संविधानसभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

पशुपति आर्यघाटमा नेम्वाङलाई छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन्। दागबत्ती दिएपछि नेपाली सेनाले शोक धुन बजाएको थियो ।

काठमाडौँ– संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। 

पशुपति आर्यघाटमा नेम्वाङलाई छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन्। दागबत्ती दिएपछि नेपाली सेनाले शोक धुन बजाएको थियो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए।

यस्तै, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरूले नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए। 

अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता छ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको थियो। 

त्यसअघि बालुवाटारस्थित निवासबाट शुरू भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो।