भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

बाढीपहिराले ढोरपाटनमा ठूलो क्षति पुगेपछि मन्त्रिपरिषद् बैठकमार्फत बागलुङलाई विपद् जोखिम क्षेत्र घोषणा गरिएको थियो। तीन वर्षसम्म उक्त घोषणा सरकारको कागजमै सीमित रहेको स्थानीयको भनाइ छ।

बागलुङ– विसं २०७७ भदौ १७ गते भुजीखोला किनारका स्थानीयका लागि कालो दिन हो। रातको १२ बजेको हुँदो हो भुजीखोलामा अनायासै आएको बाढीले यहाँका स्थानीयलाई न त पानी भन्न दियो, न त गुहार नै माग्न।

केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो। बागलुङ ढोरपाटन नगरपालिका–९ को भुजीखोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंस मच्चाउला भनेर कसैले सोचेका थिएनन्। खोलाको बहाव आफ्नै गतिमा थियो। अघिल्ला वर्षमा पनि खोला यसैगरी सुसाउँथ्यो र त्यो वर्ष पनि उस्तै थियो। 

खोला अघिल्ला वर्षको जस्तो सुसाएर मात्रै बसेन। बाउबाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्तीबेँसी झरेका बेला बोबाङवासीका आश्रयस्थल थिए। ढोरपाटन र बुकीमा बसेर गाईबाख्रा पाल्ने अधिकांश बोबाङवासीको छ महिनाको बसाइँ भुजीखोला छेउछाउमा भए पनि उनीहरूको स्थायी बसोबास यहीँ हो।

त्यस रात बाढीपहिराले ढोरपाटन–९ देखि ६ सम्मको खोला किनार बढार्‍यो। कसैलाई लछारेर किनारा लगायो, कसैको प्राण लियो र धेरै जना अझै बेपत्ता छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार भुजीखोलाको बाढीपहिरोका कारण ढोरपाटनका मात्रै ३७ जनाले ज्यान गुमाएका थिए। २२ जनाको शव भेटिए पनि १५ जनाको अझै अत्तोपत्तो नभएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन्। 

ढोरपाटन–९ को सुर्तिबाङमा पहिरो खसेर भुजीखोला थुनिएपछि नरसंहार मच्चाउने गरी बाढी आएको स्थानीयले सम्झिन्छन्। “भदौ १७ गते रातको १२ बजेदेखि सम्पर्कविहीन भएका ४० जनामध्ये तीन जना घाइते अवस्थामा भेटिएका थिए,” उनले भनिन्, “त्यसयता निरन्तर एक महिनाको खोजीमा २२ को शव भुजीखोला र बडिगाड खोलाकिनारमा भेटियो, १५ को अझै अत्तोपत्तो छैन।”

खोजी कार्य अहिले पनि नरोकिएको बताउँदै प्रजिअ श्रेष्ठले लामो समय भइसकेकाले बेपत्ता भेटिने सम्भावना निकै कम रहेको जना‍इन्। उनका अनुसार बेपत्ताका परिवारले अहिलेसम्म पनि राहत पाउन सकेका छैनन्। 

प्रजिअ श्रेष्ठले भनिन्, “कार्यविधिमा मृत्यु भएकाका लागि मात्रै राहत दिने व्यवस्था छ, बेपत्ता भएकाको हकमा १२ वर्षपछि मृत्यु मानिने प्रावधान छ।” बेपत्ता परिवारका सदस्य राहतका लागि प्रशासन आउने गरेको भए पनि रित्तो हात फर्काउनु परेको उनको भनाइ थियो। 

बाढीपहिराले ढोरपाटनमा ठूलो क्षति पुगेपछि मन्त्रिपरिषद् बैठकमार्फत बागलुङलाई विपद् जोखिम क्षेत्र घोषणा गरिएको थियो। तीन वर्षसम्म उक्त घोषणा सरकारको कागजमै सीमित रहेको स्थानीयको भनाइ छ।

प्रजिअ श्रष्ठका अनुसार जिल्लाभरि ६३२ घर पुनर्निर्माण गर्नुपर्ने गरी भत्केका छन्। ढोरपाटनमा मात्रै १३२ घरमा क्षति पुगेको थियो। बाढीले घरबास उठाएको दुई वर्षपछि सरकारले विपद् जोखिम क्षेत्रमा कार्यक्रम ल्याएको उनले जानकारी दिइन्। समयमा पुनः निर्माणको कार्यक्रम नआउँदा पीडित बसाइँ सरेर अन्यत्रै गएका छन् भने कतिपय अझै बिचल्ली छन्।

कसैले आफैँले घर बनाए भने केहीको नगरपालिकाले दिएको सानो रकमले घर बनेका नगरपालिकाले जनाएको छ। गृह मन्त्रालयअन्तर्गत रहेको ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’को कार्यक्रम कार्यान्वयन गरिरहेको जिल्ला प्रशासन कार्यालयले ८२ घरका लागि पहिलो किस्ताको रकम पठाएको जनाएको छ। अठार घरको दोस्रो किस्ता पाइप लाइनमा रहेको प्रजिअ श्रेष्ठले बताइन्।

निजी आवास पुनः निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७ बने पनि जिल्लामा ढिला गरी कार्यान्वयन भएको उनको भनाइ थियो। “कार्यविधिको दफा ४ को उपदफा ३ बमोजिम प्रक्रिया पुगेका घर पुनर्निर्माणमा राज्यले सहयोग गर्ने उल्लेख छ”, प्रजिअ श्रेष्ठले भनिन्, “कार्यविधिअनुसार पहाडी जिल्लामा घर बनाउन रू चार लाख, घडेरीका लागि रू तीन लाख गरी पीडितले रू सात लाखसम्म पाउनुपर्ने व्यवस्था छ।” 

उक्त रकममध्ये गाउँपालिका भए १० प्रतिशत र नगरपालिका भए १५ प्रतिशत स्थानीय तहले लगानी गर्नुपर्ने व्यवस्था रहेको जनाउँदै प्रदेश सरकारले ३० प्रतिशत लगानी गरेपछि बाँकी रकम संघले गर्ने व्यवस्था रहेको उनले जानकारी दिइन्।

नगरपालिकाले राहत कोषमा जम्मा भएको रकमबाट दिएको अनुदानले घर बनाएकाले कार्यविधिले तोकेको रकम पाउने वा नपाउने भन्नेमा भने अन्यौल छ।