स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउ

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१७ माडरका प्रेमकुमार यादव र ७ नम्बर वडाका सञ्जयकुमार साह छन्।

काठमाडौँ– स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित सिरहामा दुई जना पक्राउ परेका छन्। 

शुक्रबार राति सिरहा नगरपालिका–१७ कालीचोकमा जाँच गर्ने क्रममा कारको सिटमुनि लुकाई राखेको अवस्थामा स्रोत नखुलेको ४४ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१७ माडरका प्रेमकुमार यादव र ७ नम्बर वडाका सञ्जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए। 

बरामद रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको उनले बताए।