आदेशको भरमा पार्टी चल्दैन : ईश्वर पोखरेल

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सारा विरोधीहरू एक ठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाए।

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आदेशको भरमा पार्टी नचल्ने टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एमाले ओखलढुंगा–काठमाडौँ सम्पर्क मञ्चको पार्टी विस्तार तथा सुदृढीकरण विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका निर्णय तल्लो तहसम्म पुर्‍याउने विधि प्रभावकारी नभएको र व्यक्तिगत आदेश हाबी भएको तर्क गरे।

“फाइँफुइँ लाउने नेताहरू भेटिन सक्छन्। यस्ता नेताहरूको काम छैन। हामीले मान्छेको मन जित्नु पर्छ भनिरहेका छौँ। फाइँफुइँ लाएर कसरी काम हुन्छ,” उनले भने, “यो मैले भन्दिएँ, यो मैले आदेश दिएँ, अरे यार तिमी आदेश दिने को हौँ?” 

त्यस्तै, उनले पार्टीका निर्णय कार्यान्वयनमा समस्या देखिएको र यसरी पार्टी नबन्ने बताए। “निर्णय तल पुगेकै छैन। अनि पार्टी बन्छ कसरी? पार्टी त हावादारी बन्छ त्यसपछि, अहिले हाम्रो पार्टी हावादारी–हावादारीजस्तो भएको यही कारणले हो। निर्णय माथि एउटा छ त्यो निर्णय तल पुग्दैन,” उनले भने।”

फरक प्रशंगमा उनले सत्ता गठबन्धनतर्फ इंगित गर्दै सारा विरोधीहरू एक ठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाए। “अहिले पनि हाम्रा अगाडि चुनौतीहरू छन्। आफैँभित्रका चुनौती र कमजोरी छन्। र बाहिर पनि शत्रुहरूले मिलेर हामीलाई हमला गर्दै छन्। सारा विरोधीहरू एक ठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गर्दै छन्। यस बीचमा हाम्रो मेलमिलाप हुनुपर्छ। एक हुनु पर्छ।”