कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो।

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ। 

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो। थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए। 

संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने निर्णय गरेसँगै अब कम्तीमा तीन न्यायाधीशको इजलासले सुनुवाइ गर्नेछ। उक्त रिटमा सोमबारदेखि नै निरन्तर सुनुवाइ हुने भएको हो। 

यसअघि प्रारम्भिक सुनुवाइमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो।