‘विश्वासको मत’माथि विवादसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो।

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। मंगलबारदेखि शुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो।

न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा मंगलबार सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण पूरा हुन सकेन। नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो।