नेपालको नक्सालाई छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सालाई छिमेकी दुवै मुलुक र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने स्पष्ट पारेको छ।

काठमाडौँ– परराष्ट्र मन्त्रालयले हालै चीनले सार्वजनिक गरेको नयाँ नक्साबारे स्पष्ट पारेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक तथा प्रशासनिक नक्सामा स्पष्ट रहेको र त्यसको छिमेकी दुवै मुलुक र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने जनाएको हो।

अगस्त २९ मा चीनले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई भारततर्फ देखाइएको छ। यो विषयबारे अहिले देशमा चर्चा शुरू भएको छ। सरकारले चीनसँग यसबारे कुरा राख्नपर्ने आवाज उठ्न थालेका छन्।

उक्त नक्साबारे मिडियाहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्रालयका तर्फबाट आधिकारिक रूपमा जारी विज्ञप्तिमा भनिएको छ, “सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ।” मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ। 

त्यस्तै, सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग भारतीय क्षेत्रमा देखाइएको बारे कुराकानी गर्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालयमा  आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, “मुख्यतः हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ। त्यस बेलामा कुराकानी हुन्छ। र यसबारेमा प्रष्ट हुनुपर्छ।”