लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्थ्याे : अर्थमन्त्री महत

नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकास गर्नुपर्ने उनकाे भनाइ छ।

काठमाडाैँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन्। 

११० औं बिपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लुम्बिनी र पोखरा विमानस्थल भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गरे। उनले अबको ४ वर्षसम्म काठमाडौँ–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा विमानस्थल पनि बनाइसक्ने बताए।

उनले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकास गर्नुपर्नेमा जाेड दिए। यस्तै, धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको उनकाे भनाइ छ। 

"नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी छ। नेपाललाई टुरिस्ट हब बनाउन सकिन्छ। अब भारत र चिनियाँ पर्यटकहरूलाई बढी ल्याउनुपर्छ, हामीले पूर्वाधारमा राम्रो लगानी गर्नुपर्छ। हाम्रो धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन सकेको छैन," उनले भने "पहिला लुम्बिनी र पोखरा एयरपोर्ट बनायाैँ। सबैभन्दा पहिला हामीले निजगढ बनाउनुपर्थ्याे। हाम्रो कतिपय प्राथमिकतालाई सही यकिन गर्न सकेका छैनौँ। निजगढको विषयमा गर्ने नगर्ने भन्ने धेरै भयो। फास्ट ट्रयाक भएपछि ४५ मिनेटमा काठमाडौँ आउन सकिन्छ। त्यो एयरपोर्टलाई हामीले उच्च प्राथमिकता दिनु नै पर्छ। ४ वर्षसम्म एयरपोर्ट बनाइसक्नेछौँ।"

मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको बताए। उनले आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने भन्दै सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए। गैर आवासीय नेपालीलाई भाेट हाल्न र राजनीति गर्नबाहेक सबै अधिकार दिएकाे र उनीहरूले गर्ने लगानीमा सरकारले सहयाेगी भूमिका खेल्नुपर्ने पनि उनले बताए। 

उत्पादनकाे जिम्मा निजी क्षेत्रलाई दिएर वितरणको जिम्मा सरकारले लिनुपर्ने उनकाे भनाइ छ। "वितरणको नेतृत्व सरकारले गर्ने हो, उत्पादनमा मेन सहायक हुने हो, निजी क्षेत्रलाई ड्राइभर बनाउने हो," उनले भने।