तनावपूर्ण कूटनीतिक सम्बन्धका प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनका समकक्षीबीचको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतले चासोका साथ हेरेको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच इन्डोनेसियाको बालीमा महत्वपूर्ण भेटवार्ता भइरहेको छ। जी-२० सम्मेलनको पूर्वसन्ध्यामा दुई समकक्षीबीच भेटवार्ता भइरहेको हो। मंगलबार र बुधबार दुई दिनसम्म चल्ने जी-२० सम्मेलनअघि दुई समकक्षीबीच प्रत्यक्ष भेटवार्ता भएको हो। बालीस्थित एक लक्जरी होटलमा आयोजित बैठकमा दुई नेताले हात मिलाएर एकअर्काको स्वागत गरेका थिए।
भेटवार्ताअघि अमेरिकी राष्ट्रपति बाइडेनले मतभेदको व्यवस्थापन र आपसी सहकार्यका क्षेत्र पहिल्याउने जिम्मेवारी दुई समकक्षीलाई रहेको बताएका थिए। बाइडेनले छलफलमा ताइवान मामिला, चीन र मस्कोबीचको व्यापार सम्बन्धलगायत विषयमा वार्ता गर्ने योजना बनाएको र सिसँगको भेटवार्तापछि पत्रकारहरूका प्रश्नको जवाफसमेत दिने बताएको एपी न्यूजले जनाएको छ। साथै, चिनियाँ राष्ट्रपति सीले समेत आपसी सम्बन्धलाई उचाइ दिने र बाइडेनसँग गहन र स्पष्ट विचार तथा धारणा साटासाट गर्ने बताएका थिए।
तनावपूर्ण कूटनीतिक सम्बन्ध रहेका विश्वका प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनका समकक्षीबीचको प्रत्यक्ष भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतले चासोका साथ हेरेको छ। पछिल्लो समय अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि दुई देशबीचको तिक्तता थप खराब बनेकाे थियो।
ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा चिनाउने गरेको छ। चीनले ताइवानलाई आफ्नो देशकै एक भू-भाग भएको दाबी गर्छ भने अमेरिकाले ताइवानको समर्थन गर्दै आएको छ। यसैकारण पनि दुई मुलुकको सम्बन्धमा बेलाबेला दरार आउने गरेको छ। सभामुख पेलोसीको ताइवान भ्रमणको चार महिनापछि दुई मुलुकका प्रमुख समकक्षीबीच भेट हुन लागेको हो। यस्तै, वार्तामा ताइवान मामिला प्रमुख अजेन्डा बन्ने बीबीसीले लेखेको छ।
बलियो अर्थतन्त्र भएका विश्वकै शक्तिशाली यी दुई मुलुकले चाल्ने कदमले विश्वका साझा मुद्दामा प्रत्यक्ष प्रभाव पार्दछ। त्यसैले उनीहरूबीच छलफल र सहकार्यको खाँचो छ। यसअघि बाइडेन अमेरिकाको उपराष्ट्रपति हुँदा सिसँग भेटेका थिए। त्यसपछि बाइडेनले पहिलोपटक अमेरिकी राष्ट्रपतिको हैसियतले समकक्षी सीलाई आज भेटेका हुन्।
जी-२० के हो?
