एउटा धर्मशाला जसले खुट्टा गुमाएर घिस्रिन बाध्य भएका हजारौँलाई हिँडाइरहेको छ (भिडियो कथा)

गौशालामा रहेको मारवाडी सेवा समितिको धर्मशालाले खुट्टा नहुनेहरूका लागि कृत्रिम खुट्टा निःशुल्क वितरण गर्दे आएको छ। २०५९ सालदेखि हालसम्म करिब ६ हजार जनाले यो सेवा लिइसकेका छन्।

तस्वीर तथा भिडियो: गोविन्द/उकालो

काठमाडौँ– पशुपतिनाथ मन्दिर नजिकै रहेको गौशालास्थित मारवाडी सेवा समितिको धर्मशाला ८२ वर्षअघि स्थापना भएको थियो। १९९८ सालदेखि विभिन्न सेवाहरू दिँदै आएको धर्मशालाले २१ वर्ष देखि विभिन्न कारणले खुट्टा गुमाएकाहरूलाई कृत्रिम खुट्टा सहयोग गर्दै आएको छ, त्यो पनि बिनाशुल्कमा।

प्रत्येक हप्ताको शनिबार धर्मशालाबाट निःशुल्क खुट्टा वितरण गरिन्छ। यस्तो सहयोगबाट धेरैले राहत पाएका छन्। तिनैमध्ये पर्छन् काठमाडौँ डल्लुका अमित खड्गी। मासु ढुवानीको काम गर्ने उनलाई दुई बर्षअघि अकस्मात् खुट्टा दुख्न थाल्यो। हिँड्नै नसक्ने अवस्था पुगेपछि उनी अस्पताल गए। 

डाक्टरले नशा सुकेकाले खुट्टा काटेर फाल्नुपर्ने सल्लाह दिए। लगत्तै अप्रेसन गरेर खुट्टा काटियो। त्यसयताका दुई बर्षदेखि उनको दैनिकी बैसाखीको साहारामा चलिरहेको थियो। तर गौशालाको धर्मशालामा कृत्रिम खुट्टा निःशुल्क पाइने थाहा पाएपछि उनी यहाँ आए र सेवा पनि पाए। 

कृत्रिम खुट्टाको सहायतामा आफ्नै खुट्टाले झैँ हिँडडुल गर्न पाएपछि बैसाखी टेकेर हिँड्दाको सकसबाट मुक्ति पाएका अमित हातको बैसाखी फालेर हिँड्न पाएपछि केही काम गर्ने आँट पलाएको बताउँछन्।

सिन्धुपाल्चोक, बाह्रबिसेका तिलकबहादुर श्रेष्ठ गाडी चालक थिए। आठ वर्षअघि देखिएको मधुमेह रोगको असरले उनका दुवै आँखा अकस्मात बन्द भए। सँगसँगै बायाँ खुट्टा प्यारालाइसिस भएर चल्न छाड्यो र बिस्तारै सुक्दै गयो। अस्पताल गएर डाक्टरलाई देखाउँदा नशा सुकेको देखियो। त्यसपछि डाक्टरकै सल्लाहअनुसार शल्यक्रियाबाट खुट्टा काट्नुपर्‍यो। 

दुवै आँखाका ज्योतिसँगै बायाँ खुट्टा सधैँका लागि गुमाएका श्रेष्ठले गौशालाको धर्मशालामा कृत्रिम खुट्टा पाइने थाहा पाएपछि यहाँ आइपुगे। अन्य लाभग्राही जस्तै उनी पनि कृत्रिम खुट्टा लगाएर हिँडडुल गर्न पाउँदा साह्रै खुशी देखिन्छन्। 

आँखा नदेख्नुको पीडासँगै खुट्टा पनि गुमाउँदा मर्माहत भएका श्रेष्ठ अहिले आफ्नो जीवनप्रति निकै आशावादी भएका छन्।

