अमेरिका हुँदै चीन जाँदै प्रधानमन्त्री, यस्तो छ भ्रमणको कार्यसूची

७८औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल भदौ ३० देखि असोज ४ सम्म अमेरिकाको भ्रमणमा रहेन कार्यक्रम तय भएको परराष्ट्रमन्त्रीले बताए।

काठमाडौँ– संसदीय समितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न अमेरिका तथा चीन भ्रमणबारे परराष्ट्रमन्त्रीले सांसदहरूलाई जानकारी गराएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सबन्ध तथा पर्यटन समितिमा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा प्रधानमन्त्री दाहालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता र चीन भ्रमणका सम्बन्धमा सांसदहरूलाई जानकारी दिएका हुन्।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको ७८औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल भदौ ३० देखि असोज ४ सम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा गर्ने कार्यक्रम तय भएको उनले बताए।

भ्रमणमा प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्यसचिव, परराष्ट्र सचिवलगायत उच्चपदस्थ पदाधिकारीहरूसहितको सहभागिता हुने छ। त्यस्तै, उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्य दूतावासका पदाधिकारीहरूका साथै नेपालबाट मिडिया प्रतिनिधिहरूसमेत हुने छन्।।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यसूची तय भएको छ। साथै, महासभाको स्टेनेबल डेभेलप्मेन्ट गोल्स समिट, क्लाइमेट एम्बिसन समिट लगायतका अजेन्डासहितका उच्चस्तरीय कार्यक्रमहरूमा पनि सहभागी भई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्री साउदले जानकारी दिए।

विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख वा उच्च राजनीतिक सहभागिता हुने राष्ट्र संघीय उक्त मञ्चमा नेपाल सरकारका विकास प्राथमिकता, प्रमुख उपलब्धि तथा चुनौतीहरू प्रस्तुत गर्ने अवसरसमेत प्राप्त हुने उनको भनाइ थियो।

“जलवायु परिवर्तनसम्बन्धी क्लाइमेट एम्बिसन समिटमा भाग लिनका लागि संयुक्त राष्ट्रसंघका महासचिवबाट निमन्त्रणा पठाइएका मुलुकहरूमा नेपालसमेत पर्नु गौरवको विषय हुनुका साथै जलवायु परिवर्तनका राष्ट्रिय मुद्दाहरूलाई विश्व समुदाय सामु मुखरित गर्न पाउनु आफैँमा महत्त्वपूर्ण विषय हो,” उनले भने।

भ्रमणका दौरान महासभाका साइड लाइनमा प्रधानमन्त्री दाहालको विभिन्न मित्र राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरूसँग भेटवार्ताको कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ।

मन्त्री साउदका अनुसार अति कम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि प्रयासरत नेपालले यस पटक उक्त समूहको अध्यक्षसमेतका हैसियतबाट सभाको बैठक सञ्चालन गर्ने कार्यक्रम रहेको छ। यसैगरी, नेपालले साबिक बमोजिम वार्षिक रूपमा आयोजना हुँदै आएका जी७७ र चाइना, एलएलमीसीएस् लगायतका बैठकमा समेत भाग लिनेछ।

भदौ १९ गतेबाट शुरू भएको संयुक्त राष्ट्रसंघको महासभाको ‘हाइ–लेभल सेग्मेन्ट’ सेप्टेम्बर १८ देखि २६ सम्म चल्नेछ। महासभाको ट्रिनिडाड र टोबागोका राष्ट्रपति एल डेनिस फ्रान्सिसले गर्ने छन्। उच्चस्तरीय छलफलका लागि दूरगामी महत्त्व राख्ने दिगो विकास लक्ष्य, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीहरूलगायतका सवालहरूमा सम्बोधन गर्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई संयुक्त राष्ट्रसंघका महासचिवबाट निमन्त्रणा प्राप्त भएको हो।

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागितापश्चात् असोज ५ गते प्रधानमन्त्री दाहाल छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको उनले जानकारी गराए।

‘प्रधानमन्त्रीको चीन भ्रमणको अजेन्डा तय भइसकेको छैन’
परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणको अजेन्डा तय भई नसकेको बताए। उनले भ्रमणको अजेन्डाको सम्बन्धमा द्विपक्षबीच छलफल चलिरहेको बताए। भ्रमणका क्रममा ठूलो लिस्ट बोकेर जानेभन्दा पनि डेलिभरी हुन सक्ने परियोजना र मुद्दालाई अगाडि बढाउने प्रस्ताव लिएर जाने उनको भनाइ थियो। 

उनले चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको विषयलाई अजेन्डा बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए। त्यस्तै, कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा पनि छलफल चलिरहेको उनको भनाइ छ।