कोशी प्रदेश सरकारविरूद्धको रिट सपना प्रधानसहितको पूर्ण इजलासमा

मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै परेको रिटमा सोमबारदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लसहित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङविरुद्धको रिटमा सुनुवाइ हुन लागेको हो। आइतबार न्यायाधीश मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले रिट सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो। सोहीअनुसार सोमबार तोकिएको पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुन लागेको हो।

भदौ ४ मा मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।