दाङको खैरेनी गाँउपालिकाबाट काठमाडौँ आएर कृत्रिम खुट्टा लिएका सुरेन्द्र कुमालको कमजोर आत्मबल अहिले उल्टिएर उत्साहमा बदलिएको छ। १८ बर्षीय सुरेन्द्रको जन्मँदादेखि नै एउटा खुट्टा थिएन। त्यो अवस्थामा बिहान ५ नबज्दै उठेर दिनहुँ सकसपूर्ण हिँडाइमा स्कुल पुग्नुपर्दाको बाल्यकाल सम्झेर उनी भावुक हुन्छन्। 

अहिले पनि गाउँकै स्कुलमा कक्षा १० मा पढिरहेका सुरेन्द्र कृत्रिम खुट्टा पाएपछि अन्य कुनै आधार नलिई त्यसकै मात्र भरोसामा हिँड्न सक्ने भएका छन्। यो परिवर्तनसँगै आफूले पढेर केही उन्नति गर्छु भन्ने आत्मविश्वास जागेको उनले हँसिलो मुद्रामा बताए।  

पहिरोमा परेर, आगोमा डढेर वा लडेर खुट्टा भाँचिएपछि उपचार गर्न नसक्दा त्यसलाई काम्रोले बाधेर त्यत्तिकै बस्न बाध्य हुनेहरूले देशको विकट भू–भागका गाउँगाउँमा खुट्टा गुमाएर चुनौतीपूर्ण जीवन बाँचिरहेका छन्। त्यस्तो कष्टपूर्ण भोगाइसहित यहाँ आउनेहरूको संख्या उल्लेख्य छ।

धर्मशालामा घिस्रिँदै आइपुग्ने त्यस्ता पीडितहरूको सेवा गर्न पाउँदा सन्तुष्टि मिलेको धर्मशाला सञ्चालक मारवाडी सेवा समितिमा कार्यरत अर्थोटिस्ट प्रोर्थेटिक टेक्निसियन हरिराम बोगटी बताउँछ्न। अपांगता भएका सयौँ व्यक्तिलाई आफ्नो सीप प्रयोग गरेर हिँडाउन पाउँदा लाभग्राहीको अनुहारमा झल्किने प्रसन्नता र आफूलाई महसुस हुने खुशी दुवै उनलाई अमूल्य लाग्छ। 

नेपालको विभिन्न जिल्लाका साथै भारतका बिहार, उत्तर प्रदेशलगायतका राज्यहरूबाट समेत कृत्रिम खुट्टा लिन आउनेको संख्या बढिरहेको मारवाडी सेवा समितिका महासचिव महाविर घिरैया बताउँछन्। उनका अनुसार एक जना त श्रीलंकाबाट समेत आएर निःशुल्क खुट्टा लिएर गएका थिए। 

हरेक दिन ६० देखि ७० जना आगन्तुकहरूले निःशुल्क खानाको सुविधा पनि पाइरहेको यो धर्मशालामा हप्तैपिच्छेको शनिबार ७०० भन्दा बढीलाई खाना खुवाइन्छ। यहाँबाट दैनिक निःशुल्क डायलाइसिस सेवा लिने मिर्गौलाका बिरामीहरूको संख्या पनि ६०–७० को हाराहारीमा हुने गरेको धर्मशालाले जनाएको छ। 

यो धर्मशालाले दुधालु गाईपालनका साथै बिरामी, वृद्धावस्थामा पुगेका र संरक्षण नपाएका गाईहरूको संरक्षण र निःशुल्क शववाहन सेवा पनि उपलब्ध गराउँदै आएको छ। पशुपतिनाथ मन्दिरमा अभिषेकका लागि चाहिने दैनिक २९ लिटर दुध यहीँबाट उपलब्ध गराउने गरिएको समितिका महासचिव घिरैयाले बताए।

पूरा कथा भिडियोमा: