बिरामीका आफन्तसहितको समूहले अस्पतालमै आएर बुधबार दिउँसो हेटौँडास्थित सञ्चो हस्पिटलका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए। प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरेको छैन।
काठमाडौँ– मकवानपुरको हेटौँडामा ड्युटीमा रहेका दुई जना डाक्टर कुटिएका छन्। हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलका डाक्टरमाथि कुटपिट भएको हो।
बिरामीका आफन्तसहितको समूहले अस्पतालमै आएर बुधबार दिउँसो चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए।
उनीहरूलाई अस्पतालको एचडीयू वार्डमै पुगेर कुटपिट गरिएको थियो।
कुटपिटमा संलग्न समूहले आफ्ना आफन्तको उपचारमा लापरबाही गरेको आरोप लगाउँदै अस्पतालभित्रै डाक्टरहरूमाथि आक्रमण गरेको थियो।
गत साउन २२ मा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सञ्चो अस्पतालमा भर्ना भएका थिए। ४१ वर्षीय प्रधानलाई डेंगी भएको परिवारको आशंका थियो। तर, अस्पतालमा परीक्षण गर्दा डेंगी नेगेटिभ देखिएको थियो।
त्यसपछि उनले अवस्था सामान्य रहेकाले घरमै बसेर औषधी सेवन गर्ने बताएपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो। अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा पुन: समस्या देखिएपछि २ दिनपछि उनलाई सञ्चो अस्पतालमै ल्याइएको थियो।
“त्यसपछि थप उपचारका लागि अस्पतालले भरतपुर रेफर गरिदिएको रहेछ,” डीएसपी भण्डारीले भने, “त्यहिँ नै बिरामीको उपचारका क्रममा मृत्यु भएको रहेछ।”
उनको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज अस्पतालमा साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।
कुटपिटबाट डाक्टर थापाको नाकमा गम्भीर चोट लागेको सञ्चो अस्पतालले जनाएको छ। अस्पताल प्रशासनका अनुसार डाक्टरमाथि कुटपिट हुँदा अन्य बिरामीका कुरुवामाथि समेत हातपात भएको थियो।
यो घटनापछि प्रहरीको आलोचना भएको छ। प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरेको छैन।
“दिउँसो कुटपिटको घटना भएपछि साँझ दुवै पक्षले मिलापत्र गरिसकेको जानकारी पायौँ,” डीएसपी भण्डारीले उकालोसँग भने, “कसैको जाहेरी परेको छैन। जाहेरी नपरेकाले पक्राउ पनि गरिएको छैन।”
दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग
यसैबीच नेपाल चिकित्सक संघले बिरामीको उपचारमा खटिएका चिकित्सकमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ। संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९’ बमोजिम कानूनी कारबाही गर्न सरकार समक्ष माग गरेका छन्।
“चिकित्सकमाथि हमला गरी गम्भीर घाइते बनाई अन्य स्वास्थ्यमर्मीहरूलाई धम्क्याएको घटनाले चिकित्सक संघ स्तब्ध बनेको छ,” विज्ञप्तिमा भनिएको छ, “घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई नै हातपात गर्ने जस्तो अस्वाभाविक र अमानवीय घटनाप्रति आपत्ति प्रकट गर्दै दोषीलाई यथाशीघ्र पहिचान गरेर कारबाहीको दायरामा ल्याउन संघ जोडदार माग गर्दछ।”
संघले दोषीलाई ७२ घण्टाभित्र कानूनी कारबाही नगरे कडा आन्दोलन गर्ने समेत चेतावनीसमेत दिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
