प्रधानमन्त्री अराजक भएको टिप्पणी गर्दै शेखरले भने– अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ

कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक भइसकेको आरोप लगाउँदै अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन्।

काठमाडौँ– नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेका छन्। शनिबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक भइसकेको आरोप लगाउँदै अब कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने धारणा राखेका हुन्। उनले कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने मात्रै आफूहरू अगाडि बढ्न सक्ने तर्क गरे।

“हामी ९० जना सांसद छौँ, ९ जना मन्त्री छन्। तपाईंहरूलाई लाग्दै होला हाम्रो मन्त्रीहरूले गरिरहनु भएको छ भनेर, धेरैलाई लागे होला मन्त्रीहरूले केही गर्नै सक्नु भएको छैन। संसदीय प्रणालीमा प्रधानमन्त्रीबाहेक अरू मन्त्रीहरूको कुनै रोल हुँदैन। यो बुझ्न जरुरी। प्रधानमन्त्री र मुख्यसचिव बसेर निर्णय गरेपछि त्यही निर्णय सदर हुन्छ। मान्दिनँ कुनै मन्त्रीले भन्छ भने राजीनामा देऊ जाऊ,” उनले भने, “त्यसकारण नेपाली कांग्रेसको नेतृत्वमा सरकार अब हुन जरुरी छ। अनि मात्र हामीहरू अगाडि बढ्न सक्छौँ,” उनले भने।

उनले राजनीतिक, आर्थिक सामाजिक, सांस्कृतिक, धार्मिक, कूटनीतिक चारैतर्फ अराजकता फैलिएको र चौतर्फी रूपमा कांग्रेसमाथि आक्रमण भइरहेको बताए। त्यो आक्रमणलाई चिर्न पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार चाहिएको उनको टिप्पणी छ।

उनले प्रधानमन्त्री दाहालले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएर असहज परिस्थितिलाई प्रोत्साहित गरेको तर्क गरे। “देशको प्रधानमन्त्री अराजक भइसक्नु भयो। उहाँले के भन्नुभयो आदिवासी जनजाति दिवसको दिन भने– मलाई तपाईंहरूले जिताउनुहोस् म तपाईंलाई जातीय राज्य दिन्छु। उहाँ पार्टीको अध्यक्षको हैसियतले बोलेको भए केही अप्ठ्यारो हुँदैन थियो तर देशको प्रधानमन्त्रीले गैर जिम्मेवार कुरा गर्न मिल्दैन,” उनले भने। उनले काठमाडौँ मेयर बालेन शाहको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। लोकरिझ्याइँका कुराले अप्ठ्यारो अवस्था सिर्जना हुँदै गएको उनले औँल्याए।

उनले धरानमा धेरै तनावको स्थिति रहेको र कुनै दिन पनि भड्किएर जातीय द्वन्द्वमा जान सक्ने औँल्याउँदै त्यो रोक्ने काम कांग्रेसको काँधमा आएको जिकिर गरे। जिम्मेवार पार्टीका नाताले कांग्रेसले त्यस्ता द्वन्द्वलाई समाधान गरेर अगाडि बढ्नुपर्ने आवश्यकता कांग्रेसमा रहेको औँल्याए। उनले कांग्रेसमाथिको आक्रमणलाई चिर्न आपसी तिक्ततालाई बिर्सेर अगाडि बढ्ने आवश्यक रहेको बताए। “हामीले सद्भाव कायम गर्न सकेनौँ भने देश अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट जान्छ,” उनले भने।

उनले कांग्रेसमा देखिएको व्यक्तिवादी चरित्रलाई त्याग गर्न र कसैको इसारामा नचल्न पनि नेता–कार्यकर्तालाई आग्रह गरे। “त्यो जातीयता र साम्प्रदायिकतालाई पनि हामीहरूले त्याग गर्न जरुरी छ,” उनले नेता कार्यकर्तालाई सचेत गराउँदै भने, “र सबैभन्दा महत्त्वपूर्ण कुरा के भने कसैको इसारामा नहिँड्नुहोस्।” उनले दुईचोटिको चुनावमा नेकपा माओवादीसँग गठबन्धन गर्नु कांग्रेसका लागि ठूलो भूल भएको पनि बताए।