सन् १९९९ मा स्थापना भएको विश्वका २० वटा धनी देशहरूको समूह हो जी-२० विश्व अर्थतन्त्रको विषय मुख्य अजेन्डा बन्ने यस समूहले अन्तर्राष्ट्रिय वित्तिय स्थायित्व, जलवायु परिवर्तन र अनुकूलनका साथै दीर्घकालीन विकासका योजनामा संयुक्त रूपमा काम गर्दै आएका छन्।
विशेष गरी राजनीतिकभन्दा पनि आर्थिक विषय सम्मेलनका मुख्य अजेन्डा हुने गरेका छन्। जी-२० मा युरोपेली युनियनसहित अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रूस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्कीये, बेलायत र अमेरिका छन्। यस्तै, स्पेन पनि जी-२० मा पाहुनाको रूपमा उपस्थित हुने गरेको छ।
यी मुलुकले विश्वको अर्थतन्त्रमा ८५ प्रतिशत र विश्व व्यापारमा ७५ प्रतिशत योगदान पुर्याउँछन्। सबै मुलुकका नेताहरू सहभागी भएको जी-२० को पहिलो बैठक सन् २००८ मा अमेरिकाको वासिंटनमा बसेको थियो। यो सम्मेलन विभिन्न मुलुकहरूबीचको साइडलाइन वार्ताका लागिसमेत महत्वपूर्ण अवसर बन्दै आएको छ। यसै अवसरको सदुपयोग गर्दै सम्मेलनमा बाइडेनले समकक्षी सिलाई भेट्ने योजना बनाएका हुन्। हरेक वर्ष जी-२० का विभिन्न मुलुकहरूको अध्यक्षतामा बैठकको अजेन्डा तय हुने गर्दछ।
जी-२०, २०२२ इन्डोनेशिया
सन् २०२२ को जी-२० बैठकको अध्यक्षता इन्डोनेशियाले गर्दैछ। सम्मेलनमा विशेष गरि विश्वको आर्थिक विषयहरूमा छलफल हुने गर्छन्। अहिलेको सम्मेलन रुस युक्रेन युद्धका कारण परेको प्रभाव र समस्या समाधानको विषयमा केन्द्रीत हुने बीबीसीले उल्लेख गरेको छ।
साथै, यसवर्षको सम्मेलनमा महामारीपछिको विश्वव्यापी स्वास्थ्य मापदण्ड र आर्थिक सुधारका विषय मुख्य अजेन्डा बनाइएको छ। यस्तै, यसवर्ष दीर्घकालीन ऊर्जाको विषयलाई समेत प्रवर्द्धन गरिने बीबीसीले उल्लेख गरेको छ।
राजनीतिक तनावले सम्मेलनलाई प्रभाव पार्ने आकलन छ। रुसले युक्रेनमा युद्ध शुरू गरेको भन्दै युक्रेनले उसलाई जी-२० समूहबाट हटाउनुपर्ने आवाज उठाएको छ।
जी-२० सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमीरले भौतिक उपस्थिति नजनाउने इन्डोनेशियाले जनाएको छ। यस्तै, अमेरिकी राष्ट्रपति बाइडेनले पनि साउदी अरबका अधिराजकुमार मोहम्मद बिन सलमानसँग भेट्न अस्वीकार गर्नसक्ने अनुमान गरिएको छ। युक्रेनमा रूसले शुरू गरेको युद्धमा साउदी अरबले आर्थिक सहायता उपलब्ध गराएको र यी दुई देशले आपसमा मिलेर कच्चा तेलको मूल्य बढाएको अमेरिकी राष्ट्रपति बाइडेनले आरोप लगाउँदैै आएका छन्।
जी-२० का उपलब्धि
सन् २००८ र २००९ मा आर्थिक संकटका बेला बसेको जी-२० सम्मेलनमा विश्वका नेताहरूले विश्वव्यापी आर्थिक प्रणालीलाई सुधार गर्ने प्रतिबद्धता जनाएका थिए। त्यतिबेला समावेशी, हरित र दीर्घकालीन सुधारका पक्षमा ध्यान दिइएको थियो। विश्व व्यापार र लगानीमा सुरक्षा रोजगारी र विकासको पुर्नस्थापना, वित्तीय पर्यवेक्षण र निगरानी, वित्तीय संस्थाहरूलाई बलियो पार्नेजस्ता कुरामा सुधारमा उल्लेख्य भूमिका खेलेको थियो।
सम्मेलनमा विशेष गरी बेग्लाबेग्लै मुलुकले गर्ने द्विपक्षीय वार्ताहरू थप रचनात्मक हुने गरेका छन्। सन् २०१९मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई मुलुकको तनावपूर्ण आर्थिक र व्यापारिक सम्बन्धलाई सुधार गर्नेमा सहमति गर्दै वार्ता गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
