प्रधानमन्त्रीले सदनलाई महत्त्व नदिएको एमाले सांसद पन्तको आरोप

भारततर्फ संकेत गर्दै सांसद पन्तले नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने अजेन्डालाई प्राथमिकतासाथ अघि बढाउनुपर्ने बताए।

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले आफ्नो आसन्न चीन भ्रमणबारे सदनलाई महत्त्व नदिएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेषमा बोलेका उनले प्रधानमन्त्रीले चीन भ्रमणबारे विभिन्न ठाउँमा भाषण गर्दै हिँडेको तर सदनमा कुनै पनि जानकारी नगराएको आरोप लगाएका हुन्। उनले प्रधानमन्त्री दाहालको चीन भ्रमणको प्राथमिकता के हो त्योसमेत प्रष्ट नभएको दाबी गरे।

“प्रधानमन्त्री र परराष्ट्रमन्त्री अगामी चीन भ्रमणका बारेमा सार्वजनिक रूपमा भाषण दिँदै हिँड्नु हुन्छ। तर संसद्लाई केही पनि थाहा नै छैन। हामीले प्रधानमन्त्रीको चीन भ्रमणको मिति र अजेन्डाहरू यो यो हुन सक्छ भनेर विभिन्न चर्चा र परिचर्चामा सुन्नुपर्छ,” उनले भने, “प्रधानमन्त्रीलाई संसद्मा आएर संसद्को भावना बुझ्ने र चीन भ्रमणबारे छलफल गर्ने फुर्सद नै छैन। यो विषयमा संसद्मा प्रष्ट पार्न माग गर्न चाहन्छु।”

सांसद पन्तले प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ (तेल) र रेल नेपालमा ल्याउने कुरामा विशेष पहल गर्नुपर्ने पनि सुझाव दिए। भारततिर संकेत गर्दै उनले नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने अजेन्डालाई प्राथमिकतासाथ अघि बढाउनुपर्नेमा जोड दिए।

“हिजो जसरी नाकाबन्दीताका हामीलाई तेल रोकियो। त्यस्तो स्थिति भोलि नआओस् भन्नका लागि चीनतिरबाट रेल र तेल ल्याउने कुरा नेपालको प्राथमिकतामा पर्नुपर्छ। त्यसैले यो विषय प्रधानमन्त्रीको भ्रमणमा अत्यन्त महत्त्वसाथ यो उठोस्। र, ट्रान्समिसन लाइनहरू निर्माण गर्ने कुरामा जोड दिइयोस्” उनले भने। 

सांसद पन्तले जलाशययुक्त विद्युत् आयोजनामा लगानी भित्र्याउन चीनसँग आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए। नेपाल अझै विद्युत्मा आत्मनिर्भर नभएको उल्लेख गर्दै त्यसमा आत्मनिर्भर बनाउन सरकारले जलाशययुक्त आयोजनाहरूको निर्माणमा ध्यान दिनुपर्ने उनले औँल्याए। 

“हामीले बिजुली बेच्न थाल्यौँ भन्छौँ, तर गएको तथ्यांक हेर्दा १९ अर्बको बिजुली किन्यौँ। १० अर्बको मात्र बेच्यौँ। अनि कसरी हामी आत्मनिर्भर भयौँ?” उनले भने, “त्यसैले साँचो अर्थमा हामीलाई बिजुलीमा आत्मनिर्भर हुन हामीलाई जलाशयमा आधारित योजना चाहिन्छ। त्यस्तो कुनै योजना चीनले बनाइदिन्छ भने हामीले त्यसको लागि पनि पहल गर्नुपर्दछ।”