म्यानमारसँग नेपाल पराजित

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १-० गोलअन्तरले पराजित भएको हाे।

फाइल तस्वीर

काठमाडाैँ– दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ। थुउन्ना रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल १-० गोलअन्तरले पराजित भएको हो।

म्यानमारको जितमा विन नाइङ्ग थुले गरेको एक मात्र गोल निर्णायक बन्यो। उनले कप्तान एमजी एलविनको पास गोल गरेका हुन्। त्यसपछि दुवै टोलीले केही अवसर पाएका थिए, तर सदुपयोग गर्न सकेनन्।

अर्को महिना हुने लाओसविरुद्धको विश्वकप तथा एशिया कप छनोटको तयारीका लागि नेपाल म्यानमार पुगेको हो। शुक्रबार भएको पहिलो खेलमा अन्जन विष्टले पेनाल्टी अवसर गुमाउँदा गोलरहित बराबरीमा सकिएको थियो। खेलको ५८औँ मिनेटमा अन्जनको प्रहारलाई म्यानमारका खेलाडीले हातले रोकेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो। तर, अन्जनको प्रहारलाई गोलकिपर क्यान सजिन फियोले बचाए।