काठमाडौँ— पुस पहिलो साता बेलुकी साँझ ५ बजेको थियो। घर वरपर आफ्नै सुरमा काम गरिरहेका दोलखाको विगुका हस्तबहादुर श्रेष्ठ (७५) एक्कासि ढले। उठाउने कोही भएन। जसोतसो लर्बरिँदै घर पुगे। त्यसपछि उठ्नै सकेनन्।
हातखुट्टा चल्न छोड्यो। बोली लर्बरिँदै गयो। वृद्ध अवस्थामा हुने शारीरिक कमजोरीका कारण यस्तो हुनसक्ने परिवारको अनुमान थियो। उपचारका लागी कहाँ लैजाने भन्ने अलमल भयो। नजिकमा ठूलो अस्पताल थिएन।
परिवारले भोलिपल्ट मात्र गाउँकै स्वास्थ्य चौकी लिएर गए। स्वास्थ्य चौकीले त्यहाँ उपचार नहुने भन्दै काठमाडौँको वीर अस्पताल रेफर गरिदियो। वीर ल्याइपुर्याउँदा साँझ ४ बजिसकेको थियो।
चिकित्सकले उच्च रक्तचापका कारण मस्तिष्कघात (स्ट्रोक) भएको बताए। उनको दाहिने हात र खुट्टा चल्न छाडिसकेको थियो। बोलीसमेत गुम्यो। १३ दिन अस्पतालमा राखेर उपचार गरियो।
हालसम्म अस्पतालमा मात्रै १ लाख रूपैयाँभन्दा धेरै खर्च भइसकेको छोरा कुमार श्रेष्ठ बताउँछन्। औषधिले काम नगरे शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सल्लाह छ। “अपरेसन चाहिँ गर्नुपरेन। नभए त्यत्रो पैसा कहाँबाट जुटाउनु, समस्या हुने थियो,” कुमार भन्छन्, “दुईतीन घण्टामै अस्पताल ल्याएको भए हातखुट्टामा असर हँुदैन रहेछ। हामीलाई त थाहै थिएन, तैपनि उतादेखि ल्याउन सम्भव नै थिएन।”
बुबाको स्वास्थ्य अहिले पाँच प्रतिशत जति मात्रै सुधार भएको उनको भनाइ छ। बिस्तारै ठिक हुने आशा लिएर घर लैजाने परिवारको तयारी छ। “मेरा बाले पहिले जसरी नै हिँड्ने, छोरा भनेर बोलाउने आशा मात्रै बाँकी छ। यो घटनाले मलाई जीवनभर पिरोल्ने छ,” उनी भन्छन्।
महाराजगन्जस्थित शिक्षण अस्पतालको वार्डमा भेटिएकी गोरीबल तामाङ (५०) का हातखुट्टा गत माघ २ गते बिहान ४ बजेदेखि एक्कासि चल्न छाडे। जसोतसो शौचालय गएर आएकी उनी उठ्नै सकिनन्। रिंगटा लाग्यो। बान्ता आउन खोज्यो। सामान्य समस्या ठानेर निको हुने आशामा बसिन्।
तर कुनै सुधार नआएपछि घरपरिवारले ‘लागो’ हुनसक्ने भन्दै धामीझाँक्री गराए। “गाँउमा (मकवानपुरगढी गाउँपालिका) धामीझाँक्री गर्यो, तर भएन। नजिकमा अस्पताल छैन। जिल्लामा राम्रो उपचार नै हुँदैन, त्यसैले यहाँ ल्यायौँ,” छोरी निशा भन्छिन्।
छोरीले उनलाई मकवानपुरगढीदेखि सार्वजनिक यातायातमै काठमाडौँ ल्याएकी थिइन्। अस्पतालले उनलाई मस्तिष्कघात भएको बतायो। उच्च रक्तचापका कारण मस्तिष्कको देब्रेतर्फको धमनी थुनिँदा शरीरको दाहिने पाटोमा असर गरेको थियो।
अस्पतालले आवश्यक औषधि दिएपछि पहिलेको तुलनामा स्वास्थ्यमा सुधार आएको छ। यद्यपि, मस्तिष्कमा कति असर पुगेको छ भन्ने पत्ता लागिसकेको छैन। छोरी निशाका अनुसार उपचारमा हालसम्म झन्डै १ लाख खर्च भइसकेको छ।
पछिल्लो समय मस्तिष्कघातको समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या उल्लेख्य छ। वीर अस्पतालको न्यूरोलोजी विभाग प्रमुख डा. सुनिल कोइरालाका अनुसार अस्पतालमा हरेक दिन औसतमा चारदखि पाँच जना मस्तिष्कघातका नयाँ बिरामी आउँछन्। “यसमा विशेष अध्ययन भएको छैन, तर न्यूरोको उपचार हुने अस्पतालहरूमा योभन्दा धेरै संख्यामा आउन सक्छन्,” उनी भन्छन्।
जानकारीको अभावमा कतिपय बिरामी समयमा अस्पताल आउँदैनन्। आएकाहरूको पनि न्यून आर्थिक अवस्थाका कारण समयमै उपचार गर्न नसकिने उनी बताउँछन्। जसकारण कतिपयको मृत्यु पनि हुने गरेको छ।
दक्षिण एशियाली देशहरूमा प्रत्येक वर्ष एक लाखमा ११६ देखि ४८३ जनामा मस्तिष्कघात हुने बीएमसी न्यूरोलोजी जर्नलमा प्रकाशित लेखमा उल्लेख छ। उक्त अनुसन्धानमा वरिष्ठ न्यूरोलोजिस्ट डा. राजु पौडेलसहितको समूह संलग्न थियो। नेपालमा पनि यही तथ्यांक लागू हुने विशेषज्ञहरू बताउँछन्।
सन् १०१२ जुनदेखि २०१५ नोभेम्बरसम्म काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल आएका मस्तिष्कघातका बिरामीबारे केही विशेषज्ञले अध्ययन गरेका थिए। उक्त अवधिमा अस्पताल भर्ना भएका १६ हजार २६० बिरामीमध्ये एक हजार १७ बिरामीलाई पहिलो पटक मस्तिष्कघात भएको थियो। उनीहरूको औसत आयु ५५ वर्ष थियो। जसमध्ये ६०.५ प्रतिशत पुरुष थिए।
मस्तिष्कघात भएका महिलामध्ये ५६.७ प्रतिशतलाई ‘स्केमिक स्ट्रोक’ भएको थियो। त्यस्तै, ५४.९ प्रतिशत पुरुषलाई ‘हेमोरेजिक स्ट्रोक’ भएको थियो। स्केमिक स्ट्रोकमा रक्तसञ्चारमा अवरोध हुन्छ। नसा फुटेर मस्तिष्कमा रगत फैलिनुलाई हेमोरेजिक स्ट्रोक भनिन्छ।
अध्ययनको पहिलो शृंखलामा ३० दिनको मृत्युदर ०.५ प्रतिशत थियो, जसमा अधिकांश हेमोरेजिक स्ट्रोकका बिरामी थिए। तर अध्ययनको तीन वर्षको अवधिमा मृत्युदर ८.३ प्रतिशत पुग्यो, जसमा अधिकांश इस्केमिक स्ट्रोकका बिरामी थिए।
हेमोरेजिक स्ट्रोकमा शल्यक्रिया नै गर्नुपर्छ। स्केमिक स्ट्रोकमा ‘थ्रोम्बोलाइटिक’ सेवाबाट रक्तसञ्चार खुलाई मृत्युदर र शरीरमा पुग्ने असर कम गर्न सकिने डा. पौडेल बताउँछन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बर्सेनि झन्डै ८०० मस्तिष्कघातका बिरामीको मृत्यु हुने गरेको छ। यो तथ्यांक अस्पतालमा भर्ना हुन आएकाहरूको हो। उपचार नै नपाएर मृत्यु हुनेको संख्या बर्सेनि १० जना हुनसक्ने डा. पौडेलको अनुमान छ।
बर्सेनि ५० हजारलाई मस्तिष्कघात हुने डा. पौडेल बताउँछन्, जसमा १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको अनुमान छ। “स्ट्रोकका लागि प्रयोग हुने औषधि निकै महँगो हुन्छ। आर्थिक अभावमा कतिपयले किन्न नसक्दा अस्पतालमै मृत्यु हुने गरेको पनि छ,” उनी भन्छन्।
समयमै औषधि नपाएर मृत्यु नहोस् भन्ने हेतुले स्वास्थ्य मन्त्रालयले बिरामीलाई दिइने औषधि निःशुल्क दिने तयारी गरेको छ। करिब पाँच वर्षसम्म अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ नामक संस्थाले सहयोगको रूपमा ‘थ्रोम्बोेलाइटिक’ (अल्टिप्लेस नामक) औषधी निःशुल्क दिने छ। संघ र प्रदेशका अस्पतालमार्फत यो औषधी बिरामीलाई दिइने मन्त्रालयको योजना छ।
यो औषधि नेपालमा प्रति भायल करिब १ लाख रूपैयाँ पर्छ। यसले रगतका ढिक्का वा अन्य कणलाई पगालेर रक्तसञ्चार खोल्छ। करिब तीन महिनाभित्रमा यो सेवा शुरू गरिने स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. भीमप्रसाद सापकोटाले जानकारी दिए।
जनचेतना फैलाउने छैन योजना
मस्तिष्कघात भएको एक घण्टाभित्र थ्रोम्बोेलाइटिक औषधि दिए प्रभावकारी हुने मान्यता छ। जति छिटो औषधि दियो, त्यति जोखिम कम हुने वरिष्ठ कन्सल्ट्यान्ट न्यूरोलोजिष्ट डा. पौडेल बताउँछन्।
नेपालमा भने मस्तिष्कघातको लक्षण देखिएको साढे चार घण्टाभित्र औषधि दिनसके शारीरिक असरको जोखिम कम हुने मानिन्छ। “बिरामीलाई जति छिटो औषधि दिन सक्यो त्यति सुरक्षित हुन्छन्, तर भौगोलिक हिसाबले नेपालमा समस्या छ। साढे चार घण्टाभन्दा धेरै भएमा प्रभावकारिता रहँदैन,” डा. पौडेल भन्छन्।
बढी समयमा औषधि सेवन गराउँदा कतिपयमा ‘हेमरेजिक’ समस्या निम्तिने, ज्वरो आउनेलगायतको असर देखिन्छ। तर मस्तिष्कघातबारे जनचेतनको कमी नै मृत्यु र अपांगताको प्रमुख कारण बनिरहेको पौडेल बताउँछन्।
मस्तिष्कघातका लक्षण र जोखिमबारे अनविज्ञ हुँदा बिरामीलाई समयमा अस्पताल लगिँदैन। यस्ता बिरामीमध्ये १.५ प्रतिशत मात्र समयमा अस्पताल आउने डा. पौडेल बताउँछन्। यसबाहेक बाटोमै मृत्यु हुनेको संख्याबारे अध्ययन नै भएको छैन।
वीर अस्पतालको न्यूरोलोजी विभाग प्रमुख डा. सुनिल कोइराला वीरमा भर्ना हुन आउनेमध्ये समयमा आइपुग्ने ०.५ प्रतिशत मात्रै भएको बताउँछन्। सर्वसाधारणमा मस्तिष्कघातबारे जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ।
तर यसबारे जनचेतना फैलाउन स्वास्थ्य मन्त्रालयको कुनै योजना छैन। पहिलो चरणमा औषधिको पूर्ति गरिएको र क्रमिक रूपमा थप काम गर्दै जाने स्वास्थ्य मन्त्रालय स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. सापकोटा बताउँछन्। “पहिलो प्राथमिकता औषधि तयारी अवस्थामा राख्नुपर्यो नि। अनि क्रमिक रूपमा विज्ञसँग छलफल गरेर आवश्यक सुधार गर्दै, सेवा विस्तार गर्दै लाने छौँ,” उनी भन्छन्।
के हो मस्तिष्कघात, कसलाई हुन्छ?
