स्थानीय जगदुल्ला र मुड्केचुला गाउँपालिकामा अवस्थित आयोजनाको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादन अनुमतिपत्रका लागि बिहीबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।
काठमाडौँ– ‘जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्वतयारी शुरू गरेको छ। आगामी ६ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम शुरू गरिएको सो आयोजनाले जनाएको छ।
कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित सो आयोजनाको कुल क्षमता १०६ मेगावाट छ। स्थानीय जगदुल्ला र मुड्केचुला गाउँपालिकामा अवस्थित सो आयोजनाको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादन अनुमतिपत्रका लागि बिहीबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।
जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले केही दिन पहिले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई समग्र आयोजनाको अवस्थाबारेमा जानकारी गराउँदै ६ महिनाभित्र निर्माणमा लैजाने तयारी गरिएको जानकारी गराएका थिए।
हाल आयोजनाका लागि वित्तीय व्यवस्थापनको काम भइरहेको र अन्य प्राविधिक तयारीसमेत अन्तिम चरणमा रहेको उनको भनाइ थियो। कर्णाली प्रदेशमा निर्माण हुन लागेको सो आयोजनाले समग्र प्रदेशलाई उज्यालो बनाउने लक्ष्य राखिएको छ। आयोजनास्थल पुग्नका लागि पहुँचमार्ग निर्माण तथा अन्य पूर्वतयारीको काम अन्तिम चरणमा छ। आयोजनाबाट वार्षिक रूपमा ६२३.४७ गिगावाट घण्टा बराबरको विद्युतीय ऊर्जा उत्पादन हुनेछ।
आयोजना अर्धजलाशय प्रकृतिको हो। यसको डिजाइन बहाव १६.७ घनमिटर प्रतिसेकेन्ड छ। यस्तै कुल ग्रस हेड ७८९.६० रहेको छ। आयोजनाको मुख्य संरचना नगदुल्ला नदीको बायाँ किनारामा छ। पानी फर्काउनका लागि निर्माण हुने बाँधको लम्बाइ ९३ मिटर बराबर निर्माण गरिनेछ। ‘कंक्रिट ग्राभिटी टाइप’ को बाँध निर्माण हुने र समुद्री सतहबाट दुई हजार ६९६ मिटरमा रहनेछ।
आयोजनाबाट उत्पादित बिजुली १३२ केभी क्षमताको ५० किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने बाफिकोट सवस्टेसनमा जोडिनेछ। सो आयोजनामा सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)ले चार अर्ब रुपैयाँ बराबरको लगानी गर्ने भएको छ।
गत भदौ ९ गते एचआइडीसीएल र प्रवर्द्धक कम्पनीकाबीच ऋण स्वीकृत पत्र आदानप्रदान भएको थियो। ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमले ऋण स्वीकृत पत्र प्रदान गरेका थिए।
सो आयोजना निर्माणका लागि करिब २३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। सबै खालका अध्ययन सकिएको यो आयोजनाको वित्तीय व्यवस्थापनको अन्तिम तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए। आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नविल बैंकलगायतले लगानी गर्ने तयारी गरिएको छ। आयोजनाका लागि कर्णाली प्रदेश सरकारले पहिलो चरणमा ११ लाख ७१ हजार पाँच कित्ता शेयरको ११ करोड ७१ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइसकेको छ। त्यस्तै, दोस्रो चरणमा ६ करोड रुपैयाँ चालु आवमा नै भुक्तानी गरिसकेको छ। आयोजनाको कुल लगानीको ५ प्रतिशत शेयर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ।
विद्युत् खरिदबिक्री सम्झौतामा तोकिएको तालिकाअनुसार २०८६ साल असारभित्र आयोजना सम्पन्न गरी विद्युत् उत्पादन गर्ने शुरू हुनेछ। आयोजना सम्पन्न गर्न कुल लागतको ७० प्रतिशतले हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ। ऋण बाहेकको ३० प्रतिशत सात सात अर्ब २५ करोड रुपैयाँ स्वपुँजी लगानी जुटाउने तयारी गरिएको छ। सोही कम्पनीले नै ८२.३ मेगावाट क्षमताको को जगदुल्ला ‘ए’ आयोजना पनि निर्माण गर्ने तयारी गरेको छ।
आयोजनाको प्रवर्द्धक कम्पनीमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत बराबरको शेयर स्वामित्व छ। यस्तै, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको एक प्रतिशत शेयर स्वामित्व छ। बाँकी रहने ४९ प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ। हाल पहुँचमार्ग निर्माणको काम जारी छ। आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ। आयोजनाका लागि २६० रोपनी जग्गा तथा १४ वटा घर टहराको अधिग्रहण भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
