परम्परागत लाछा डाेरी अहिले फेसनका रूपमा महिलाहरू माझ स्थापित भएकाे छ। तीजको बेला बजारमा आएको यसको क्रेज अहिले पनि कायम छ।
काठमाडौँ– भक्तपुर गोलमढीकी १७ वर्षिया कृपा तमाचोले केही दिन अघिमात्र एक जोडी लाछा डोरी किनिन्। किनेका ती लाछाले उनी दुई चुल्ठी बाट्ने गर्छिन्। साथीभाइसँग आउटिङ जाँदा कपाललाई स्टाइलिङ गर्नेभन्दा पनि लाछा डोरीले कपाल बाट्न रुचाउँछिन्।
कृपा र उनीजस्तै किशोरीमाझ निकै चलेको लाछा डोरी अहिले फेसनको नयाँ ट्रेन्ड बनेको छ। घरमा सजिलै बनाउन सकिने भएकाले उनले लाछा बनाउने र बच्नेसमेत गर्न थालेकी छन्। लाछा बेचेको पैसाले उनको पकेट खर्चसमेत धानिएको छ।
नेपाली बजारमा देखिएको नयाँ ट्रेन्ड हो, लाछा डोरी। सामाजिक सञ्जालमा यसलाई भाइरल डोरीसमेत भनिन्छ। यस वर्ष तीज केन्द्रित गरेर बजारमा आएको लाछालाई विशेषतः शिरमा सजाउने पुरानै अलंकारिक डोरीको परिवर्तित स्वरूपका रूपमा लिन सकिन्छ।
कुनै समय विवाहित महिला र समुदाय विशेषले चाडपर्वमा पहिरिने लाछा डोरी अहिले किशोरी तथा युवापुस्तामाझ 'क्याजुअल वेयर'को अभिन्न अंगका रूपमा चुल्ठाचुल्ठीमा सजिन थालेको छ। ‘बजारमा चलेका हेयर स्टाइल पनि अबका लागि पुराना भए’, कृपा भन्छिन्, ‘सपक्क कपाल बाटेर लाछा डोरी लगाउँदा कपाल फुत्कने, बिग्रने झन्झटै हुँदैन। ’
लाछा कै ब्रान्डिङ भने नेपाली मूलकी अमेरिकी सुपर मोडल वर्षा थापाले सन् २०१८ देखि गरिरहेकी छन्। सन् २०१८ को 'भोग म्यागेजिन'का लागि उनले लाछासहितको फोटोसुट गरेकी छन्। उनका प्रायः अन्य फोटो सुट तथा भिडियोमा पनि लाछा डोरी छुटेको हुँदैन।
‘उत्साहजनक व्यापार’
स्थायी घर मेलम्ची भोटेचौर–२ का ३८ वर्षीय पण्डित खतिवडाले विगत १३ वर्षदेखि चाबहिल गणेश मन्दिरनजिकै कस्मेटिक पसल सञ्चालन गर्दै आएका छन्। मंगलबार उनको पसल पुग्दा रंगीविरंगी पुराना तथा नयाँ भाइरल लाछा डोरीले पसल सजिएको थियो।
उनले यी लाछा चितवनबाट ल्याउने गरेकाे बताए। बोलीचालीको भाषामा भाइरल डोरी भनिने यी लाछा बनाउने प्रक्रिया पनि सहजै भएको उनकाे भनाइ छ। उनको पसलमा १६ देखि ३५ वर्षका महिलाले यस्ता डोरीको माग बढी गर्ने गर्छन्। डोरीको माग राम्रै भएको कारण केही महिना यता व्यापारमा पनि सुधार आएको उनको अनुभव छ। पहिला बुढापाकाले रुचाउने यस प्रकारको पुराना र आलंकारिक नयाँ स्वरूपमा युवामाझ रुचाइनु सांस्कृतिक हिसाबले पनि सकारात्मक रहेको उनी बताउँछन्।

पुरानै शैलीको डोरीमा ऊनीको फुर्का थपी नयाँ डिजाइन दिइएको यस डाेरीमा फुर्का तथा डोरीको रंग भने ड्रेस अनुसार म्याच गरेर लगाउने गरिन्छ। थापाथलीस्थित सुकुम्वासी बस्तीमा किराना पसल सञ्चालन गरेर बसिरहेकी निरु केसीले भने आफैँ लाछा बनाएर बेच्ने गरेकी छन्। लाछा बनाउँदा सयदेखि डेढ सय रुपैयाँसम्मको लागत लाग्ने उनी बताउँछिन्। डिजाइनअनुसार दुई सयदेखि चार सयसम्मको मूल्यमा लाछा डोरी बेच्ने गरेको उनले बताइन्।
‘मेरो किराना पसल हो। तर, लाछा बेच्न थालेदेखि पसलको व्यापार अझ राम्रो भएको छ’, उनी भन्छिन्। मागअनुसार उपभोक्तालाई सप्लाइ गर्न सक्दा व्यापार उत्साहजनक रहेको उनको भनाइ छ।
‘फेसन कहिले नयाँ हुँदैन, पुरानो फेसन परिष्कृत हुँदै दोहोरिन्छ’
सिनियर ब्युटिसियन मिनु थापा गएको तीजदेखि भाइरल लाछा डोरीले बजार लिएको बताउँछिन्। सिनियर ब्युटिसियन थापा भन्छिन्, ‘यसपटक तीजलक्षित नयाँ शैलीका लाछा आए। तर, अनपेक्षित रूपमा यी लाछा तीजपछि पनि बिक्री भए। त्यो पनि युवापुस्तामाझ।’
थापाका अनुसार, फेसन कहिले नयाँ हुँदैन। यो पुरानै शैलीबाट प्रभावित र परिष्कृत हुँदै रिपिट हुने गर्छ। हाल यसैको प्रभाव बजारमा देखिएको हुनसक्ने उनको अनुमान छ।
‘लाछा डोरी नेपाली समाजको लागि नयाँ साजसज्जाको सामान होइन। धेरै अघिदेखि विशेषतः विवाहित महिलाले रातो लाछा डोरी र अविवाहित महिलाले कालो रंगको लाछा डोरी शृंगारका रूपमा लगाउँथे’, उनी भन्छिन्, ‘आकर्षक र नयाँ डिजाइनका लाछा डोरी भने अहिले किशोरी, अविवाहित–विवाहित (१८–४५) महिला सबैको रोजाइमा पर्न थालेको छ।’
४५ वर्ष वा ४५ वर्षमाथिका आमा, हजुरआमाहरूले भने पुरानै लाछा डोरी रुचाएको देखिन्छ। औसतमा सय रुपैयाँदेखि सुरु हुने लाछा डोरीको मूल्य डिजाइन र डोरीमा जडित फुर्का, मोतीले निर्धारण गर्ने उनी बताउँछिन्। बजारमा ८–९ सय पर्ने लाछा डोरी पनि पाइने गरेको छ।
थापाको बुझाइमा युवा वर्ग यस्तो जमात हो, जो कुनै पनि नयाँ चीज मन परेपछि त्यसको प्रयोग गरिहाल्छन्। ‘फेसनको दुनियाँमा अहिले टिसर्ट प्यान्टजस्ता क्याजुअल पहिरनको सट्टा डिजाइनदार कुर्ता, टप्सले स्थान लिन थालेका छ। रोजाइमा परेका कुर्तालाई लाछा सुहाउँदो देखियो’, उनी भन्छिन्, ‘त्यसो त कुर्तामात्र नभई प्यान्ट, वान पिस, स्कर्टमा समेत रंग, डिजाइन म्याच गरी लाछा डोरी लगाएको देखिन्छ।’
‘महिलाको लागि पहिरनजस्तै कपालकै फेसन पनि उत्तिकै विशेष हुन्छ। हेयर स्टाइलिङमा स्ट्रेट वा कर्ल गरेर आजित भएका अथवा अन्य हेयर स्टाइलको झन्झटभन्दा लाछाले कपाल बाटेर हिँड्न रुचाउने मनसाय यो पुस्तामा देखिन्छ’, थापाले भनिन्।
यद्यपि, यस प्रकारका ट्रेन्डको अवधि ७–८ महिनामात्रै हुने पनि उनको भनाइ छ। यस वर्षको तीजकाे बेला बजारमा भित्रिएको यो फेसन पुस– माघसम्म चल्ने अनुमान उनको छ। ‘चाडबाडको सिजन भएकाले अझै केही महिना भाइरल डोरीले बजार लिनेछ’, उनले थपिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
