प्रारम्भिक उपचार गर्ने हेटौँडाको सञ्चो अस्पतालका दुई चिकित्सक कुटिएपछि पनि उजुरी नगर्न दबाब दिइएको थियो। तर नेपाल चिकित्सक संघले यस्ता घटनामा ‘मिलापत्र’ गर्न नहुने जनाएको छ।
काठमाडौँ– अस्पतालभित्रै चिकित्सक कुटिएको भिडियो सामाजिक सञ्जालमा बुधबार साँझदेखि भाइरल भइरहेको छ। ड्युटीमा रहेका चिकित्सकलाई एक समूहले घेरा हालेर कुटपिट गरेको भिडियोमा देखिन्छ।
यो दृश्य हटौँडास्थित सञ्चो अस्पतालको हो। त्यहाँ कार्यरत दुई चिकित्सक विकास थापा र प्रशान्त विडारीमाथि बुधबार दिउँसो कुटपिट भएको हो। बिरामीको मृत्यु भएको ३२ दिनपछि उपचारमा अस्पतालले लापरबाही गरेको आरोपमा उनीहरूमाथि कुटपिट भएको हो।
हेटौँडा उपमहानगरपालिका–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधान साउन २१ गते उपचारका लागि सञ्चो अस्पताल भर्ना भएका थिए। उनलाई परिवारका सदस्यले उक्त अस्पताल पुर्याएका थिए। सामान्य जाँचपछि सोही दिन उनलाई आफन्तले घर लगे। अर्को दिन स्वास्थ्यमा थप समस्या देखिएपछि पुनः सञ्चो अस्पताल नै लगेर भर्ना गरिएको थियो।
राजेशलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा उनलाई डेंगी संक्रमण भएको पुष्टि भएको थियो। साउन २२ गते सोही अस्पतालमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार देखिएन। अस्पतालले साउन २३ गते थप उपचारका लागि चितवन मेडिकल कलेज ‘रेफर’ गर्यो। चितवन मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते उनको मृत्यु भयो।
बिरामीको मृत्यु भएको एक महिनाभन्दा बढी समयपछि प्रारम्भिक उपचार गरेको सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट भएको हो। २५/३० जनाको समूह चिकित्सक खोज्दै दिउँसो ११ बजेतिर अस्पताल पुगेको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए।
बिरामीका आफन्तसहितको समूहले डा. थापा र डा. विडारीमाथि कुटपिट गरेको भण्डारीको भनाइ छ। अस्पतालको एचडीयू वार्डमै गएर चिकित्सक कुटिएको हो। “उपचारमा लापर्बाही भयो भन्ने मृतकका आफन्तको कुरा छ। मेडिकल साइन्सले जे भन्छ हामीले त्यसैअनुसार उपचार गरेको भन्ने डाक्टरहरूको कुरा छ। घटनाका बारेमा हामीले बुझ्ने काम गरिरहेका छौँ,” डीएसपी भण्डारीले भने, “व्यवस्थापन पक्षसँग कुरा गर्ने भनेर मृतकका आफन्त आएको बुझिए पनि चिकित्सकलाई हातपात नै गर्ने काम दण्डनीय हो।”
चिकित्सकमाथि हातपात गर्ने कसैलाई अहिलेसम्म पक्राउ नगरिएको डीएसपी भण्डारीले बताए। “घटनापछि हिजो एकचरण दुवैपक्षबीच कुरा भएको रहेछ। ल ठीकै छ भन्ने जस्तो कुरा उहाँहरूबीच भएछ। तर, सहमति नै भयो भनौँ भने लिखित केही भएको छैन। त्यो अन्तिम सहमति पनि होइन। प्रक्रियागत रूपमा उहाँहरू आउनुभयो भने कानूनी प्रक्रिया अघि बढ्छ,” उनले भने, “जाहेरी आयो भने हामी कानूनी प्रक्रिया अघि बढाउँछौँ। त्यो पर्खिरहेका छौँ।”
कुटपिटबाट दुवै चिकित्सक घाइते छन्। बुधबार जाहेरी दर्ता गर्ने वातावरण नभएकाले आफूहरूले अब सबै चिकित्सक, स्वास्थ्यकर्मीको तर्फबाट जाहेरी दिन लागिएको डा. थापाले बताए। “आज अस्पताल र कार्यरत सबै चिकित्सक तथा स्वास्थ्यकर्मी मिलेर जाहेरी दिन लागेका छौँ,” उनले भने, “मलाई चोट लागेकाले उपचारका लागि काठमाडौँ आएको छु। बाँकी साथीहरूले हेर्दै हुनुहुन्छ।”
बुधवार छलफलका क्रममा आक्रमणकारीहरूलाई कारबाही गर्नेविरुद्ध मुद्दा प्रक्रियामा नजान आफूहरूमाथि दबाब भएको डा. थापाले बताए। “हिजो माहोल थिएन। केही राजनीतिक कुराहरू पनि थिए। हामीले जाहेरी दिन सकेनौँ,” उनले भने, “आज छलफल भएर जाहेरी दिन लागिएको हो।” आफूहरूले अस्पतालमा विधिसम्मत् उपचार गर्दा लापर्बाही गरेको भन्दै दोष लगाउनु गलत भएको डा. थापाले बताए। बिरामीको श्वासप्रश्वासमा समस्या देखिएर ‘क्रिटिकल’ भएकै कारण अस्पतालले थप उपचारका लागि रेफर गरेको उनी बताउँछन्। डाक्टर बिडारी हेटौँडा अस्पतालमा एनेस्थेसिया विभागमा कार्यरत छन्।
चिकित्सकमाथि कुटपिट हुँदा अन्य बिरामीका कुरूवाविरुद्ध पनि दुर्व्यहार भएको अस्पतालले जनाएको छ। “हामी बिरामी हेर्नका लागि राउन्डमै थियौँ। एक समूह आएर कुरा गर्नुछ भन्दै भित्र पस्यो। काम गरिरहेका बेला घिसारेर बाहिर निकाले अनि हातपात गरिहाले,” डा. थापाले भने, “कुटपिटबाट म र विडारी सरलाई चोट लागेको छ।” चिकित्सकमाथि कुटपिट भएपछि संलग्नलाई पक्राउ नगरिएको भन्दै प्रहरीको आलोचना भइरहेको छ। तर जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सीताराम रिजालले बुधबार दुवै पक्षबीच छलफल भएर कानूनी उपचारमा नजाने भनेकाले कसैलाई पक्राउ नगरिएको बताए।
“हिजो मिलिसक्यौँ, जाहेरी दिन्नौँ भन्ने कुरा गरेर उहाँहरू सबै निस्कनुभयो। आज फेरि जाहेरी दिने भन्ने कुरा आएको छ। हामीलाई जाहेरी आयो भने कानूनी प्रक्रिया अघि बढाउछौँ,” उनले भने, “यो विषयलाई लिएर उजुरबाजुर गर्दैनौँ भन्ने कुरा गरेका थिए, आज चाहीँ मुद्दा चलाउनुपर्छ भन्ने कुरा भयो। त्यसका लागि त हामी जहिले पनि तयार छौँ।”
आफूले बुधबार नै जाहेरी आउनुपर्ने र यो प्रकरणमा मिलापत्र गर्न नहुने सुझाव दिएको एसपी रिजालले बताए। उनले चिकित्सकको तर्फबाट जाहेरी आएपछि दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइने बताए। सन्चो अस्पतालमा कार्यरत अर्का एक चिकित्सकले पनि डाक्टर कुटपिट गरिएको घटनामा मिलापत्र गर्न नहुने नेपाल चिकित्सक संघको निर्देशनपछि कानूनी प्रक्रियामा जान लागिएको बताए। चिकित्सक संघले घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ। संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९’ बमोजिम कानूनी कारबाही गर्न सरकार समक्ष माग गरेका छन्।
“चिकित्सकमाथि हमला गरी गम्भीर घाइते बनाइ अन्य स्वास्थ्यकर्मीहरूलाई धम्क्याएको घटनाले चिकित्सक संघ स्तब्ध बनेको छ,” विज्ञप्तिमा भनिएको छ, “घटनालाई अतिरन्जित गरी चिकित्सकलाई नै हातपात गर्ने जस्तो अस्वाभाविक र अमानवीय घटनाप्रति आपत्ति प्रकट गर्दै दोषीलाई यथाशीघ्र पहिचान गरेर कारबाहीको दायरामा ल्याउन संघ जोडदार माग गर्दछ।”
दोषीलाई ७२ घण्टाभित्र कानूनी कारबाही नगरे संघले कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।
डाक्टर कुट्ने ४ जना पक्राउ (अपडेट)
यसैबीच, डाक्टर कुट्ने चार जनालाई प्रहरीले बिहीबार अपराह्न पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपटि गर्ने हेटाैँडाका रमा प्रधान, रोहित प्रधान, रमिता प्रधान र अनुप प्रधानलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए।
पीडितले दिएको निवेदनको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। रितपूर्वक जाहेरी परेपछि कानूनअनुसार थप कारबाही अगाडि बढाइने डीएसपी भण्डारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
