चिनियाँ राजदूतलाई सचेत गराउन संसदीय समितिको निर्देशन

 संसदीय समितिले नेपाल र भारतबीचको व्यापारका सम्बन्धमा चिनियाँ राजदूत छन् सङले दिएको अभिव्यक्तिबारे आवश्यक जानकारी लिएर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।

काठमाडौँ– संसदीय समितिले नेपाल र भारतबीचको व्यापारका सम्बन्धमा चिनियाँ राजदूत छन् सङले दिएको अभिव्यक्तिबारे आवश्यक जानकारी लिएर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। बिहीबार बसेको संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

सभापति राजकिशोर यादवले परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिएका हुन्। नेपाल सार्वभौम मुलुक भएको र के गर्ने नगर्ने भन्ने निर्णय नेपालको आन्तरिक विषय भएको भन्दै समिति सभापति यादवले भने, “चिनियाँ राजदूतले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति के हो भन्नेबारे परराष्ट्र मन्त्रालयले सोधपुछ गरेर सचेत गराउन निर्देश गर्दछु।”

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युत्बाट घाटा बेहोरिरहेको अभिव्यक्ति दिएका थिए। यसबारे बैठकमा बोल्दै सांसदहरूले चीनले नेपालको अन्य देशसँग भइरहेको सम्बन्धबारे बोल्न नमिल्ने, राजदूतको अभिव्यक्ति अशोभनीय भएको र उनलाई सचेत गराउनुपर्ने धारणा राखे‍का थिए।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा आउने राजदूतहरूले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिएर अभिव्यक्ति दिनुपर्ने औँल्याए। कसैको अभिव्यक्तिबाट नेपालमा जटिलता थपिन नहुनेमा सबैले ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

“सबै देशका राजदूतहरूले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो देश नेपाल अत्यन्तै संवेदनशील अवस्थामा रहेको छ। यसको भू–राजनीतिक संवेदनशीलता छ। यो भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखीकन, असंलग्न परराष्ट्र नीतिको मान्यतामा नेपाल दृढ भएको कुरालाई ध्यानमा राखीकन कसैले पनि आफ्ना बोली, अभिव्यक्तिहरू अगाडि सार्नुपर्दछ। त्यस्तो कुरामा सबैले विचार पुर्‍याउन्,” उनले भने।

नेकपा एमालेका सांसद भीम आचार्यले नेपालको आन्तरिक मामिलामा कुनै पनि देशले बोल्नु राम्रो नभएको बताए। उनले चिनियाँ राजदूतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्ट पारेपछि मात्रै आफूहरूले थप दृष्टिकोण राख्ने उनको भनाइ थियो।

“नेपालको आन्तरिक मामिला र अन्य देशहरूको सन्दर्भमा कुनै पनि पक्षले बोल्नु राम्रो होइन। तर चिनियाँ राजदूतले के बोल्नुभएको हो, त्यो प्रष्ट बुझेर उहाँहरूसित बुझेर वा अन्य माध्यमबाट बुझेर हाम्रो परराष्ट्र मन्त्रालयले यससम्बन्धी प्रष्ट पारिदियो भने हाम्रो दृष्टिकोण राखौँला,” उनले भने।

नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा तेस्रो पक्षले टिप्पणी गर्ने परम्परा बस्न दिनु नहुने धारणा राखे। उनले अरूको घरेलु मामिलामा बोल्नु अन्तर्राष्ट्रिय कूटनीतिको हिसाबले पनि बेठिक भएको बताए। यस विषयमा चिनियाँ राजदूतलाई सतर्क गराउन परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने उनको भनाइ थियो।

“को–को राजदूतले ? कहाँको राजदूतले भन्दा पनि  हाम्रो आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्ने, या कोही छिमेकसँग या तेस्रो पक्षसँग नेपालको सम्बन्धको विषयमा अरूले टिप्पणी गर्ने परम्परा बस्नै दिनु हुँदैन,” उनले भने, “त्यसमा सतर्क बनाउने, कुन सन्दर्भको हो स्पष्टीकरण लिने या के गर्ने हो मन्त्रालयले, सरकारले यसमा पहल गरोस्।”

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले चिनियाँ राजदूतको अभिव्यक्ति घोर आपत्तिजनक भएको टिप्पणी गरे। उनले यो गम्भीर कुरा भएको भन्दै दुई देशको सम्बन्धमा तेस्रो देशले अभिव्यक्ति दिनु शोभनीय नभएको बताए। “चीनको राजदूतको अभिव्यक्ति घोर आपत्तिजनक छ। दुई देशको सम्बन्धमा तेस्रो देशले त्यस किसिमको अभिव्यक्ति दिनु शोभा दिँदैन” उनले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले चिनियाँ राजदूतको अभिव्यक्तिको सम्बन्धमा सरकारले उनलाई बोलाएर सचेत गराउनुपर्ने बताए। राजदूतहरूले अन्य देशसँगको सम्बन्धबारे अभिव्यक्ति दिने कुरालाई रोक्नुपर्ने उनको भनाइ थियो। “यस्तो कुराहरू नगर्नुहोला भनेर सबै राजदूतहरूलाई र सबै डिप्लोम्याटिक मिसनहरूलाई परराष्ट्र मन्त्रालयले यस्तो विषयमा गम्भीर भएर उहाँहरूलाई सचेत गराउनुपर्ने आवश्यकता छ,” उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले राजदूतहरूले नेपालको अन्य देशसँगको सम्बन्धबारे टिप्पणी गर्न थालेमा देश भू–राजनीतिक जटिलतातर्फ जाने औँल्याए। यसर्थ राजदूतलाई सचेत गराउनुपर्ने उनको पनि भनाइ छ।

“संवेदनशील भू–राजनीतिक अवस्थामा हामी छौँ। विभिन्न देशका राजदूतहरूले हाम्रोबारे, हाम्रो आन्तरिक मामिलाबारे अथवा हाम्रो परराष्ट्र सम्बन्धबारे टीकाटिप्पणी गर्ने, त्यसमा हामीले नजरअन्दाज गर्न थाल्यौँ भने भोली भू–राजनीतिक जटिलतातर्फ मुलुक जाने छ। त्यसले थप हामीलाई क्षति पुर्‍याउन सक्छ। त्यसतर्फ पनि परराष्ट्र मन्त्रालयले तुरुन्तै डिप्लोम्याटिक नोट पठाओस् अथवा सचेत गराओस्,” उनले भने।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तत्कालीन भारतका लागि नेपाली राजदूतले चीनसँगको सम्बन्धबारे टिप्पणी गरेको भन्दै त्यस विषयमा पनि छलफल गर्नुपर्ने औँल्याए।

“चीनले के गरेको छ नेपालमा, भारतले त के–के गरेको छ? त्यसबेला छलफल गर्नुपर्दैन? त्यो नेपालको राजदूतलाई भन्नुपर्दैन? हाम्रो राजदूतले चीनको बारेमा टिप्पणी गर्दा के गर्दै थियो? आज चीनले के नराम्रो बोल्यो भनेर एक, एक विषय केलाऊँ न,” उनले भने।

आमजनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल–भारत सम्बन्धमा चीनले बोल्नु जरुरी नभएको टिप्पणी गरे। आगामी दिनमा यसरी अभिव्यक्ति दिने कुरामा सुधार गर्नुपर्ने उनको भनाइ छ। उनले राजदूतले बोल्ने, नबोल्ने विषयहरूमा संहिता नै बनाएर राजदूतहरूलाई सचेत गराउनुपर्ने बताए।