एमालेको कोशी प्रदेश अधिवेशन शुरू हुँदै, अध्यक्षमा ३ आकांक्षी

प्रदेश अध्यक्षमा नेताहरू विनोद ढकाल, घनश्याम खतिवडा र टीकाराम चेम्जोङको दाबी रहेको छ। 

काठमाडौँ– नेकपा एमालेको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबार शुरू हुँदैछ। विराटनगरमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। 

प्रदेशका १४ वटै जिल्ला र जनसंगठनबाट छनोट भएका एक हजार ४७ प्रतिनिधिहरू विराटनगर पुगिसकेको प्रदेश कमिटीका उपसचिव शैलेश लामाले बताए। उनका अनुसार दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। 

प्रदेश अध्यक्षमा ३ जनाको दाबेदारी रहेको लामाले बताए। केन्द्रीय सदस्य विनोद ढकाल, घनश्याम खतिवडा र हालका प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङले अध्यक्षमा दाबी गरेका छन्। 

अध्यक्षका अर्का आकांक्षी हालका अध्यक्ष तुलसीप्रसाद न्यौपाने भने पछि हटेका छन्।

अध्यक्षका आकांक्षी ढकाल अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष, मोरङको पार्टी सचिव, दुई पटक जिल्ला अध्यक्ष भएका नेता हुन्। 

अर्का नेता खतिवडा मदन भण्डारीको कार्यकर्ताको रूपमा समेत काम गरेका र संघीय सांसद भइसकेका नेता हुन्। उनी २०५४ सालमा जिविस मोरङको सभापति र २०७४ सालमा मोरङ–१ बाट निर्वाचित भएका थिए। 

त्यस्तै, चेम्जोङ दोस्रो संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य निर्वाचित भएका थिए। उनी २०४९ सालमा जिविस धनकुटाको उपसभापति र २०५४ सालमा सभापति निर्वाचित भएका थिए।

प्रदेश सचिवका लागि भने पाँचथरका राजकुमार भण्डारी र तेह्रथुमका लक्ष्मण तिवारी आकांक्षी छन्। 

नेताहरूका अनुसार आफ्नो गृह प्रदेश भएका कारण अध्यक्ष ओली कोशीमा सर्वसम्मत नेतृत्व चयन गराउने पक्षमा छन्। त्यसका लागि उनले सहमति जुटाउन निर्देशन दिइसकेका छन्।