मस्तिष्कको कुनै भागमा रक्तसञ्चार रोकिँदा वा मस्तिष्कमा रक्तनली फुट्दा मस्तिष्कघात हुन्छ। रक्तनली बीचमा रगत जम्नाले मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको कमी हुन्छ। त्यसले गर्दा मस्तिष्कका मांशपेशीहरू नष्ट हुन थाल्छन्। अनि मस्तिष्कले नियन्त्रण गुमाउँछ।
मस्तिष्कघातको तत्काल उपचार नभए मृत्युको जोखिम हुन्छ। यसले दीर्घकालीन रूपमा मस्तिष्कमा क्षति गर्नुका साथै दीर्घकालीन अपांगता निम्त्याउने वीर अस्पतालको न्यूरोलोजी विभाग प्रमुख डा. कोइराला बताउँछन्। “कहिलेकाहीँ मुटुले काम नगर्दा रगत जम्छ र त्यो रगत सप्लाई हुँदा उछिट्टिएर रगतका थक्काहरूले मस्तिष्कमा जाने धमनीमा अवरोध गर्न सक्छन्। त्यसैले उच्च रक्तचापले पनि यस्तो गराउँछ,” उनी भन्छन्।
उच्च रक्तचापसहित मधुमेह, मादक पदार्थ, लागूपदार्थ, अस्वस्थ्यकर खानपानलगायतले पनि मस्तिष्कघात गराउँछन्। विश्वभरि नै मृत्युको दोस्रो कारण र अपांगताको प्रमुख कारण मस्तिष्कघात भएको डा. कोइराला बताउँछन्।
मस्तिष्कघात जो सुकैलाई हुन सक्छ। तर कसैलाई यसको जोखिम कम हुन्छ भने कसैलाई धेरै हुन्छ। विशेषगरी ४५ वर्षभन्दा धेरै उमेर समूहका, पुरुष, अफ्रिकन र जेनेटिक रूपमा हुने यसको उच्च जोखिममा रहने डा. पौडेल बताउँछन्।
त्यस्तै, शारीरिक व्यायाम कम गर्ने, मोटा व्यक्ति, अस्वस्थकर खानेकुरा खाने, मादक पदार्थ र लागुपदार्थ सेवन गर्नेहरूलाई पनि यो रोगको जोखिम हुन्छ। मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल भएका र मुटुरोगीलाई पनि जोखिम धेरै हुन्छ।
“पहिले ४५ वर्ष उमेरभन्दा माथिका व्यक्तिलाई जोखिम रहनेमा अहिले युवाहरूमा पनि धेरै देखिन्छ। खानपान, जीवनशैली, मादक पदार्थ र लागुपदार्थ सेवन नै कारण हो, जुन परिवर्तन गर्न सकिन्छ,” डा. पौडेल भन्छन्।
लक्षण र जोगिने उपाय
अचानक सन्तुलन गुमाए, बोल्न समस्या भए, स्पष्ट बोल्न नसके, अरूले बोलेको नबुझे, एकातर्फ मुख बांगिए मस्तिष्कघात भएको हुनसक्छ। त्यस्तै, अकस्मात हात खुट्टाहरू नचल्नु, आँखा नदेख्नु, हिँड्न समस्या हुनु, धेरै टाउको दुख्नु पनि यसका लक्षण हुन्।
एकैपटक यी सबै लक्षण देखिने हुँदैन। मस्तिष्कको कुन भागमा क्षति भएको हो त्यहीअनुसार लक्षण देखा पर्छन्। यस्तो अवस्थामा सकेसम्म छिटो उपचार हुने अस्पताल लैजानुपर्ने चिकित्सकहरू बताउँछन्।
उमेरसँगै मस्तिष्कको धमनीमा बोसो जम्मा हुन्छ। त्यस्तै, लागुपदार्थ तथा मादक पदार्थ सेवन गर्दा, अस्वस्थ्य खानपान, मोटोपनाका कारण पनि बोसो जम्छ। कहिलेकाहीँ त्यस्तो बोसो निस्किएर धमनीमा अवरोध गर्छ।
त्यसैले व्यायाम, आराम, स्वस्थ्यकर खानेकुराले बोसो कम गराउन सकिन्छ। त्यस्तै दीर्घरोगहरू, जस्तै– मधुमेह, कोलस्टोर, उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ।