‘अहिलेको परिस्थितिमा निर्वाचनबाहेक अर्को विकल्प छैन’

वर्तमान सरकार जेनजी आन्दोलनबाट आए पनि दलहरूको विरोधी नभएको र राजनीतिक दललाई स्थापित गर्न नै निर्वाचन आवश्यक रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आगामी २०८२ फागुन २१ गते शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याएकी छन्।

प्रधानमन्त्रीले शुक्रबार बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाको निर्वाचन फागुन २१ भन्दा पछाडि नजाने स्पष्ट पारेकी हुन्। उनले निर्वाचन आयोग, सुरक्षा निकायसहित निर्वाचनसँग प्रत्यक्ष जोडिएका राज्यका सबै अंगहरू निर्वाचनका लागि तयार रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले चुनाव हुन्छ कि हुँदैन भन्ने शंका त्यागेर सबैले कसरी सफल पार्ने भनेर एकचित्तले सोच्नुपर्नेमा जोड दिइन्। उनले १२६ वटै दलले निर्वाचन हुनुपर्छ भन्ने धारणा राखेमा निर्वाचनमा कसैले खलल पार्न नसक्ने र खराब तत्त्वले आक्रमण गर्न नसक्ने विश्वास व्यक्त गरिन्। उनले सुरक्षाको पहिलो कडी जनता नै भएको उल्लेख गर्दै त्यसपछि मात्र प्रहरी, सशस्त्र प्रहरी र पूर्वसुरक्षाकर्मीहरूको भूमिका आउने स्पष्ट पारिन्।

“अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटै मात्र बाटो निर्वाचन हो, यसबाहेक अर्को विकल्प छैन,’ प्रधानमन्त्रीले भनिन्। उनले आफ्नो सरकार जेनजी आन्दोलनबाट आए पनि दलहरूको विरोधी नभएको र राजनीतिक दललाई स्थापित गर्न नै निर्वाचन चाहिएको धारणा राखिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले तत्कालै सक्रिय भएर तयारी अघि बढाएको, सुरक्षा निकायहरू सक्रिय र सक्षम रहेको तथा सेनाले पनि आफ्नो काम शुरू गरिसकेको जानकारी गराइन्। सर्वदलीय बैठकमा पनि समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै सबैको रहेको उनले उल्लेख गरिन्।

उनले भदौ २३ र २४ गते भएको आन्दोलनको विश्लेषण गर्दै भइरहेको निर्वाचित र बलियो सरकार परिस्थितिलाई वशमा लिन विफल भएको बताइन्। युवा विद्रोहपछि विकल्पका रूपमा वर्तमान सरकार अन्तरिमकालको व्यवस्थापनका लागि आएको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले भदौ २३ गते निहत्था युवा मारिएको र भोलिपल्ट आगजनी भएको घटनाको अध्ययनले सत्यतथ्य बताउने बताइन्। उनले हिंस्रक र हृदयविदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्नेमा जोड दिइन्।

काठमाडौँमा धेरै क्षति भए पनि ललितपुरमा कम क्षति हुनुमा जनताले विध्वंसको प्रतिकार गरेको उदाहरण दिँदै उहाँले खराब तत्त्वलाई रोक्ने सामर्थ्य समाजमा हुनुपर्ने धारणा राखिन्। उनले सरकारको कुनै पनि निजी स्वार्थ र आकांक्षा नभएको प्रस्ट पार्दै केही अतिरिक्त प्राप्तिका लागि सरकारले कुनै कार्य नगरेको जानकारी दिइन्।

नेपाली कांग्रेसकी नेता पुष्पा भुसालले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पूर्ण रूपमा तयार रहेको बताएकी छन्। निर्वाचन सफल बनाउन आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले बैठकमा व्यक्त गरिन्।

बैठकबारे जानकारी दिँदै भुसालले भनिन्, “यो बैठकमा सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा सहभागी हुन हामी तयार छौँ, तर त्यो वातावरण बनाउने जिम्मेवारी सरकारको हो।” उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने निर्णय भइसकेको बताइन्। “अब निर्वाचनबाट मात्रै संविधानले प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्न सकिन्छ भनेर हामीले निर्णय गरेका छौँ,” उनले थपिन्।

त्यसैगरी, सोही बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रकाश ज्वालाले भने, “सरकारको मुख्य काम नै निर्वाचन गराउनु हो, त्यसैले सरकारको अर्जुनदृष्टि निर्वाचनमै हुनुपर्‍यो। चुनावको वातावरणका लागि शान्ति सुरक्षा अझै सुदृढ गर्न आवश्यक छ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले भने बैठकमा शान्ति सुरक्षाका साथै विदेशमा रहेका नेपाली र निर्वाचन क्षेत्रबाहिर रहेका नागरिकले सोही ठाउँबाट मतदान गर्न पाउने (प्रवासी/अस्थायी मतदान) विषय उठाए।