भूकम्पले क्षतिग्रस्त बनेकाे जय बागेश्वरी मन्दिरकाे पुनःनिर्माण सकिएकाे छ। १९९० सालकाे भूकम्पमा समेत क्षतिग्रस्त भएकाे याे मन्दिर त्यतिबेला पनि पुनःनिर्माण गरिएकाे थियाे।
काठमाडौँ- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जय बागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ। बागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताए। उनले भने,“मन्दिरको गारो जोड्न साँखु र लुभुबाट माटो ल्याइएको थियो, पहेँलो र बलौटे माटो मिसाएर जोड्दा काम गर्न सहज भएको हो”।
भूकम्पले पूर्णरूपमा क्षति भएको मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीनवटा गजुर भेटिएको थियो। पुनःनिर्माणका क्रममा तीनवटै गजुरलाई एक तह छोपिएको छ। त्यसमाथि अर्को तहले छोपेर बाहिर देखिने गजुर राखिएको कोषका निर्देशक मरासिनीले बताए।
जय बागेश्वरीको उदाहरणपछि एक तले मन्दिर माटोको जोडाइबाट बनाउन सकिन्छ भन्ने पुष्टि भएको छ। मन्दिर ठडिए पनि तान्त्रिक विधिले कोरिएको भित्तेचित्रको काम भने बाँकी छ। कोषका इन्जिनियर पशुपति ठाकुर तान्त्रिक विधिले भित्तेचित्र निर्माण गर्न तीन महिना लाग्ने बताउँछन्। मन्दिर पुनःनिर्माणका लागि पटक–पटक थपिएको म्याद भने आगामी कात्तिक २ गते सकिँदैछ।
मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवीदेवताका चित्र, तीन गजुरको मन्दिरलगायत संरचना भेटिएको थियो। यसको अध्ययनका लागि पुरातत्त्व, संस्कृतिविद्लगायत विज्ञको समिति गठन गरी थप अनुसन्धान गरिएकाले पुनःनिर्माणमा ढिलाइ भएको हो। समितिले माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण गर्नुपर्ने सिफारिस सहितको प्रतिवेदन दिएको थियो।
सडकमा रहेको मन्दिर पुनःनिर्माणका लागि चुना सुर्कीको अनुमानित खर्चसहित कोषले २०७५ माघमा तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरेको थियो।
सम्झौता अनुसार मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्ते चित्रलगायत संरचना भेटिएको थियो। जसका कारण निर्माण अवधि बढेर दोब्बर समय लागेको हो। पुरातत्त्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्त्विक महत्त्वका मन्दिर पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानुनी व्यवस्था अनुसार कोषलाई सुझाव दिएको बताउँछन्। उनले भने, “माटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएका छौँ, माटोको जोडाइबाट पुनःनिर्माण गर्दा भित्र भेटिएका चित्र फेरि राख्न भनेका थियौँ।” विज्ञ समितिको प्रतिवेदन अनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरेको थियो। साँखुस्थित बज्रयोगिनी मन्दिरमा इट्टाको बीचमा राखिएको माटोको परीक्षण गरिएको कोषका प्रशासकीय अधिकृत सीताराम रिसालले बताए।
रु तीन करोड १४ लाखमा बागेश्वरी मन्दिर समग्र पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको हो। विश्व सम्पदा सूचीमा सूचीकृत स्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐन अनुसार यहाँ पुनःनिर्माणको काम गरिएको छ। कोषका निर्देशक मरासिनी जय बागेश्वरीको पुरानो संरचना अनुसार पुनःनिर्माणको काम भएको बताउँछन्।
कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एन्ड ट्राभल्सका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो। शर्माले पुनःनिर्माणको काम सुरु गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्द गरियो। जिम्मा लिएका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महिना बित्दा पनि नगरेपछि कोषले सम्झौता रद्द गरेको थियो।
दाता शर्मा सुरुमा पुरातत्त्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनःनिर्माण सुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनःनिर्माणबाट पछि हट्न बाध्य हुनुपरेको बताउँछन्। सती प्रथा रहुन्जेल राजा महाराजाको निधनमा सती जाने रानीको गरगहना सबै जय बागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने किंवदन्ती रहेकाे छ।
चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा. गोविन्द टण्डन बताउँछन्। पशुपति क्षेत्रमा रहेका पाँच सय १८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पुर्याएको थियो। १५ सम्पदा पूर्णरूपमा क्षति भएका थिए। पशुपति क्षेत्रका ८० वटा सम्पदामा आंशिक क्षति भएको थियो।
भूकम्पले प्रभावित ३२ जिल्लामध्ये २९ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुगेको थियो। तीमध्ये हालसम्म छ सय ७० वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए। उनले भने, “भूकम्पले अन्य संरचनामा क्षति पुगेका नवलपरासीका दुई जिल्ला र मुस्ताङका सम्पदामा भने क्षति गरेन।
जय बागेश्वरीको ऐतिहासिक पृष्ठभूमि
जय बागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो। विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो।
मन्दिरको कलेवर १२/१२ वर्षमा फेर्ने गरिएको छ। कलेवर फेर्दा बागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ। जय बागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ। यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीयवासी सन्देश मुनिकारले बताए।
जय बागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रूपमा मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ। तन्त्र साधना गर्नेले अन्तिममा जय बागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ। मन्दिरसँगै सुनधारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ। जय बागेश्वरीको ठिक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ।
बागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ। स्थानीयवासी मुनिकार ‘गोल’ भनिने बागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउँछन्। यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोकालगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ।
गोपाल र किरात शासनकालको राजधानी बागेश्वरी थियो। लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको हो। मल्लकालमा हाँडीगाउँबाट हनुमान ढोकामा राजधानी सारिएको इतिहासविद्हरूको भनाइ छ। ऐतिहासिक एवं सांस्कृतिक रूपले महत्त्वपूर्ण क्षेत्र भए पनि जय बागेश्वरीका सम्पदाको संरक्षण हुन नसकेकोको स्थानीयवासीको गुनासो छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
