमा कस्तो प्रभाव पर्ला? बिरामीहरू पनि औषधिभन्दा पनि आस्थामा भर पर्ने खालका छन्। चिकित्सकहरूमा इमानदारी र पेसागत निष्ठा कम भएपछि बिरामीहरूले दुःख पाउनु अस्वाभाविक होइन।
पढ्ने विज्ञान, फैलाउने अज्ञान
अमेरिकामा भारतीय मूलका एक चिकित्सक छन् दीपक चोप्रा। उनी आफ्नो व्यावसायिक पेसाप्रतिको निष्ठाबाट बाहिरिँदै आधुनिक खोज र अनुसन्धानात्मक वैज्ञानिक पद्धतिको निचोड छोडेर निराधार 'वैकल्पिक चिकित्सा' पद्धतिलाई अपनाउँदै समाजलाई पथभ्रस्ट पारिरहेका छन्। आधुनिक चिकित्सकले अध्यात्म र रहस्यको कुरा गर्नेबित्तिकै पहिल्यै त्यसबाट प्रभावितहरू झनै प्रभावित नहुने कुरा भएन। जनसाधारणको यही कमजोरी पहिल्याएका उनी 'क्वान्टम हिलिङ'बाट विभिन्न प्रकारको रोग निको पार्न सक्ने गफ लडाउँछन्। क्यान्सरजस्तो रोग पनि निको पार्न सकिने दाबी गर्छन्, जबकि उनको कुरा चिकित्सा विज्ञानले स्विकार्दैन।
उनको तथाकथित क्वान्टम हिलिङलाई मेडिकल र वैज्ञानिक समुदायले छद्म विज्ञान भनेको छ। विख्यात विकासवादी-जीवशास्त्री रिचर्ज डकिन्सले त चोप्राको 'क्वान्टम शब्दलाल'लाई स्पष्ट रूपमा जादु मन्त्रको संज्ञा दिए। तर चोप्रा विज्ञानसँग बकम्फुसे गफ घोलेर दुनियाँलाई पिलाइरहेका छन्। बजारमा अनेकौँ किताब, प्रवचन र ध्यानसम्बन्धी सामग्री बेचेर पैसामाथि पैसा कमाइरहेका छन्। लाखौँ मान्छेलाई अज्ञानता र अविज्ञान बेच्न सफल भइरहेका छन्। उनले त्यसो गर्दा वास्तविक रोगीहरू भने आवश्यक औषधि सेवन र उपयुक्त उपचारको अवसरबाट वञ्चित भइरहेका छन्। धेरैको मानसिक र शारीरिक स्वास्थ्य बिगार्नमा उनी त्यसरी योगदान गरिरहेका छन्।
रामदेव र श्री २ रविशंकरलगायतका यस्तै 'छद्म उपचारक'का कारण नेपाल र भारतका धेरै मान्छे भुलभुलैयामा परेका छन्। एक पटक नेपालमा भारतीय जोगी रामदेवको यति असर देखिन्थ्यो कि बाटो हिँड्दा या बस चढ्दा मान्छेहरू दुवै हातका नङ रगडिरहेका देखिन्थे। नङ रगड्दा कपाल कालो र चम्किलो हुन्छ भन्ने रामदेवको तर्क थियो, जबकि उनकै कपाल र दारी फुलेको छ। अनुलोम विलोम गरेर आखाँकानको समस्या ठीक हुने दाबी गर्ने उनकै आँखा औसत छैन। भारतमा यस्ता धेरै छद्म वैज्ञानिक र उपचारक छन्, जसले चिकित्सा प्रणालीबारे गलत धारणा र विश्वास फैलाएका छन् र आफ्नो औषधि बिकाउन कैयौँ रोगीहरूको जिन्दगी सखाप पारेका छन्।
कतिसम्म भने रामदेवको हरिद्वारस्थित आश्रममा गोमूत्रका लागि मान्छेहरू घण्टौँ लाइनमा बस्छन्। तर प्रयोगशालामा परीक्षण गर्दा गाई, भैँसी या गोरुको पिसाबमा पाइने तत्त्व प्राय: एउटै हुन्छ। बरु गत अप्रिल महिनामा सार्वजनिक एक प्रतिवेदनमा गाईको पिसाबमा १४ प्रकारका विषाक्त ब्याक्टेरिया हुने जनाइएको थियो। भारतीय भेटेरिनरी रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको सो प्रतिवेदनले त्यस्तो मूत्र मानव स्वास्थ्यका लागि हानिकारक रहेको जनाएको थियो। भारतमा गोमूत्र कुनै नियमनबिना अनेक रोग निको हुने भन्दै बेचिने गरेको छ। धेरैजसो मान्छेले खास पर्व र कर्मकाण्डमा श्रद्धाका साथ गोमूत्र पिउँछन्।
कोभिड-१९ को समयमा कोरोना रोकथामका लागि भन्दै रामदेवको 'पतञ्जलि औषधालय'ले कोरोनिल नामक छद्म औषधl बजारमा ल्याएर दुनियाँलाई उल्लु बनायो। तर जब जब यिनका कर्तुत र बेइमानीका कुरा बाहिर आउँछ, मोदी नेतृत्वको बीजेपी सरकारले बचाउने गरेको छ।
इन्जिनियरिङमा 'वास्तु'
सिभिल इन्जिनियरिङ विशुद्ध विज्ञान हो। यससँग सम्बन्धित काम बिल्कुलै वैज्ञानिक प्रणालीद्वारा गरिन्छ। तर आजकल इन्जिनियरिङमा वास्तुशास्त्र मिसाएर बेच्ने नयाँ अवतारीहरू मौलाएका छन्। तिनीहरूलाई थाहा छ, आजको युगमा आरसीसी बिल्डिङ बनाउनेसँग टन्न पैसा हुन्छ, त्यो धुत्न कुनै न कुनै विधि चाहिइहाल्यो। त्यसो भएपछि वास्तुशास्त्र नै आधुनिक इन्जिनियरिङको एउटा अंग हो भन्दै भ्रम छर्नेहरू पनि छन्। पैसाका अघि महादेवका तीन नेत्र!
केही पहिले आफन्तको घर जाँदा तिनको भान्साकोठामा निकै परिवर्तन देखेँ। पुरानो संरचना तोडफोड गरिएको थियो। 'वास्तुशास्त्र बमोजिम' पूजाकोठामा आमूल परिवर्तन गरिएको थियो। मैले सोध्दा आफन्तले भने, "एक जना वास्तुविज्ञ-इन्जिनियर आउनुभएको थियो। उहाँले पहिले भान्साकोठाको संरचनाका कारण घरमा मान्छे बिरामी हुने र कलह हुने बताएपछि नयाँ संरचना नबनाई धरै भएन।'
आफन्तको आर्थिक अवस्था पहिल्यै कमजोर छ। स्वास्थ्य पहिलेदेखि नै कमजोर भएकाले उहाँलाई 'चस्का' पस्नु अस्वाभाविक थिएन, त्यसकै फाइदा कुनचाहिँ आधुनिक ठगले उठायो, आफ्नो विज्ञतामा अन्धविश्वास घोलेर मेरा आफन्तलाई बेवकुफ बनायो।
मेरै घरमा पनि एक 'वास्तु विज्ञ इन्जिनियर'लाई एक छिमेकीले ल्याइपुर्याए। मलाई ती वास्तुवालाले मेरो घरको संरचनामा दोष देखाउने सम्भावना बुझेर शीघ्र र सुटुक्क उनलाई सचेत गराएँ, "हेर्नुस्, म यस्ता फजुल कुरामा पटक्कै विश्वास गर्दिनँ। तपाईंले जेसुकै ठहर गरे पनि चुप लागिदिने कष्ट गर्नुहोला।" धन्य, उनी चुप लागे। नत्र म आफू भौतिकवादी भए पनि घरका अन्य सदस्यको फरक धारणा हुन सक्थ्यो, जसले गर्दा मलाई पनि आर्थिक भार पर्ने सम्भावना हुन्थ्यो।
सर्वसाधारणले जेसुकै बोले पनि त्यसको प्रभाव र प्रवाह कम हुन्छ। त्यो धेरै फैलँदैन, तर पढालेखा र विज्ञ व्यक्तिले निहित स्वार्थका लागि अन्धविश्वासको प्रचार गरिदिँदा र झूट बोलिदिँदा त्यसले समाजमा झनै धेरै अज्ञानता र अन्धविश्वास फैलन्छ। त्यसो हुँदा पढेलेखेका र विज्ञ विशेषज्ञले बोल्दा आधारहीन कुरा बोल्नुहुँदैन। कसैले त्यसो गरेर दुनियाँलाई बेवकुफ बनाएको छ भने तर्कसहित खण्डन गर्न कसिनुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
