विश्वकप इतिहासमा नमेटिने ‘आत्मघाती गोल’को दाग

सन् १९३० देखि २०१८ सम्मको विश्वकपमा २ हजार ५४८ गोल भएका छन्। जसमध्ये आत्मघाती गोलको संख्या ५२ छ।

आत्मघाती गोल गर्दै मार्सेलाे

काठमाडाैँ– स्कटल्यान्डका टम बोइड र ब्राजिलका मार्सेलोमा के समानता छ? धेरै कुरा होइन। दुवैको नाम विश्वकप इतिहासमा नमेटिने रेकर्डमा दर्ज भएको छ।

विश्वकप इतिहासमा यी दुई खेलाडीले आफ्नै टोलीविरुद्ध गोल गर्ने रेकर्ड बनाएका छन्। बोइडले लामो खेल करिअरबाट सन्यास लिइसकेका छन्। यता, ब्राजिलियन ‘लेफ्ट ब्याक’ मार्सेलो २२औँ संस्करणको विश्वकप टिममा परेका छैनन्। 

सन् २०१४ मा आफ्नै घरेलु मैदानमा भएको समूह ‘ए’ को खेलमा मार्सेलोले क्रोएसियाविरूद्ध आत्मघाती गोल गरेका थिए। तर, यो गोलले खेलमा खासै प्रभाव पार्न भने सकेन र ब्राजिलले ३–१ ले जित्यो।

त्यसपछि ओल्पियाकस एफसीका प्रमुख रक्षक मार्सेलोले राहतको सास फेर्दै भनेका थिए, “यो धेरै दुःखको कुरा हो। ११औँ मिनेटमा मैले मेरो टोलीलाई निराश बनाएँ। दर्शकले पनि मेरो नाम लिँदै त्यसलाई निकाल निकाल भन्दै चिच्याउन थाले।”

सन् १९९८ को विश्वकपमा स्कटल्यान्डका डिफेन्डर टमले आत्मघाती गोल गरेपछि पनि राहत पाएनन्। उनको गोलले समूह चरणको खेलमा ब्राजिललाई स्कटल्यान्डमाथि २–१ ले जित दिलायो।

फुटबल मैदानको दुर्लभ घटना
फिफाका अनुसार सन् १९३० देखि २०१८ सम्मको विश्वकपमा २ हजार ५४८ गोल भएका छन्। जसमध्ये आत्मघाती गोलको संख्या ५२ छ। यो फुटबल मैदानको दुर्लभ घटना मानिन्छ।

तर, २०१८ को रसिया विश्वकपमा यस्तो दुर्लभ घटना धेरै घटे। यो विश्वकपमा पछिल्ला रेकर्डहरू नै ‘ब्रेक’ हुनेगरी १२ आत्मघाती गोल भएका थिए। यो एउटै विश्वकपमा भएको सबैभन्दा बढी आत्मघाती गोल हो। यसअघि सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा ६ आत्मघाती गोलको कीर्तिमान बनेको थियो। रसिया विश्वकपमा एक आत्मघाती गोल फाइनल खेलमा भएको थियो भने बाँकी नकआउट र समूह चरणमा।

रसिया विश्वकपको समूह चरणको खेलमा मोरक्कोका फरवार्ड अजिज बुहादोउजले इरानविरूद्ध गरेका थिए। यो नै सो प्रतियोगिताको पहिलो आत्मघाती गोल थियो। सो प्रतियोगिता उनले मात्रै होइन, अस्ट्रेलियाका लेफ्ट विंगर अजिज बेहिच, नाइजेरियाका मिडफिल्डर पिटर इटेबो, पोल्यान्डका सेन्टर ब्याक थिआगो सियोनेक र इजिप्टका राइट ब्याक अहमद फाथीले आत्मघाती गोल गरे।

यता, रूसका लेफ्ट विंगर डेनिस चेरिसेभ, मेक्सिकोका डिफेन्सिभ मिडफिल्डर एडसन अल्भारेज, स्विट्जरल्यान्डका डिफेन्सिभ मिडफिल्डर यान सोमर, ट्युनिसियाका डिफेन्डर यासिन मेरिह, रूसका सेन्टर डिफेन्डर सर्जी इग्नासेभिच, ब्राजिलका मिडफिल्डर फर्नान्डिन्हो र क्रोएसियाका फरवार्ड मारियो मान्जुकिचले पनि आत्मघाती गोल गर्न पुगे।

जसले आत्मघाती गोल गरेर ज्यान गुमाए
विश्वकपको दैरान आफ्नै पोस्टमा गोल गर्नेसँग दुखद् घटना पनि घटेका इतिहास पनि छ। २२ जुन १९९४ मा कोलम्बिया र अमेरिकाबीचको महत्वपूर्ण खेलमा कोलम्बियाले २–१ को हार बेहोरेको थियो।

यस खेलका क्रममा कोलम्बियाका तर्फबाट डिफेन्डर आन्द्रे एस्कोबारले आत्माघाती गोल गरे थिए। हारसँगै कोलम्बिया विश्वकपबाट बाहिरिएको थियो। विश्वकपमा हार बेहोरेर कोलम्बिया फर्किएको ठिक १० दिनपछि उनीमाथि गोली प्रहार भयो।

मेडिलिन शहरको एक ‘नाइट क्लब’ बाहिर उभिएको समयमा उनीमाथि गोली प्रहार भएको थियो। तीन जनाको समूहमा रहेको अज्ञात समूहले उनीमाथि अन्धाधुन्ध १२ राउन्ड गोली चलाएका थिए। बिहान ३ बजे भएको यस घटनालाई उनले गरेको आत्मघाती गोलको परिणामका रुपमा हेरिन्छ।

आन्द्रेमाथि गोली चलाउनुभन्दा पहिले आतंककारीले ‘आत्मघाती गोलको लागि धन्यबाद’ भनेका थिए। आक्रमणकारीले गोली चलाइरहँदा आन्द्रेले ‘गोल गोल’ भन्दै चिच्याएका थिए। घटनालगतै आन्द्रेलाई अस्पताल लगिएपनि बचाउन सकिएन। उनको शवयात्रामा एक लाखभन्दा बढी समर्थक सहभागी भएका थिए। 

आन्द्रेलाई कोलम्बियाली ‘ड्रग्स कार्टेल’का सदस्य ग्यालन ब्रदर्सका अंगरक्षक हम्बर्टोले गोली हानेको बताइन्छ। जसले विश्वकपमा कोलम्बियाले जित्ने आशमा ठूलो रकमको शर्त लगाएका थिए। विश्वकपमध्ये १९३४, १९५८, १९६२ र १९९० को संस्करणमा आत्मघाती गोल भएको छैन। २०१४ को विश्वकपमा पनि पाँच आत्मघाती गोल भएका थिए।

जसमध्ये दुई फ्रान्सविरूद्धको खेलमा भएको थियो। समूह चरणको खेलमा होन्डुरसका गोलरक्षक नोएल भालाडेर्सले र नकआउट चरणमा नाइजेरियाका कप्तानसमेत रहेका सेन्टर ब्याक जोशेफ योबोले आत्मघाती गोल गरेका थिए। –एजेन्सीकाे सहयाेगमा