शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार राख्नु गलत: पूर्वअर्थमन्त्री खतिवडा

राष्ट्रबैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको उनकाे भनाइ छ।

फाइल तस्वीर

काठमाडाैँ– पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार कायम राख्नु ठीक नभएको बताएका छन्। 

मंगलबार काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्। उनले राष्ट्रबैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको बताए।

पूर्वअर्थमन्त्री खतिवडाले स्वायत्त संस्थाको अधिकारमा अर्थ मन्त्रालयले राष्ट्रबैंकलाई र राष्ट्रबैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्नु उपयुक्त नभएको बताए। उनले आ–आफ्नो क्षेत्रको काम जिम्मेवारी पूर्णक सबैले काम गर्दा अर्थमन्त्रालयले राष्ट्रबैंकलाई र राष्ट्रबैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न आवश्यक नहुने बताए। अहिले बैंकहरूले दुई प्रतिशत मात्रै धितोकर्जा बजारमा लगाइदिँदा ३० देखि ४० अर्ब बजारमा जाने बजार चलायमान हुने उनकाे भनाइ छ।

"म आफै राष्ट्रबैंकको गभर्नर थिएँ। दुई प्रतिशत भन्दा धितो कर्जा बैंकले दिनुहुन्न भनेको थिएँ। त्यही दुई प्रतिशत आज लगाइदियो भने पनि ३० देखि ४० अर्ब बजारमा जान्छ। त्यसैले शेयर बजार चलायमान भइहाल्छ," उनले भने।

उनले राष्ट्रबैंकले एउटा व्यवसायीले १ खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम नदेख्ने तर १२ करोड कसैले लगानी गर्‍यो भने त्यहाँ जोखिम देख्ने गरेको टिप्पणी गरे। उनले राष्ट्रबैंकले जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझ्न नकिएको बताए। उनले ३२ सय अंकको शेयर इनडेक्स हुँदा जोखिम भए पनि अहिले बजार ओभर करेक्शन भएको बताए। पूर्वअर्थमन्त्री खतिवडाले शेयर बजार माथि जान्छ त्यो बेला मात्रै जोखिमको प्रवन्ध गर्नुपर्ने बताए। उनले शेयर बजारमा सानो करेक्सन गर्दा धेरै हुनेवाला केही नभए पनि मनोबल बढ्ने दाबी गरे।

उनी भन्छन्, "३२ सय अंकको शेयर इनडेक्स हुँदा जोखिम थियो। ओभर हिटेड भयो बजार भनेर मैले पनि भनेको हो। जब बजार ओभर करेक्सन भयो भने पनि जोखिम भार १५० राखिराख्नुपर्छ र? त्यो साइकलिङको कुरा हो। जुन बेला शेयर बजार माथि जान्छ त्यो बेला जोखिमको प्रबन्ध गर्ने हो।"

उनले धितोपत्र बोर्डको भूमिकामाथि प्रश्न गर्दै बजारलाई स्थायित्त्व दिने जिम्मेवारी पाएको धितोपत्र बोर्डले आईपीओकाे बाढी ल्याउन नहुने पनि बताए। उनले नेप्सेको हालत पनि ठीक नभएको बताए। उनले टि प्लस २ भनिए पनि सो समयमा शेयर कारोबारको राफसाफ नहुने गरेको र शेयर कारोबारको सिस्टम पनि गतिलो नभएको बताए। डा. खतिवडाले कुनै पनि निकाय आफ्नो जिम्मेवारीबाट भाग्नु नहुने र आफ्ना जिम्मेवारी पन्छाएर हल्लाखल्ला गरेर केही नहुने बताए।