हुलाकी सडकमा ठेकेदारको लापरबाही, कञ्चनपुरमा २ खण्डको निर्माण अलपत्र

पाँचौँ पटकको म्यादमा पहिलो प्याकेज (डोकेबजार–बेलौरी)खण्ड निर्माण सकिएको छ। बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा ९.५ किलोमिटर सडक मात्र कालोपत्र भएको छ।

फाइल तस्वीर

महेन्द्रनगर– कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ। पाँचौँ पटक थपिएको म्याद असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले छैटौँ पटक म्याद थपेको छैन।

म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर्ने छाँट नदेखाएकाले पनि म्याद थपको विषय अन्योलमा परेको छ। हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले निर्माण व्यवसायीले काम थाल्ने अवस्थामा मात्रै म्याद थप हुनसक्ने बताए। 

“काम नगर्ने र म्याद मात्रै थप्ने वातावरण देखिए ठेक्का तोड्ने स्थिति छ,” उनले भने, “निर्माण व्यवसायीको काममा म्याद थपको निर्क्यौल लाग्छ।” पुर्नवास नगरपालिकाको डोकेबजारबाट बेदकोट नगरपालिकाको दैजीचोकसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो।

३० महिनामा सक्ने गरी तीनवटा प्याकेजमा सम्झौता भए पनि पाँचौँ पटकको म्यादमा रहेर पहिलो प्याकेज (डोकेबजार–बेलौरी)खण्ड मात्रै सकिएको हुलाकी राजमार्ग योजना कार्यालयको भनाइ छ। यहाँ बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्र कालोपत्र भएको छ।

उक्त कामको जिम्मा ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ। उक्त निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी योजना कार्यालयको सम्पर्कमा समेत नरहेको बुझिएको छ। सो प्याकेजको पहुँच क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न अवरोध छ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २४ किलोमिटरमध्ये ८.५ किलोमिटर सडक मात्रै कालोपत्र भएको इन्जिनियर सुनारले बताए। “उक्त अन्तिम प्याकेजको म्याद थप अन्योल भएकाले निर्माण व्यवसायीले काम गरेको ६५ लाख रकम दिन पनि बाँकी छ,” उनले भने, “दोस्रो प्याकेजको काम यही निर्माण व्यवसायीले गर्नेमा आशंका देखियो।”

लामो समय बितिसक्दा पनि निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने भए पनि बेवास्ता गरेको देखिएको। “अब ढिलोमा छ–सात महिनामा सकिने काम मात्रै बाँकी छ,” उनले भने, “तर काम गर्ने माहौल नदेखाएकाले समस्या भएको हो।”

त्यसैगरी कैलालीमा विभिन्न खण्डमा सडक निर्माण भइरहेको छ। “कैलालीमा हुलाकी सडकका सबै प्याकेजको म्याद रहेकाले काम भइरहेको छ,” इन्जिनियर सुनारले भने, “तर यस वर्ष बजेट कम विनियोजन भएकाले योजनाका लागि आर्थिक अभाव हुनसक्छ।”