काठमाडौँको रत्नपार्कबाट भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा शुरू भएपछि यात्रु उत्साहित छन् नै तर, यस्तो सेवा सधैँभरि पाइन्छ कि पाइँदैन भन्नेमा उनीहरू चिन्तित छन्।
काठमाडौँ– रत्नपार्कस्थित शान्तिवाटिकामा बिहान ९ नबज्दै सर्वसाधारणको भिड देखिन्थ्यो। यसै पनि यो ठाउँ भिडले नै भरिन्छ। तर, बुधबार बिहान भने अघिपछि भन्दा छुट्टै चहलपहल र भिड थियो। संविधान दिवसको अवसर पारेर रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने द्रुत बस सेवाको उद्घाटन कार्यक्रम हेर्न सर्वसाधारण जम्मा भएका थिए। कार्यक्रमस्थलमा सजाएर दुईवटा बस राखिएका थिए। कार्यक्रमकाे उद्घाटन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला आउँदैछन् भन्ने खबरले उनीहरूको ध्यान कार्यक्रमतिर मोडिएको थियो।
केही बेरमा मन्त्री ज्वाला, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा कार्यक्रम स्थलमा पुगे।
मन्त्री ज्वालाले ट्राफिक जाम कम गर्ने उद्देश्यसहित बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म दुई घण्टा द्रुत बस सेवा सञ्चालन गर्ने निष्कर्षमा पुगेको बताए। उनले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा मात्रै सीमित नभइ अब विमानस्थल, चक्रपथ नागढुंगा, ललितपुर, बालाजु, महाराजगञ्ज र चाबहिल क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको सुनाए। “आज यस सेवाको प्रारम्भ मात्र हो। भोलिदेखि शुरू हुने द्रुत बस सेवाको निरन्तर फलोअप गरेर सुधार गर्दै जानेछौँ। सकारात्मक प्रतिक्रिया आएपछि समय र स्थानका आधारमा सेवा विस्तार गरिनेछ,” उनले भने,“ पहिले रत्नपार्कबाट सूर्यविनायक जान २ घण्टा लाग्थ्यो भने अब ४५ मिनेटमा पुगिने हिसाबले योजना बनेको छ। तर बिस्तारै त्यो समय ३० मिनेटमा परिणत गर्ने प्रयास जारी रहनेछ।”

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले सडकको क्षमताभन्दा बढी सवारीसाधनको चाप बढेपछि यात्रुलाई सास्ती भएकाले यो रुटमा द्रुत बस सेवा सञ्चालन गर्ने निर्णयमा पुगेको बताए। “आगामी दिनमा आउने समस्या र चुनौतीबारे अवगत छौँ। यस योजनालाई दीर्घकालीन बनाउन काम गर्नेछौँ,” उनले भने,“हामी जनतालाई आफ्नो निजी सवारीसाधन नभए पनि सार्वजनिक यातायातको प्रयोग गरेर समयमै गन्तव्यमा पुग्न सकिन्छ भन्ने महसुस गराउन चाहन्छौँ।”
प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि डेडिकेटेड लेनमा छुट्याइएको बसलाई ट्राफिक नियम उल्लंघन गरेमा कारबाही हुने बताए। “लेनलाई रातो रङ प्रयोग गरी छुट्याइएको छ जुन राम्रो पनि देखिएको छ। सडकमा सार्वजनिक र निजी दुवै सवारीसाधन गुड्छन्,“ उनले भने। उद्घाटन कार्यक्रम सकिएसँगै सजाइएका २ वटा बसहरू रत्नपार्कबाट यात्रु विना भक्तपुरको सूर्यविनायकतर्फ गुडे। तर, भोलिदेखि यात्रु बोकेर यस्ता २५ वटा बस द्रुत गतिमा रत्नपार्कदेखि सूर्यविनायकसम्म आउजाउ गर्नेछन्।
सर्वसाधारणमा उत्साहसँगै चिन्ता
सरकारले रत्नपार्कदेखि सूर्यविनायकसम्म बुधबारदेखि द्रुत बस सेवा शुरू गरेपछि यो रुटमा यात्रा गर्ने यात्रुहरू उत्साहित देखिन्छन्। तर, उनीहरू यो सेवा दीर्घकालीन नहुने हो कि भन्नेमा चिन्तित पनि देखिए। काठमाडौँकाे कोटेश्वरकी २२ वर्षीया सिर्जना रेग्मीले भनिन्,“कोटेश्वरबाट पुतलीसडक कलेज आउजाउ गर्दा १ घण्टा अगाडि घरबाट निस्कनुपर्थ्याे। अब म यात्र गर्ने रुटमा द्रुत बस चल्ने भयो। खुसी लागेको छ। तर, यस्ता बस सँधै नचल्न पनि सक्छन्।”

भक्तपुरको गठ्ठाघरका स्थानीय सानु आचार्यले यो रुटमा द्रुत बस चल्दा आफूलाई राहत मिल्ने बताए। “ म हिँड्ने रुटमा द्रुत बस चलेको देख्दा खुसी लागेको छ। तर, अहिले बनाएको योजना लामो समयसम्म जानसके म जस्तै गाडीमा हिँड्न पर्ने मानिस खुसी हुन्थे,”उनले भने,“ नत्र जनशक्ति, पैसा, योजना सबैको नोक्सानी हुने हो।”
कन्सलटेन्सीमा काम गर्न जान रत्नपार्कबाट बानेश्वर दैनिक यात्रा गर्ने रन्जना खड्काले हरेक दिन लामो जाममा पर्दा हैरान भएको तर अब केही राहत मिल्ने बताइन्। “म नयाँ बानेश्वरमा काम गर्छु। आफ्नै गाडी नभएकाले रत्नपार्कदेखि त्यहाँसम्म बसमा जानुपर्छ। बाटो लामो छ, त्यहीमाथि जाम धैर हुन्छ,” उनले भनिन्, “आजबाट नयाँ सिस्टम आएको रहेछ, प्रभावकारी भए हुन्थ्यो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
